×

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २०७९ असोज २३ गते जिल्लाको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएर चुनावी प्रचारको तयारी जुटिसकेका थिए ।

सो क्षेत्रका बहालवाला सांसद एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा गएको, अर्को मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेसको उम्मेदवार नरहेको र जिल्लामा लामो समयदेखि क्रियाशील युवा नेता भएकाले उनको पक्षमा माहोल पनि बन्दै थियो । न्यौपानेको पुरानो गाउँ माडीदेखि अहिले बसोवास रहेको भरतपुरसम्मबाट सद्भाव र शुभकामना आइरहेको थियो ।


Advertisment

तर, भदौ २६ गते एक्कासि पार्टीले उनको उम्मेदवारी फिर्ता लिइदियो । कांग्रेस छाडेर सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई सघाउने निर्णयसहित केन्द्रकै पत्रका आधारमा उनको उम्मेदवारी फिर्ता भएको थियो ।


Advertisment

त्यतिबेला कार्यकर्ताहरूले खुलेरै असन्तुष्टि व्यक्त गरे । न्यौपानेको मन पनि खुशी थिएन, तर पार्टीको एक जिम्मेवार योद्धा हुनुको नाताले त्यसलाई सहर्ष स्वीकारे ।

‘प्रचण्ड कमरेड गोरखा जानुभएको थियो । माओवादीबाट नेकपाकालीन जिल्ला अध्यक्ष यमबहादुर परियारसहितको टीमलाई पार्टीमा भित्र्याएका थियौं । निकै राम्रो माहोल बनिरहेको थियो,’ करीब ६ महिनाअघिको परिस्थिति स्मरण गर्दै न्यौपानेले लोकान्तरसँग भने, ‘तर, पार्टीले दिनेशजीलई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि एउटा जिम्मेवार योद्धा हुनुको नाताले त्यसलाई सहर्ष स्वीकारें ।’

कांग्रेस एमालेको उम्मेदवार नहुनु र प्रचण्डले चितवन छाड्नुको फाइदा अन्तिममा राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलाई भयो । दिनेशलाई जिताउने उनीसहित एमाले पार्टी पंक्तिको चाहनामा मतदाताले सकारात्मक सन्देश दिएनन् ।

अनेरास्ववियुकालीन आबद्धतासमेत गरी झण्डै ३० वर्ष एमाले राजनीतिमा बिताएका न्यौपानेका लागि चुनावी ‘ट्राजेडी’ यो नै पहिलो भने थिएन । २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनलाई पार्टीले चितवन ३ (२) बाट उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, वाम गठबन्धन र तत्कालीन सीट बाँडफाँडमा उनको टिकट खोसियो । उक्त क्षेत्रमा गठबन्धबाट माओवादीका रामलाल महतो विजयी भए । 

जिल्लामा राम्रो छाप छाड्न सफल एक युवा नेतालाई अहिले आएर बल्ल मत माग्दै जनताको घरदैलोमा पुग्ने अवसर जुरेको छ । उनलाई एमालेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । बाल्यकालमा हुर्केबढेको ठाउँ माडी (क्षेत्र नम्बर ३) भए पनि उनको बसोवास चितवन क्षेत्र नम्बर २ मै छ ।

क्याम्पसकालदेखि नै भरतपुर केन्द्रित भएर राजनीति गरेका न्यौपाने पार्टीको भरतपुर महानगर कमिटी अध्यक्ष हुँदै जिल्ला अध्यक्ष बनेका हुन् । चितवन २ मा भरतपुरका १० वटा वडा तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् ।

कठिन पारिवारिक स्थितिबाट उठेर निरन्तर संघर्ष

स्कूल जीवन माडीमै पूरा गरेका न्यौपाने कक्षा ५ मा पढ्दादेखि नै अनेरास्ववियुको प्रारम्भिक कमिटीमा अबद्ध भएका थिए । स्कूल पूरा गरेर भरतपुर आएपछि उनी २०५१ सालमा अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष बने ।

२०५३ मा अनेरास्ववियुको जिल्ला सचिव बनेका उनी सोही वर्षबाट पार्टीमा पूर्णकालीन कार्यकर्ताका रूपमा जोडिए । २०५५ र २०५६ मा संगठनको जिल्ला अध्यक्ष बनेका न्यौपानेले २०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य तथा नारायणी अञ्चल इञ्चार्जको जिम्मेवारी पाए ।

