२८ असार २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

अघिल्लोपटक ३० हजार मतान्तर रहेको क्षेत्र एमालेले गुमायो, अन्तिम सीट माओवादीलाई बोनस

मंसिर १९, २०७९
अघिल्लोपटक ३० हजार मतान्तर रहेको क्षेत्र एमालेले गुमायो, अन्तिम सीट माओवादीलाई बोनस

२०७४ सालको प्रतिनिधिसभा चुनावमा सर्वाधिक धेरै मतान्तरसहित चुनाव जितेको दोलखा नेकपा एमालेले यसपटक गुमाएको छ । 

यसपटकको चुनावमा ३ सय १७ मतको अन्तरले एमाले उम्मेदवार पराजित भएका छन् । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी गठबन्धनका एमाले उम्मेदवार पार्वत गुरुङले सर्वाधिक मतान्तरसहित चुनाव जितेका थिए । त्यो बेला गुरुङलाई माओवादीको समर्थन थियो । गुरुङले ५५ हजार ४ सय ५७ मत प्राप्त गर्दा कांग्रेसका रुद्रबहादुर खड्काले २४ हजार ८ सय १३ मत पाएका थिए । अन्तर ३० हजार ६ सय ४४ थियो । 

केपी ओलीले सर्वाधिक मत पाए पनि मतान्तरमा गुरुङ अगाडि थिए । २०७४ को त्यो कीर्तिमानी यसपटक एमालेले गुमाएको छ ।

नेकपा माओवादी केन्द्रका ‘लो प्रोफाइल’का नेता गंगा कार्कीले एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ४ सयको मतान्तरले पराजित गरे । दोलखा एमालेका पूर्वमन्त्रीद्वय आनन्द पोखरेल र पार्वत गुरुङको जिल्ला हो । 

दोलखामा एमाले र माओवादी दुवैले नयाँ उम्मेदवार उठाएका थिए । एमालेले व्यवसायी बालकृष्ण सिवाकोटीलाई उम्मेदवार बनाएको थियो ।

सोमवार बिहान सार्वजनिक अन्तिम नतिजामा कार्कीले ३६ हजार ७ सय ९९ मत पाउँदा एमालेका सिवाकोटीले ३६ हजार ४ सय ८२ मत पाए । 

त्यतिबेला दोस्रो बढी मतान्तरले जित्ने केपी शर्मा ओलीले यसपटक जीत दोहोर्‍याए पनि तेस्रो बढी मतान्तर रहेका भूमि त्रिपाठी समेत पराजित भएका छन् ।

२०७४ मा धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित वाम गठबन्धनका एमाले उम्मेदवार भूमि त्रिपाठीले ४९ हजार १२१ मत पाएका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विश्व अर्यालले २१ हजार ९६८ मत पाउँदा मतान्तर नै २७ हजार १५३ थियो ।

यसपालि त्रिपाठी आफ्नै पूर्व सहकर्मी समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार (नेकपा एस) राजेन्द्र पाण्डेसँग फराकिलो मतान्तरले पराजित भएका छन् ।

यसपटक पाण्डे ३६ हजार १८ मत ल्याएर विजयी हुँदा त्रिपाठीले २७ हजार ९९७ मत पाएका छन् । उनीहरूबीचको मतान्तर नै ८ हजार २१ छ ।

२०७४ मा एमालेले बढी मतान्तरले जितेका ३ क्षेत्र :

यसपालि (२०७९) को प्रतिनिधि सभा चुनावमा सर्वाधिक मतान्तरको कीर्तिमानी भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले बनाएका छन् । 

नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २ सय १ मतान्तरले रवि विजयी भएका थिए । रविले ४९ हजार ३ सय मत प्राप्त गर्दा उमेशले १५ हजार ९९ मत पाएका थिए । 

सर्वाधिक धेरै मत ल्याउने कीर्तिमानी यसपटक पनि ओलीले बनाएका छन् । ओलीले ५२ हजार ३ सय १९ मत पाउँदा कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाए । 

ओलीपछि धेरै भोट रविले पाए भने सर्वाधिक धेरै मत ल्याउने तेस्रो कीर्तिमानी गोकुल बाँस्कोटाले बनाएका छन् । अघिल्लोपटक धेरै भोट ल्याउनेमा बाँस्कोटा दोस्रोमा थिए । 

माओवादीको खातामा बोनस थपेका कार्कीको जीतसँगै प्रतिनिधि सभाको प्रत्यक्षतर्फको गणना सकिएको छ । 

कार्कीको जितसँगै प्रतिनिधि सभामा एमालेलाई ४४ मा रोक्दै माओवादी केन्द्रले १८ सीट बनाएको छ । अन्तिम नतिजा अनुसार कांग्रेसले ५७, एमालेले ४४ र माओवादीले १८ सीट सुरक्षित गरेका छन् ।

यस्तै नेकपा एसले १०, रास्वपा, राप्रपा र जसपाले समान ७ सीट जितेका छन् । स्वतन्त्रले ५, लोसपाले ४ र नागरिक उन्मुक्तिले ३ सीट जित्दा नेमकिपा, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले १–१ सीट जितेका छन् ।

समानुपातिकतर्फको भने अन्तिम परिणाम आउन बाँकी छ ।


 

salt training

कमेन्ट गर्नुहोस्