
चीनले ताइवानविरुद्ध आक्रमण गरेमा अमेरिकाको संसद्ले चीनसँग प्रत्यक्ष भिडन्तका लागि सरकारलाई अनुमति दिने सांसद माइकल मककौलले बताएका छन् ।
टेक्सस राज्यबाट रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने सांसद मककौलले ताइवानको भ्रमणका क्रममा उक्त दाबी गरेका हुन् ।
अमेरिकी जनताले समर्थन गरेमा सांसदहरूले सेनालाई जमीनमा उतार्ने कुराको पनि अनुमति दिने उनको भनाइ छ ।
‘कम्युनिस्ट चीनले ताइवानमाथि आक्रमण गरेमा सेना पठाउने कुरा संसदमा अनि अमेरिकी जनतासँग छलफल गरिनेछ,’ उनले बताए, ‘अमेरिकी जनताले समर्थन गरेमा कंग्रेसले अनुमति दिनेछ ।’
तर द्वन्द्व अन्तिम विकल्प भएको मककौलले बताए । चीनलाई ताइवानमाथि आक्रमण गर्नबाट रोक्नका लागि अमेरिकी प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेको पनि उनको भनाइ छ ।
अमेरिकी अधिकारीहरूले ताइवान भ्रमण गर्दा चीनले आपत्ति जनाउने गरेको छ । चीनले ताइवानलाई आफ्नो सार्वभौम भूभाग मान्ने गरेको छ ।