
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४.४४ अंकले घटेर एक हजार नौ सय ३८.६२ अंकमा कायम भएको छ।
आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर एक अर्ब २० करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् ।
आजको कारोबारमा व्यापार समूह १०.५७ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६९.४६ र लघुवित्त समूहको उपसूचक ६८.३५ अंकले घटेको छ ।
साथै बैंकिङ समूह ९.९४, विकास बैंक समूह २७.२४, वित्त समूह १४.१६, होटल तथा पर्यटन ७.३९ र जलविद्युत् समूह ९.६९ अंकले घटेको छ ।
त्यसैगरी लगानी समूह ०.४३, उत्पादन तथा प्रशोधन समूह ३२.४२, म्युचुअल फन्ड ०.०३, निर्जीवन बीमा समूह १७.०६ र अन्य समूह ४.१२ अंकले घटेका छन् ।
आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै ५.९० अंकको गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंकको सबैभन्दा धेरै १० करोड ३५ लाख २२ हजार बराबरको एक लाख ३८ हजार पाँच सय ९३ कित्ता शेयर किनबेच भएको छ ।