२०६३ सालमा पार्टीको चितवन जिल्ला कमिटी सदस्य बनेका न्यौपने त्यसयता जिल्लाको पार्टी राजनीतिमा निरन्तर क्रियाशील छन् ।

भरतपुर महानगर कमिटी अध्यक्ष, जिल्ला सचिवालय सदस्य, प्रदेश सदस्य हुँदै उनी २०७८ सालबाट जिल्ला कमिटी अध्यक्षका रूपमा क्रियाशील छन् ।

राजनीतिका हरेक आरोह–अवरोहमा निरन्तरता र संघर्षका पर्याय न्यौपाने कठिन पारिवारिक परिस्थितिबाट माथि उठेर स्थापित भएका नेता हुन् ।

एक वर्षको बीचमा बुवा, आमा र दाइको निधन भएपछि पारिवारिकरूपमा विक्षिप्त बन्न पुगेका न्यौपाने पारिवारिक पीडाबाट माथि उठेर राजनीतिमा क्रियाशील छन् ।

नेकपा एमाले चितवनकी पूर्व अध्यक्ष एवं राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति पार्वती रावल न्यौपानेलाई कठिन परिस्थितिबाट माथि उठेर स्थापित भएको जुझारु नेताका रूपमा चिन्छिन् ।

‘उहाँ परिवारिकरूपमा पनि अप्ठ्यारो स्थितिबाट माथि उठेर अगाडि बढेको नेता हो । पार्टीमा जिम्मेवारी हुँदा पनि, नहुँदा पनि हरेक कालखण्डमा निरन्तर जोडिनुभयो,’ न्यौपानेलाई जिल्लाको नेतृत्व सुम्पिएर केन्द्रीय राजनीतिमा अगाडि बढ्दै गरेकी रावलले भनिन्, ‘देखेको कुरा निर्धक्कसँग भन्ने, जिल्लाको विकास र जिल्लावासीका हरेक समस्या समाधानका लागि चिन्तित रहिरहने नेताका रूपमा उहाँलाई चिन्छु ।’

पार्टीको विरासत फकाउने जिम्मेवारी

२०७० र २०७४ दुवैमा निर्वाचनमा निरन्तर एमालेले जितेको यस क्षेत्रमा २०७९ सालमा पराजय व्यहोर्नुपर्ने स्थिति बन्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अप्रत्यासित मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो स्थानमा सीमित भए ।

लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा तत्कालीन सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ र एमाले उम्मेदवार पोखरेलले १४ हजार ६५२ मत पाएका थिए । 

नागरिकताका विषयमा रविले गरेको कानूनी कमजोरीका कारण ६ महिनाको बीचमा फेरि उपनिर्वाचन गर्नुपर्ने परिस्थिति बनेको छ ।

त्यसो त चितवन– २ एमालेको निकै राम्रो जनाधार भएको क्षेत्र हो । स्थानीय तह निर्वाचनको मत नियाल्ने हो भने यस क्षेत्रमा कांग्रेस–माओवादीसहित तत्कालीन सत्ता गठबन्धनले ल्याएको भन्दा केही बढी मत एमाले एक्लैको थियो ।

तर, मंसिर ४ को निर्वाचनमा रविको पक्षमा अप्रत्यासित माहोल बन्दा एमाले–कांग्रेस दुवैले आफ्नो संगठित मत पनि जोगाउन सकेनन् । 

यसपटक दुवै दल आ–आफ्नो अधिकतम मत संरक्षण गर्ने रणनीतिमा लागेका छन् । कांग्रेस–एमाले दुवैले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मध्ये ५० प्रतिशत मात्रै मत फिर्ता ल्याउन सकेको खण्डमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

सोमवार उम्मेदवारी मनोनयन दर्ता गराएपछि मतदातासँग निरन्तर भेटघाट र सम्पर्कमा रहेका न्यौपाने निकै उत्साहजनक प्रतिक्रिया पाएको बताउँछन् ।

