
चितवन क्षेत्र नम्बर २ मा अहिले उपनिर्वाचनको चटारो छ ।
उम्मेदवार तथा दलका नेता कार्यकर्ताहरू चुनावी प्रचारप्रसार र घरदैलोमा दिनरात नभनी खटेका छन् ।
चोकचोकमा कोणसभाहरू भइरहेका छन् । चैत/वैशाखको टन्टलापुर घाम नभनी प्रचारप्रसार भइरहेको देख्न सकिन्छ ।
यसैक्रममा लोकान्तरले नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेलाई चैत २९ गते दिनभर पच्छ्याएको छ ।
२९ गतेका लागि चुनावी कार्यक्रमको विवरण माग्दा उनको सचिवालयले कोणसभा र घरदैलोहरू हुने जानकारी दिएको थियो ।

त्यसैअनुसार बिहान ६ बजेबाट नै उनलाई पच्छ्याइएको थियो ।
बिहान सवा ६ बजे न्यौपाने भरतपुर महानगरपालिका– १ को रामनगरस्थित गुरुङ ढावामा चिया खाने स्थानीयहरूलाई भेट्न पुगेका थिए ।
चिया पिउँदै गफ गरिरहेका स्थानीयहरू एक्कासि उम्मेदवारलाई अगाडि देख्दा एकछिन त अलमलमा नै परे ।
न्यौपानेलाई देख्नेबित्तिकै एक महिलाले भनिन्, ‘नेताहरू पनि हामीले चिया पिउने ठाउँमा आउनुहुँदोरहेछ त !’
न्यौपानेले तुरुन्तै जवाफ दिए, ‘हामी पनि यहीँका बासिन्दा हौं । यस्तै चिया खाएर हुर्केका हौं, किन नआउनु र ?’

१५/२० जना स्थानीयको जमघटमा न्यौपानेले करीब आधा घण्टा बिताए । उनीसँग स्थानीय मतदाताले विभिन्न समस्याबारे गुनासो पोखे ।
अहिलेसम्म जसलाई जिताए पनि केही नभएको भन्दै उनीहरूले अब केही हुन्छ भनेर आशा पनि नरहेको बताए ।
नेताहरूले समस्या समाधान भन्दा ‘स्टन्ट’ र व्यक्तिगत लाभहानीमा मात्र ध्यान दिने गरेको उनीहरूको गुनासो थियो ।
‘अघिल्लोचोटि जितेका उम्मेदवारले यहाँ पानीको समस्या समाधान गर्छु भनेर आफैं फिल्डमा गएको देख्दा केही आशा लागेको थियो । तर, त्यसपछि न उहाँ आउनुभयो, न पानी आयो,’ स्थानीय रश्मी गुरुङले गुनासो पोखिन् ।
रास्वपा सभापति समेत रहेका तत्कालीन सांसद रवि लामिछाने रामनगरमा पानीको समस्या समाधानका लागि भन्दै एकदुई दिन मुहानमै पुगेका थिए । गुरुङले त्यसैतर्फ लक्षित गरेकी थिइन् ।
न्यौपानेले चुनावको नतिजा जे आए पनि आफूले खानेपानी समस्या समाधानका लागि इमान्दार प्रयास गर्ने वाचा गरे ।
त्यसपछि ७ बजे अधिकारी चोकमा कोणसभा थियो । चोकमा स्थानीय कार्यकर्ताले सूर्य चिह्नको मण्डला बनाएका थिए ।
त्यहाँ उम्मेदवार न्यौपानेले कोणसभालाई सम्बोधन गर्ने तय भएको रहेछ ।
उनले सम्बोधनभन्दा अगाडि त्यहाँका घरघरमा पुगेर स्थानीयको गुनासो सुनेका थिए ।
स्थानीयले खानेपानीसहित विभिन्न समस्या सुनाएका थिए ।
रामनगरमै लखन पार्क बनाउन एमाले नेतृत्वको सरकारले बजेट उपलब्ध गराएको भन्दै उनले खानेपानी समस्या समाधानका लागि पनि सरकारलाई घच्घच्याउने बताए ।

