२७ जेठ २०८३, बुधबार

यस वर्षको बिस्केट जात्रा चैत २७ गतेदेखि

यस वर्षको बिस्केट जात्रा चैत २७ गतेदेखि
फाइल फोटो

प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले ९ दिन ८ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि शुरू हुने भएको छ ।
    
नयाँ वर्षको ४ दिन अगाडि भैरवको रथ तानेर शुरू हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ । जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण शुरू भएको छ । 

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा १ महिना अगाडिदेखि रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिए ।

उनका अनुसार नयाँ काठ किनेर एउटा नयाँ पाङ्ग्रा निर्माण गरिएको र अरु पाङ्ग्रा मर्मत गरिएको छ भने १६ गतेदेखि भैरवको रथको पाङ्ग्रा र विभिन्न पाटपुर्जा जडान गर्दै करीब २३ गतेसम्म प्यागोडा शैलीको ३ तले रथ निर्माण सम्पन्न गरेर रंगरोगन गरिने छ ।     

रथ निर्माणका लागि दाताबाट ठूलो काठ आएको र गुठी संस्थानले रथ निर्माण तथा मर्मत आवश्यक पर्ने काठ समयमै ल्याएको छ । उनले भने, ‘रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो एकदमै बलियो डोरी ल्याउन निर्देशन दिएका छौं, जात्रा व्यवस्थापन समिति समेतको टोलीले डोरीको परीक्षण गरिएको छ, ५५ हात लामो, नाङ्लोजस्तो फराकिलो फेद भएको लिङ्गो जात्राका लागि चाहिन्छ, गत वर्ष २ लिङ्गो रहेकाले यस वर्ष नयाँ लिङ्गो भने ल्याइएन, यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौं ।’

पोटरीस्क्वायमा प्रजापति समाजले उठाउने विना हातको लिङ्गो भने भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारीबाट ल्याइएको छ । यस वर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्यालालगायत २५ लाख रुपैयाँ बजेट रहेको उनले जानकारी दिए । २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्गा गणेश मन्दिरको जंगलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा शुरू हुने परम्परा रहेको छ ।
    
लिच्छवीकालदेखि शुरू भएको जात्रा वैशाख १ गतेभन्दा ४ दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी शुरू गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण भनेकै रथजात्रा र लिङ्गोजात्रा हो । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ । 
    
शुरूको दिनमा तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रय पुर्‍याई रथ फर्काउने प्रचलन छ । नयाँ वर्षको ४ दिनअघि अर्थात् चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम शुरू गर्ने परम्परा रहेको छ ।
    
विक्रम संवत् अनुसार सौरमासका आधारमा तान्त्रिक विधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग मर्‍यो), बीय जात्रा (नागको जात्रा), बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भई बिस्केट जात्रा हुन गएको बताइन्छ ।
    
रथ तल्लो क्षेत्रमा बुलुचा, नासमना, वंशगोपाल, तेखापुखुतिर लैजाने प्रचलन छ भने भैरव तथा भद्रकालीको रथजात्रा गरी गःहिटी पुर्‍याएर पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ । दोस्रो दिन भद्रकालीको रथ गःहिटी खलाटोल अजिमा देवताघर पुर्‍याइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । ल्यासिंखेलमा चैत मसान्तको साँझ ५५ हात लामो इन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने परम्परा छ ।

शुरूमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो । पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल–टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन रहेको हो ।    

रथ तान्दा अप्रिय घटना नहोस् भनेर रथ तान्ने दिन रथमा छ भैरव नाइके, पाँच चौगुठी र दुई जना तलेजुका पुजारी रहने चलन रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले सो दिन पनि शुरूको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ २०० फिट लामो ४–४ वटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका वासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने गर्छन् । 
    
त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर देउतालाई भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्