‘हिजो मात्र कालिका नगरपालिकामा पुगेको थिएँ, त्यहाँ निकै उत्साहजनक ढंगले जनसहभागिता भयो । सबैले सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ,’ न्यौपाने भन्छन्, ‘उम्मेदवारका हिसाबले नयाँ पनि, युवा पनि, जिल्लामा ३ दशकदेखि निरन्तर क्रियाशील नेता पनि भएको हिसाबले तपाईं योग्य उम्मेदवार हो भनेर भनिरहनुभएको छ ।’

अघिल्लोपटक अन्यत्र मत दिएका पार्टीका पुराना मतदाताहरू निरन्तर फर्किने र आफ्नो पक्षमा माहोल बनाउन सक्रिय हुने क्रम बढेको देख्दा उत्साहित रहेको उनले बताए । ‘मंसिर ४ मा अन्य विभिन्न चिह्नमा मतदान गरेका साथीहरू पनि अब यसपटक तपाईंलाई नै भोट दिने हो भनेर आउनुभएको छ । हाम्रो आन्तरिक सर्वेक्षण अनुसार पार्टीका ५० प्रतिशत मतदाता फर्किसक्नुभएको छ । बाँकी २५ प्रतिशत मात्र फर्काउन सकियो भने पनि चुनाव जित्न मुस्किल पर्ने छैन ।’

त्यसो त गुल्मी, पर्वत, स्याङ्जासहित पश्चिमी बेल्टबाट चितवन आएका मतदाताहरूमा पनि उनीप्रति विशेष सद्भाव पाइन्छ । 

‘गुल्मी, पर्वत, स्याङ्जातिरबाट आएका मेरा धेरै आफन्त र शुभचिन्तकहरू पनि यहाँ हुनुहुन्छ,’ न्यौपानेले भने, ‘लामो समयदेखि यहीँको सुखदुःखमा जोडिएको र निरन्तर यहीँ रहेकाले सबैजसो मतदाताले राम्रोसँग चिन्नुहुन्छ । त्यही अनुसार प्रतिक्रिया पनि दिइरहनुभएको छ ।’

चितवन– २ लाई एमालेले प्रतिष्ठाको विषय नै बनाएको छ । पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्यहरू गोकुल बास्कोटा र देवी ज्ञवाली तथा त्यस क्षेत्रका पूर्व सांसद कृष्णभक्त पोखरेल पार्टीको विरासत फर्काउन कम्मर कसेर लागेका छन् ।

पार्टीको ग्रासरुट अभियान तथा उपनिर्वाचनका लागि भनेर करीब एक महिनादेखि चितवनमा रहेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा आफूले निकै राम्रो माहोल पाएको बताउँछन् । ‘भदौरे बाढीले ल्याएको हिलो र फोहोर पखालिएर नारायणी अहिले कञ्चन बनेको छ । वैशाखमा नयाँ पालुवा पलाउन थाल्या छ । अब चैते हुरीको काम छैन,’ आफ्नै शैलीमा बास्कोटाले भने ।

सेवा प्रवाहमा सुशासनको प्रत्याभूति, युवाका लागि व्यवसायमैत्री नीति, महिलाहरूको क्षमता विकास र स्वरोजगारी अनि विकट पहाडी भूगोलका चेपाङ बस्तीदेखि भरतपुरसम्मलाई जोड्ने लक्ष्य लिएर अगाडि बढेका न्यौपाने आफूलाई चितवनको माटोले चिनेको उम्मेदवार भन्न रुचाउँछन् ।

'म यहाँको माटोले चिनेको उम्मेदवार हो । यही माटोमा हुर्किएँ । यहीँ बढें । यहीँ पढें । यहीँका हरेक सुखदु:खको साक्षी छु । मेरा लागि सबैभन्दा ठूलो चितवनका जनता हुन् ।  यसैका लगि राजनीतिमा जीवन समर्पित गरेको हुँ,' न्यौपाने भन्छन् । अहिलेसम्म लाभको पद धारण नगरेको र परीक्षण हुन बाँकी युवा नेता भएकाले पनि मतदातामा उनीप्रति सद्भाव पाइएको चुनावी अभियानमा खटिएका एमाले नेताहरू बताउँछन् ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ मा रास्वपाबाट सभापति रवि लामिछाने दोहोरिएर उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनले कांग्रेसका जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x