‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत
त्यही रगतले पराईजस्तो भयो मेरो जगत
संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो
जन्मदिने बा–आमाले पानी बार्दिनु भो
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु’
माथिका शब्दलहर ‘पर–पर छु’ बोलको गीतका हुन् । गायक एवं सर्जक प्रकाश सपूतले यसका शब्दलहर तयार पारेका हुन् । उनैले भाका बनाएका हुन् । त्यसमा तुलसी बोहोराले स्वर दिएकी हुन् ।
राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा महिनावारी सचेतनाका लागि तयार पारिएको गीत अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसर पारेर हिजो (बिहीवार) बेलुका सार्वजनिक गरिएको छ ।
प्रकाश लोकसंगीतका एक यस्ता प्रतिभा हुन्, जो अलग–अलग विषयवस्तुलाई गीत–संगीतमार्फत पेश गर्दै आएका छन् । त्यो पनि अत्यन्तै मनछुने तरिकाले । ‘पर–पर छु’ भने सचेतनाका लागि प्रकाशको सिर्जनात्मक प्रयास हो । जसमा उनले एकदमै मनछुने शब्द लेखेका छन् । जुन उत्तिकै मर्मस्पर्शी पनि छन् । उत्तिकै मिठो भाका तयार पारेका छन् ।
‘प्रकृतिको नियम होला तन दुखेको थियो
समाजको नियमले झन मन दुखेको थियो
प्रकृति र समाजको नियम मानिरहे
केटाकेटी जस्तै थिए केटी मात्रै भए
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु’
गायिका तुलसीले उत्तिकै मिठासपूर्ण तरिकाले गीत गाएकी छिन् । भिडियोमा अभिनेत्री केकी अधिकारी, प्रकाश सपूत र सेबिता अधिकारीले अभिनय गरेका छन् । कथानक तरिकाले यसको भिडियो निर्माण गरिएको छ, प्रकाशकै कथा एवं निर्देशनमा । गीतको मर्म झल्कनेगरी उनले भिडियो निर्माण गरेका छन् ।
केकी अधिकारी फिल्मस् र आरन प्रोडक्सनको प्रस्तुतीमा तयार गीतको भिडियोमा संवाद केकी र प्रकाशले संयुक्त रुपमा मिलेर तयार पारेका हुन् । केकी र प्रकाशले यसअघि बलात्कारको विषयमा निर्माण गरिएको ‘बदला बरिलै’ बोलको गीतमा सहकार्य गरेका थिए ।
अमित पोख्रेलले सब–टाइटलका लागि अंग्रेजी अनुवाद गरेका छन् ।
भिडियोमा नवराज उप्रेतीको छायाँकन, प्रबिन भट्टको सम्पादन एवं रंग संयोजन छ । भाग १ भनिएको यस गीतलाई प्रकाशले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएसँगै गीतलाई लिएर सकारात्मक प्रतिक्रियाहरु आएका छन् ।