‘यहाँ नजिकै रहेको लखनपार्क लागि १५ लाख रुपैयाँ छुट्याएका थियौं । यो अगाडिको सडक र खानेपानीका समस्या साधनाका लागि १० लाख रुपैयाँ छुट्ट्याएर काम गरेका थियौं । सरकारलाई थप घच्घच्याउँछौं । कोही मान्छे एक दिन आएर मिडियाबाजी गर्दैमा समस्या समाधान नहुने रहेछ भन्ने त बुझिसक्यौं । हामीले नै यी समस्या समाधान गर्छौं,’ उनले भने ।
त्यहाँको कोणसभा सकाएर न्यौपाने देवघाट बसपार्क, बालकुमारी चोक, भरतपुर महानरपालिका– २ बेलटाँडी, रामकृष्ण टोल, आदर्श टोललगायतका ठाउँमा आयोजित कोणसभामा पुगे ।
न्यौपाने र अन्य एमाले नेताहरूले कोणसभामा एमालेको नेतृत्वमा यसअघि भएका कामहरू जानकारी गराउँदै आफ्नै माटोले चिनेको उम्मेदवारलाई भोट दिन अपिल गरेका थिए ।

न्यौपानेको ध्यान कोणसभामा सम्बोधन गर्नुभन्दा बढी स्थानीयलाई भेट्ने, गुनासो सुन्ने र भोट माग्नेमा थियो ।
रामकृष्ण टोलकी ९४ वर्षीया डिल्लीमाया भट्टराईले एमालेले आफूहरूलाई भत्ता दिएको भन्दै न्यौपानेलाई जीतका लागि शुभकामना दिइन् ।
‘एमालेले भत्ता दिएको छ, भोट त म सूर्यमा नै हाल्छु,’ ती वृद्धाले भनिन् ।
घरदैलोका क्रममा कतिपय वृद्धवृद्धाले ‘भत्ता बढाइदिन्छौ नि बाबु ? भनेर सोधेका थिए ।

घरदैलोका क्रममा कतिपयले उम्मेदवारको नाम नै लिए भने कतिपयले सोचविचार गरेर भोट हाल्ने बताए ।
‘अहिले चुनाव कसका कारणले भएको हो, मैले भन्नु नपर्ला, अब विचार गरेर मात्र मतदान गर्नुहोला,’ उम्मेदवार न्यौपानेले भनेका थिए ।
बिहानको समयमा सडकमा मानिसहरूको बाक्लै उपस्थिति देखिए पनि घाम चर्किएपछि भने केही कम भएको थियो ।
बिहान ६ बजेबाट शुरू भएको चुनावी घरदैलो र कोणसभा साँझ ७ बजेसम्मै चलेको थियो ।

मतदाताको घरमा खाना, भाषणभन्दा गुनासो सुन्नमा ध्यान
चुनावी घरदैलोका क्रममा न्यौपानेले मतदाताकै घरमा खाना खाए ।
‘म त यहाँको माटोमा हुर्केको मान्छे हो, त्यसैले यहाँ उब्जेका सबै कुरा मनपर्छ,’ न्यौपानेले भने ।
उनको ध्यान भाषणभन्दा मतदातासँगको कुराकानीमा बढी थियो ।
कतिपय बेला त भाषणको पालो आइसक्दा पनि उनी कुराकानीमै व्यस्त हुँदा बोलाउनै पर्ने अवस्था समेत आएको थियो ।
‘उहाँ भाषण र गफभन्दा पनि समस्या सुन्न रुचाउने मान्छे हो, त्यसले बेलाबेलामा खोज्न जानुपर्छ,’ सँगै रहेका एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवालीले लोकान्तरसँग भने, ‘जनताको गुनासो सुन्नु राम्रो कुरा हो, त्यसैले यसलाई अन्यथा लिनुहुँदैन ।’

रास्वपा सभापति समेत रहेका रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि सांसद पद खारेज हुँदा चितवन २ मा पुनः निर्वाचन भएको हो ।
नागरिकता पुनःप्राप्ति गरेर लामिछाने स्वयं उम्मेदवारका रूपमा दोहोरिएका छन् । एमालेले जिल्ला अध्यक्ष न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई प्रतिस्पर्धामा उतारेका छन् ।
कांग्रेस र एमालेले आफ्नो भोट संरक्षणमा निकै बल लगाएकाले यसपालि चितवन २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।




