१४ असार २०८३, आइतबार
बैंकिङ ठगीका 'कुख्यात' अभियुक्त

सवा अर्ब झ्वाम पारी अमेरिका भागेका बैंकिङ ठग: रेड नोटिसबाट नाम हटेपछि नेपाल ल्याउन मुस्किल

फागुन २१, २०७९
सवा अर्ब झ्वाम पारी अमेरिका भागेका बैंकिङ ठग: रेड नोटिसबाट नाम हटेपछि नेपाल ल्याउन मुस्किल

नेपालमा फाइनान्स डुबाएर सवा अर्ब रुपैयाँभन्दा बढी ठगी गरी अमेरिका फरार भएका पवन कार्कीले प्रहरीहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरपोल’को खोजी सूची ‘रेड नोटिस’बाट आफ्नो नाम हटाएका छन् । 

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपेन्द्र जी.सी.का अनुसार उनले इन्टरपोलको न्यायिक निकाय कमिसन अफ कमन इन्टरपोल फाइल (सीसीएफ)मा मुद्दा जितेर आफ्नो नाम सूचीबाट हटाएका हुन् ।

सीसीएफमा रेड नोटिस जारी गरेको देशले आफूविरुद्ध लगाएको आरोप सम्बन्धमा मानव अधिकार लगायतका विभिन्न विषयलाई आधार बनाएर उजुरी दिन सकिन्छ । त्यसैका आधारमा उजुरी दिएर उनले सूचीबाट आफ्नो नाम हटाएको सहप्रवक्ता जी.सी.ले बताए ।

तर, नेपालमा भने उनी फरारको सूचीमै रहने छन् । अन्य देशबाट उनलाई पक्राउ गरेर नेपाल ल्याउने अवस्थाको अन्त्य भएको छ । 

फरारमा रहेका व्यक्तिहरूलाई खोजी सूचीमा राखेर इन्टरपोल सञ्जालमा जोडिएका १९५ देशबाट पक्राउ गरी नेपाल ल्याउन सकिने व्यवस्था छ ।

तर, सूचीबाट नाम हटेसँगै अब उनलाई विदेशमा पक्राउ गरी ल्याउने सम्भावना टरेको छ । फेरि उनलाई कसरी इन्टरपोलको सूचीमा राख्न सकिन्छ भनेर परामर्श थालिएको नेपाल प्रहरी इन्टरपोल शाखाका एक अधिकारीले लोकान्तरलाई बताए । 

‘हामीले फेरि उनलाई कसरी रेड नोटिसमा राख्न सकिन्छ, नेपाल ल्याउन थप केही पहल गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल गरिरहेका छौं,’ ती अधिकारीले भने । 

७ जनवरी सन् २०१६ देखि उनको नाम उक्त सूचीमा थियो । रेडकर्नर नोटिसमा जारी भएको सूचनामा उनले १ अर्ब २२ करोड ८ लाख ९७ हजार १४१ रुपैयाँ ५४ पैसा ठगी गरी फरार भएको उल्लेख थियो । तर उनले ठगेको रकम यतिमा मात्र सीमित छैन । नेपालमा उनीविरुद्धका मुद्दाको संख्या नै ५७ वटा छ । 

२ वर्षअगाडि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कार्कीलाई पक्राउ गरी नेपाल ल्याउन प्रयास गरेको थियो । तर, उनी नेपालबाट फरार भएर संयुक्त राज्य अमेरिकाको नागरिक (ग्रीन कार्ड होल्डर) भइसकेका कारण ल्याउन सकिएको थिएन ।

कार्की डीभी परेर अमेरिका गई टेक्सासमा बस्दै आएका छन् । प्रहरीका अनुसार त्यहाँ उनले ‘नमस्ते इन्डिया’ नामक ग्रोसरी पसल सञ्चालन गरेका छन् ।

कार्कीविरुद्ध उच्च अदालत पाटनमा मात्र ५७ वटा मुद्दा दर्ता भएका थिए, जसमध्ये ५५ वटा मुद्दा सर्वाेच्च पुगेका छन् ।

क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको प्रबन्ध सञ्चालक रहिसकेका कार्कीले विभिन्न कम्पनी खडा गरी सोही वित्तीय संस्थाबाट ऋण लिएर ठगी गरेको भन्दै उनीसहित १ सय २ जनाविरुद्ध कुल ७ अर्ब ७३ करोड रुपैयाँ बिगोको मुद्दा चलिरहेको छ ।

