
साढे चार बजेतिर बल्ल दुईजना महिला आए । उनीहरू माओवादी हुन् भन्ने परैबाट चिनिन्थ्यो । एउटीले पाइन्ट लगाएर सानो झोला बोकेकी थिइन् ।
छेउमा आइपुग्दा उनको कम्मरमा पेस्तोल देखियो । उनले परिचय दिँदै भनिन्, ‘म सुनिता ।’
उनको पछिपछि कुर्था लगाएर झोला बोकेकी मंगोलीयन अनुहारकी अर्की युवती थिइन् । उनले परिचय दिँदै भनिन्, ‘म भूमिका ।’
वरैबाट हात बटारेर कसिलो गूड गर्ने उनीहरूको शैली थियो । त्यही दोहोर्याए दुवै जनाले । सुनिता माओवादी लडाकूको सोलु–सल्लेरी छैटौं ब्रिगेडमा कार्यरत रहिछन् ।
लिखु नदी तर्नका लागि बाँसको फट्के थियो । त्यो फट्के रुम्जाटार हान्न जाँदा लच्किएको कुरा हामीलाई लिन आएकी सुनिताले सुनाइन् ।
आधा घण्टा माथि उक्लिएपछि ओखलढुंगा पोकली छहरा नजिकैको गाउँमा पुगियो । बास त्यहीँ बस्ने कुरा भयो । गाउँ पुगेपछि अग्ला खाइलाग्दा बुढा हाम्रो छेउमा आए ।
‘म पुष्करको बाउ हुँ । त्यो पल्लो खाली घरचाहिँ रूपनारायण श्रेष्ठको ससुराको हो,’ ती खाइलाग्दा बुढाले छोराको परिचय दिएर आफू उसको बाउ भएको सुनाए ।
‘पुष्करजीलाई काठमाडौंतिर भेट्छौं,’ मैले भनें ।
ठाडो बाटोको बायाँतिर बास बस्ने व्यवस्था भयो । ७ वर्षकी एकदम चकचके नानी थिइन्, कहिले भित्र, कहिले बाहिर गर्ने । उनले सुरिलो स्वरमा माओवादीको क्रान्तिकारी गीत गाइन्, ‘आइपुग्यो छापामार...।’
तोतेबोलीमा ती नानीले लय हालेर गीत गाएको निकै मार्मिक सुनियो । घरमा हजुरआमासँग बसेकी थिइन्, ती नानी । हजुरआमाले खाना बनाउँदै थिइन् । त्यही बेला नानीले चकचक गर्न भ्याएकी थिइन् ।
खाना खाने बेला बल्ल सबै थाहा भयो, त्यो घर बाबुराम गौतमको रहेछ । उनी ओखलढुंगा ‘जनसरकार’का उप–प्रमुख थिए ।
फोटो हेरेपछि थाहा भयो, कुनै बेला खिचापोखरीबाट उचाल्न सक्ने जति सन्ध्याकालीन पत्रिका बोकेर बेच्ने बाबुराम उनै रहेछन् ।
‘अस्ति बर्खामा मेरो छोराको एउटा साथीले यहीँ बसेर खाना खाँदै थिए, एक्कासि सेना भित्र आयो । त्यो बाबु त यो सानो झ्यालबाट कसरी छिर्यो–छिर्यो, फुत्तै बाहिर भाग्यो । किन भगाइस् ? तेरो छोरा खोइ ? भनेर मलाई बेस्सरी हिर्कायो सेनाले । म बोल्नै सकिनँ,’ बूढी आमाले आँखामा आँसु पिलपिल पार्दै भनिन् ।
नातिनीको कहानी झन् मार्मिक ढंगले सुनाइन् ।
‘एक वर्षदेखि नातिनी मेरो साथमा छ । छोराबुहारी दुईटै हिँडेका छन् । असाध्यै राम्रो स्वर छ, नातिनीको । मेरो छेउमा बसेर गीत गाउँछे । ठूला कलाकार नाचेको सानैदेखि देखेकी हो । त्यही भएर खाली उही गीत गाउँछे । मेरो चित्त बुझाउने बाटो यही हो । छोराबुहारी त कहिलेकाहीँ झुल्किन्छन् मात्रै,’ बूढी आमाले भनिन् ।
(उजिर मगरद्वारा लिखित ‘अंश’ पुस्तकबाट साभार ।)
हल नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभामा निर्वाचित बाबुराम गौतम प्रदेश १ को सभामुख बनेका छन् ।
एमाले, राप्रपासहितको गठबन्धनको साझा उम्मेदवार बनेका उनी अरू कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भए ।
तिनै गौतमको सन्दर्भ रहेको पुस्तक अंश यहाँ उद्धृत गरिएको हो ।