
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनका लागि तयारी अवस्थामा पुगेको छ ।
यो विमानस्थल १७ पुस (१ जनवरी २०२३)बाट सञ्चालनमा ल्याउने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ महिना अगाडि नै गरिसकेको छ । २२ साउनमा गरेको निर्णयानुसार विमानस्थल सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्ने तयारी प्राधिकरणले गरिरहेको छ । विमानस्थल अन्तर्राष्ट्रिय भए पनि उडान भने आन्तरिकमै सीमित हुने देखिएको छ ।
नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौला अहिलेसम्म कुन वायुसेवाबाट अन्तर्राष्ट्रिय उडान हुन्छ भन्ने विषय स्पष्ट भइनसकेको बताउँछन् ।
उनका अनुसार काठमाडौंबाट हुने आन्तरिक उडानका जहाज १ जनावरीदेखि नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जाने छन् । यसो हुँदा विमानस्थल अन्तर्राष्ट्रिय भए पनि उडानचाहिँ आन्तरिकमै सीमित हुने भएको छ । आफ्नो जहाज नहुनु र इच्छुक कम्पनी पनि अहिलेसम्म नआउनुले तत्कालै अन्तर्राष्ट्रिय उडान नहुने देखिन्छ । आन्तरिक उडान भने २४ सै घण्टा हुने सुनिश्चित छ ।
अहिले यो विमानस्थलबाट दिउँसो ३ बजेपछि उडान हुन नसक्ने अवस्था छ ।
अब नयाँ विमानस्थल सञ्चालनमा आएपछि भने वायुसेवा कम्पनीले अनुकूल समयानुसार जुनसुकै समयमा उडान गर्न सक्ने अवस्था हुने बुझाइ पनि प्रवक्ता निरौलाको छ ।
यो विमानस्थलबाट पहिलो उडान गर्न आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले नै प्रयास गरिरहेको छ । बुद्ध एयरले कोरोनाअघि काठमाडौंबाट वनारस उडान गर्ने गरेको थियो । उक्त गन्तव्यमा अहिलेसम्म उडान शुरू गर्न नसकेको बुद्ध एयरले अब पोखराबाट वनारस उडान गर्ने तयारी गरिरहेको छ ।
बुद्ध एयरले अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ अन्तर्राष्ट्रिय गन्तव्यबाटै शुरू गर्न आफूले प्रयास गरेको जानकारी दिएको छ । तर, बुधवारसम्म यो वायुसेवाले भारतबाट उडान अनुमति पाएको छैन । बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार भारतसँग उडान अनुमतिका लागि आवश्यक कागजात पेश भएको छ ।
बुधवारसम्ममा केही जानकारी आउने अपेक्षा गरिएको छ । बुद्धले उडान अनुमति पाए पोखराबाट वनारस गर्ने गरी आन्तरिक तयारी भएको पनि कर्णले बताए ।
तर, यो विमानस्थलबाट अहिलेसम्म उडान अनुमति कुनै अन्तर्राष्ट्रिय वायुसेवाले लिएका छैनन् । आन्तरिक वायुसेवाले परीक्षण उडान गरेर नयाँ विमानस्थलबाटै उडान गर्ने तयारी भने गरिरहेका छन् । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडानबाटै सेवा शुभारम्भ गर्ने प्रयास भइरहेको छ ।
आन्तरिक उडानका वायुसेवाले पनि सोही दिनबाटै आन्तरिक उडान शुरू गर्ने छन् । त्यसका लागि बुधवार नै यति एयरलाइन्सले परीक्षण उडान गर्ने भएको छ । त्यसपछि यति, श्री, सिम्रिक र सौर्यले पनि उडान शुरू गर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ ।
प्राधिकरणका अनुसार यसअघि भएको यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडानको प्रारम्भिक प्रतिवेदन गत अघिल्लो शुक्रवार आइसकेको छ । यसको अन्तिम रिपोर्ट नआएसम्म पूर्णरूपमा प्रविधिको माध्यमबाट हुने इस्टुमेन्टल फ्लाइट रुल्स (आइएफआर)हुन सक्दैन । यसका लागि आगामी फेब्रुअरीसम्म कुर्नुपर्ने प्राधिकरणका सूचना अधिकारी भुलले बताए ।
अहिले प्रारम्भिक रिपोर्ट आएको र हेरेरै हुने उडान अर्थात् भिजुअल फ्लाइट रुल्स (भीएफआर) भने १ जनवरीबाटै हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार अहिलेसम्मको तयारीअनुसार बुद्ध एयरले नै पोखराबाट वनारस उडान गर्नेछ । यसका लागि भारतले अनुमति दिनुपर्ने भएकाले त्यसपछि मात्रै नेपाल नागरिक उडान प्राधिकरणले अनुमति दिने भएको छ ।
हिमालय एयरलाइन्सले पनि पोखरबाट चीन उडान गर्ने तयारी पनि भइरहेको छ । यो वायुसेवाको पनि उडान निश्चित भने भएको छैन ।
यो विमानस्थल सञ्चालन गर्न ४० मिटरको रिट्ठेपानी डाँडा काट्ने काम भइरहेको छ । डाँडा काट्ने काम हुँदै गरेकाले अहिले आन्तरिक उडानमा कुनै समस्या नहुने पनि प्राधिकरणको भनाइ छ ।