उनले दक्षिण कोरियाबाट हुन्डीमार्फत नेपालतर्फ पठाइने विदेशी विनिमय हङकङ हुँदै अमेरिका पुर्‍याउने गरेको समेत अर्थ मन्त्रालयको अध्ययनमा भेटिएको थियो । 

क्यापिटलको ऋण अपचलनसम्बन्धी ५७ मुद्दामा १ सय २ जनालाई प्रतिवादी बनाइएको छ, जसमध्ये ४६ जनाले सफाइ पाएका छन् । ५६ जनालाई भने कैद सजाय तथा जरिवाना भएको सीआईबीले जनाएको छ ।

कार्कीलाई तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले बिगो बराबर जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो । 

कार्की फरार रहेकाले न बिगो असुली हुन सकेको छ, न न कैद सजाय नै । अब त पक्राउ गर्न नै मुस्किल पर्ने स्थिति सिर्जना भएको छ ।

पवनको ठगीको नालीबेली 

पवनकुमार कार्कीले २०६६ वैशाख २४ मा १५ लाख चुक्ता पुँजी राखेर राजेश खड्काको नाममा राजेश काष्ठ उद्योग दर्ता गरे । केही सामान राखेर उद्योग सञ्चालन गरिरहेको भान पारे । कम्पनी खोलेको ठ्याक्कै एक वर्षपछाडि अर्थात् २०६७ वैशाख २४ गते क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा पूँजी १२ करोड बनाउने भन्दै ९ करोड औद्योगिक कर्जा माग गरे ।

राजेश खड्का र पवन कुमार कार्कीले सिन्धुली र काठमाडौंको साङ्लामा भएको जग्गा धितोमा राखे । ऋण प्रवाह शाखाका प्रमुख अमूल्य उपाध्याय थिए । मनोज खनाल, शोभा श्रेष्ठ र उपाध्यायले विना मिति ८ करोड कर्जा उपलब्ध गराउने टिप्पणी उठाएर सिफारिश गरे । 

बैंकले राजेश काष्ठ उद्योगलाई एक महिनापछि अर्थात् २०६७ जेठ ३ गते ८ करोड उपलब्ध गराउने निर्णय गर्‍यो । सञ्चालक समितिको समर्थनमा कर्जा समितिमा सिफारिश नलगी ८ करोड ऋण उपलब्ध गराइयो । समितिले परियोजना निरीक्षण, धितो निरीक्षण, लगानी उपयुक्तता जस्ता आवश्यक कुनै कुरा उल्लेख नगरी कर्जा उपलब्ध गराएको थियो ।

कर्जा पाएको एक दिनपछि उनले फेरि त्यही कर्जालाई धितो राखी २०६६ जेठ ४ गते १ करोड पुनरकर्जा माग गरे । बैंकका कर्मचारी मनोज खनालले ८ करोडलाई पुनरकर्जा मानेर २ करोड ८८ लाख दिन सक्ने प्रतिवेदन बैंकलाई बुझाए । त्यही प्रतिवेदनका आधारमा अर्को दिन (२०६७ जेठ ५ गते) ७० लाख रुपैयाँ पुनरकर्जा राजेश काष्ठ उद्योगले पायो । उक्त नक्कली कम्पनीले मात्र ८ करोड ७० लाख रुपैयाँ ऋण प्राप्त गर्‍यो । कर्जा लिएको एक वर्षपछि अर्थात् २०६८ भदौ २० गते नेपाल राष्ट्र बैंकले निरीक्षण गर्दा कर्जा प्रवाह गरेअनुसार काष्ठ उद्योगमा लगानी नभएको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

हुँदै नभएको कम्पनीलाई २२ करोड कर्जा 

पवनले हुँदै नभएको कम्पनीको नाममा क्यापिटल मर्चेन्ट फाइनान्सबाट २२ करोड रुपैयाँ कर्जा समेत लिएका थिए ।

‘गणेश उमेश फर्निचर उद्योग’ नाम राखेर घरेलु तथा साना उद्योग कार्यालय काभ्रेमा २०५९ जेठ १७ स्थापना भएको उद्योगलाई हरिप्रसाद आचार्यको नाममा नामसारी गरे । उनले मासिक आम्दानी १४ लाख ३० हजार भएको कागज जमानी राखेर २०६६ पुस २१ मा औद्योगिक कर्जा १० करोड माग गरे । 

