![राज्यलाई ढाँटेर डीआईजी बनेका थिए अशोक सिंह, एसएसपीमै हुनुपर्ने थियो अवकाश [प्रमाणसहित]](https://lktcdn2.prixacdn.net/media/Shok_sing_cover_mlhgmiXlBl.png)
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राज्यलाई ढाँटेर बढुवा लिएको तथा गलत विवरण पेश गरी सेवामा बहाल रहेको प्रमाण लोकान्तरले फेला पारेको छ ।
लोकान्तरलाई प्राप्त डीआईजी सिंहको नागरिकताको प्रतिलिपिअनुसार उनले गएको जेठ २२ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदबाटै अनिवार्य अवकाश पाउनुपर्ने थियो । तर, उनले आफ्नो जन्म मिति ढाँटेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको पुष्टि भएको हो ।
तत्कालीन जिल्ला (प्रशासन) कार्यालय कैलालीबाट २०४२ जेठ २२ गते नागरिकता प्राप्त गर्दा उनको उमेर १८ वर्ष पुगेको भनिएको छ ।
हेर्नुहोस्, नागरिकताको प्रतिलिपि :
उक्त समयमा १८ वर्ष पूरा हुन कम्तीमा पनि २०२४ साल जेठ २२ गते जन्मिएको हुनुपर्छ ।
यस हिसाबले हेर्दा २०७९ जेठ २२ गते उनी ५५ वर्षको पुग्ने देखिन्छ । तत्कालीन अवस्थामा सिंह वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी पदमा कार्यरत थिए ।
प्रहरी नियमावली २०७१ को नियम १२७ अनुसार एसएसपीले अनिवार्य अवकाश पाउने उमेर ५५ वर्ष हो । त्यस हिसाबले सिंहले एसएसपी छँदै २०७९ जेठ २२ गते अनिवार्य अवकाश पाउनुपर्ने थियो ।
हेर्नुहोस्, ऐनको व्यवस्था :

तर, सिंहले प्रहरीको सिटरोलमा आफ्नो जन्म मिति २०२५ मंसिर १६ उल्लेख गरेका छन् । त्यही आधारमा उनी डीआईजीमा बढुवा भएर पदमा बहाल रहेका हुन् । उनी २०७९ असार १७ गते डीआईजीमा बढुवाका लागि सिफारिश भएका थिए । डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष छ । जबकि आईजीपी भएपछि ५८ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि पूरा नभई अवकाशमा जानु पर्दैन ।
सिटरोल, शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा फरक–फरक जन्म मिति उल्लेख भएको पाइएमा जुन मिति पहिला हुन्छ, त्यसैलाई आधार मानेर अवकाश दिनुपर्ने व्यवस्था समेत प्रहरी नियमावलीमा स्पष्टसँग उल्लेख गरिएको छ । नियमावलीको नियम १२७ (२) खण्ड (क)मा अवकाश दिने व्यवस्थाबारे प्रस्ट पार्दै भनिएको छ–
सेवामा प्रवेश गर्दा निजले पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण) मा जन्म मिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ सोही मितिको आधारमा ।

यस हिसाबले हेर्दा पनि सिंहले गएको जेठ २२ गते नै अवकाश पाउनुपर्ने देखिन्छ । जबकि उनी हालसम्म डीआईजी पदमा बहाल छन् र एआईजीमा बढुवा हुँदै आईजीपी बन्नका लागि दौडधूप गरिरहेका छन् ।
सिंह वि.सं. २०५१ साल चैत ५ गते प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
अवकाश पाइसक्नुपर्ने व्यक्तिले गलत विवरण पेश गरेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको अवस्थामा उनले यस अवधिमा लिएको सेवा सुविधाका सम्बन्धमा गम्भीर समेत प्रश्न उठेको छ । सिंह अहिले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन् ।
यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । ‘२०७९/०२/२२ मा अनिवार्य अवकाश हुनुपर्ने अशोक सिंहले तथ्य ढाँटेर प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएकाले सो बढुवा गैरकानूनी रहेको छ । निजले प्रहरी नायब महानिरीक्षकको रूपमा हालसम्म लिएको सेवा सुविधा समेत असुलउपर गरी कानूनबमोजिम कारबाही गरी पाऊँ,’ अख्तियारमा परेको उजुरीमा भनिएको छ ।
हेर्नुहोस्, अख्तियारमा परेको उजुरी :



सिंहले डीआईजी हुनका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र समेत नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको छ । दुवै आरोपका सम्बन्धमा अख्तियारले अनुसन्धान अगाडि बढाएको छ ।
डीआईजी सिंहको जन्म मिति र शैक्षिक प्रमाणपत्रका विषयमा प्रश्न उठेपछि गृहमन्त्रालय र प्रहरी किताबखाना समेत कानूनी परामर्शमा जुटेको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।