![डीआईजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा देखियो फरक [प्रमाणसहित]](https://lktcdn2.prixacdn.net/media/shyam_lal_Gayawali_xNtaniJOGg.png)
नागरिकता र सिटरोलमा समस्या देखिएको भन्दै नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी परेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका डीआईजी ज्ञवालीले पहिला जिल्ला प्रशासन कार्यालय प्यूठानबाट नागरिकता लिएको र पछि जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि दिएको भन्ने उजुरीमा भनिएको छ ।
उनको सिटरोल र नागरिकतामा समेत फरक देखिएको समाचार लोकान्तरले यसअघि प्रकाशन गरिसकेको छ । डीआईजी श्यामलाल ज्ञवालीको जन्ममिति शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ भदौ २६ र नागरिकतामा २०२४ चैत २१ देखिएको छ ।
लोकान्तरलाई प्राप्त नागरिकता अनुसार २०४१ चैत २१ गते १७ वर्ष पुगेको देखिएको छ । यस्तै तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय उपलब्ध गराएको प्रमाणपत्रमा उनको जन्म २०२५ साल भदौ २६ गतेदेखिएको छ ।

डीआईजी ज्ञवालीले २०५० साल पुष ९ गते भर्नाका लागि खुलाएको विज्ञापनमा आवेदन दिएर भर्ना भएका थिए ।
उनको नागरिकताको प्रमाणअनुसार उनले प्रहरीमा भर्ना हुने पाउने देखिँदैन । उनको नागरिकताको प्रमाणपत्रअनुसार भर्ना हुन खुलाइएको विज्ञापनको मितिसम्म उनी २६ वर्ष भएको देखिन्छ । प्रहरीमा भर्ना हुन २५ वर्षसम्म मात्र पाउने व्यवस्था छ । उनले नागरिकता सच्चाएर भर्ना भएको आरोप लागेको छ ।

उनको विवाद आएपछि अख्तियार दुरुपयोग आयोग अनुसन्धानले प्रहरी प्रधान कार्यालयलाई शैक्षिक प्रमाणपत्र र सिटरोललगायत विषयका सक्कल कपी उपलब्ध गराउन परिपत्र गरेको थियो।
‘उनी (डीआईजी ज्ञवाली) ले इन्स्पेक्टर हुँदा उमेर नाघेको प्रारम्भिक छानबिनमा देखिएको छ । थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरिएको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘उनले उमेर नाघेको व्यक्तिले के कसरी जागीर खाए भन्ने विषयमा छानबिन भइरहेको छ ।’
अख्तियार दुरूपयोग आयोग अनुसन्धानका प्रवक्ता श्यामप्रसाद भण्डारीले डीआईजी ज्ञवालीविरुद्ध उजुरी परेको र त्यस विषयमा छानबिन भइरहेको बताए । ‘उहाँविरुद्ध उजुरी परेको छ । आवश्यक छानबिनका लागि प्रक्रियामा गइसकेको छ,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने ।



