
लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत्र ५ हुन लागेको छ ।
क्याम्पसमा विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरूले आ–आफ्नो चुनावी कार्यक्रम गर्दै आएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा कसले कुन क्याम्पसमा स्ववियु सभापतिको टिकट पाउने टुंगो लगाएका छैनन् ।
टिकटका लागि प्रायः विद्यार्थी संगठनका नेताहरू पार्टीका नेतासँग लबिङ गर्न व्यस्त देखिन्छन् । मकवानपुरमा स्ववियु निर्वाचनको संघारमा देखिएको यस्तै परिदृश्यबीच नेपाली कांग्रेस निकट नेविसंघ केन्द्रीय कमिटीले जिल्ला अध्यक्ष जिम्मेवारी भिषण ठकुरीलाई दिएपछि मकवानपुरमा हलचल नै पैदा भएको छ ।
नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी पाएका ठकुरीलाई गत फागुन १९ गते नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जिल्ला अध्यक्षको जिम्मेवारी दिएका थिए ।

उनलाई केन्द्रले पत्र पठाउँदै भनेको छ, ‘नेपाल विद्यार्थी संघ मकवानपुरको अध्यक्ष पद रिक्त भएकाले र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम ३ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी नेपाल विद्यार्थी संघ मकवानपुर जिल्लाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ ।’
उनले जिल्ला अध्यक्षको जिम्मेवारी पाएसँगै पार्टी जिल्ला सभापति बुद्ध लामाले बुधवार नेविसंघ मकवानपुरको आधिकारिक अध्यक्ष सुवास सापकोटा भएको भन्दै पार्टी केन्द्रीय समितिमा पत्र पठाएका छन् ।

उनले पठाएको पत्रमा उल्लेख छ, ‘पत्रमा नेविसंघको साधारण सदस्य नै नभएको र नेविसंघको कुनै पनि गतिविधिमा संलग्न नरहेको व्यक्तिलाई अध्यक्ष बनाउने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न समेत सभापति शेरबहादुर देउवासँग माग गरेको छन् ।’ पार्टी जिल्ला कमिटीको पत्रसँगै चुलिँदै गरेको नेतृत्व विवादले मकवानपुरमा थप राजनीतिक तरङ्ग ल्याएको छ ।
जिल्ला सभापतिको पत्र सँगसँगै बुधवारै पुनः नेविसंघ केन्द्रीय कमिटीले विज्ञप्ति जारी गर्दै ‘मकवानपुर जिल्लामा भिषण ठकुरीको नेतृत्वमा रहेको जिल्ला कार्यसमितिबाहेक अरु कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको’ बताएको छ ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा ठकुरीको नेतृत्वमा रहेको कार्यसमितिलाई नै संगठन विस्तार गरी स्ववियु निर्वाचनको तयारीमा जुट्न अनुरोध गरेको छ । जिल्ला कमिटीको विज्ञप्तिप्रति असन्तुष्टि जनाएका ठकुरीले लोकान्तरसँग भने, ‘जिल्ला समितिको पत्र हेरे त्यसमा उल्लेख गरिएका कुराहरू गलत छन् । म लामो समयदेखि नेविसंघमा आवद्ध रहेको र २०७३ सालमा ११औं केन्द्रीय महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि गएको विद्यार्थी नेता हो ।’ उनले महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेको व्यक्तिलाई पार्टी जिल्ला सभापतिले साधारण सदस्य समेत नरहेको भन्नु गलत रहेको बताए ।
केन्द्रीय कमिटीले संगठनको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम ३ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्षको जिम्मेवारी दिएकाले त्यसलाई पूरा गर्न लाग्ने बताए ।