त्यसको सुरक्षणबापत जगदीश विष्टको नाममा रहेको काठमाडौंको तत्कालीन साङ्ला गाविस ९ को १० रोपनी र श्रीराम लामिछानेको ६ रोपनी १३ आना जग्गा जमानी भएको फारमको विवरणमा देखाए । तर लामिछानेको घरको ठेगाना भने खुलाइएको थिएन । त्यो समयमा प्रतिवेदन तयार गरी ऋण शाखाका अमूल्यप्रसाद उपाध्यायले व्यवस्थापनमा पेश गरे । उक्त शाखामा शोभा श्रेष्ठ, मनोज खनाल र उपाध्याय स्वयं थिए । 

त्यसपछि त्यो निर्णय कर्जा लगानीमा सीमित हुँदै गणेश उमेश फर्निचर उद्योगलाई २०६६ पुस २४ अर्थात् ४ दिनपछि सञ्चालक लक्ष्मणप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले ९ करोड ऋण उपलब्ध गरायो । एक वर्षको बीचमा लगभग सवा करोड ऋण तिरे ७ करोड ६९ लाख रुपैयाँ तिर्न बाँकी थियो । २०६७ चैत १६ गते फेरि ३५ लाख खुद आम्दानी रहेको भन्दै १४ करोड रुपैयाँको माग फारम भरे । ऋण शाखाका प्रमुख अमूल्यप्रसाद उपाध्यायले १३ करोड कर्जा प्रवाह गर्न मिल्ने भन्दै फेरि त्यही प्रक्रियाबाट अर्काे दिन २०६८ चैत २८ मा १३ करोड कर्जा स्वीकृत भएर त्यही दिन भुक्तानी दिइयो । 

राष्ट्र बैंकले निरीक्षण गर्दा काभ्रेमा सञ्चालनमा रहेको भनिएको गणेश उमेश फर्निचर उद्योग भेटिएन तर सञ्चालक भनिएका हरिप्रसाद आचार्य भने भेटिए । 

गणेश उमेश फर्निचर उद्योग, साजन चिनी मिल प्रा.लि., श्रीकृष्ण टी उद्योग, सीता खाँडसरी सुगर मिल, सेतीदेवी फर्निचर उद्योग, श्रीबुढा महांकाल खाद्य प्रोडक्सन उद्योग, आर. के. स्टील फर्निचर उद्योग, जेसप खाद्य प्रोडक्सन, मेगा सप्लायर्स, रुबिसा खाद्य स्टोर, सुविन्द्र श्रेष्ठ, रिद्धिसिद्धी बिटन एन्ड राइस मिल, राजेश काष्ठ उद्योग, समृद्धि इन्भेस्टमेन्ट कम्पनी प्रा.लि., काभ्रे ब्रोइलर सप्लायर्स, मनोरम हाउजिङ, फुल्चोकी दाना उद्योग, श्रीगणेश जेन्टल फिल्म प्रोडक्सन, चित्रकुमार श्रेष्ठ र हलमार्क रेस्टुरेन्ट गरी २० वटा कम्पनी खडा गरी १ अर्ब ४७ करोड ४९ लाख ७५ हजार ठगी गरेकोे आरोपमा मुद्दा चलिरहेको छ । 

सासूको नाममा नयाँ कम्पनी, ठगी गरी फरार

पवनकुमार कार्कीले सासू जानुका केसीलाई विश्वासमा लिएर एउटा फर्म भराए । दस्तखत लिए, तर केका लागि भन्ने खुलाएनन् । त्यो दस्तखतले ठग्ने उद्देश्यले उनले नयाँ कम्पनी खोले । क्यापिटल मर्चेन्टको शेयर समेत किने तर सासूलाई पत्तो दिएनन् । पछि नयाँ कम्पनीका नाममा ऋण लिएर फरार भएपछि मात्र सासूले आफ्नो नाममा ज्वाइँले ठगी गरेको थाहा पाइन् । 

उच्च अदालत पाटनमा ०६८–एफ जे–००५३ नम्बरमा दर्ता भएको मुद्दामा बयानका क्रममा उनले भनेकी छन्, ‘पवनकुमार कार्की मेरो ज्वाइँ नाताका व्यक्ति हुन् । निजको विश्वासमा मैले आफ्नो नागरिकता समेत दिई निजले भने अनुसार दस्तखत समेत गरिदिएको हुँ । उक्त विभिन्न कम्पनीहरू मेरो नाममा रहेको हाल आएर थाहा हुन आयो । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लि.मा मेरो शेयर रहेको/नरहेको मलाई जानकारी छैन । उक्त रकम पवनकुमार कार्कीसमेतका व्यक्तिहरूले नै दुरुपयोग गरेको भन्ने हाल थाहा हुन आयो । मलाई धेरै जानकारी छैन ।’

salt training

कमेन्ट गर्नुहोस्