मंसिर ९, २०८०
सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई ...
बुटवल उपमहानगरपालिका–११ का महेश खनाललाई आफू नियमित रक्तदाता भएकोमा गर्व छ । नेपाल नियमित रक्तदाता संघको महासचिवसमेत रहेका ३५ वर्षीय खनालले ४४ पटक रक्तदान गरिसकेका छन् ।
दिउँसो होस् वा राति ‘अनकल’ उनले २५ पटक ‘फ्रेस ब्लड’ बिरामीलाई दिइसकेका छन् । १८ वर्षको उमेरदेखि उनले हरेक ३/३ महिनामा नियमित रक्तदान गर्छन् ।
‘एक वर्ष मलाई डेंगु संक्रमण हुँदा र एकपटक दुर्घटनामा पर्दा ६ महिना जति गरेर डेढ वर्ष रक्तदान गर्न पाइनँ,’ खनाल भन्छन्, ‘त्यसबाहेक अहिलेसम्म निरन्तर रक्तदान गर्दै आएको छु ।’
‘ब्लड बैंकमा बिरामीका आफन्तले रगत नपाएर छट्पटिएको देखेर यो कामतर्फ प्रेरित भएँ,’ खनाल थप्छन्, ‘मसहित हाम्रो संस्थाले विभिन्न जिल्लामा पुगेर १ जना स्वस्थ व्यक्तिले बिरामीको ज्यान बचाउन हरेक ३/३ महिनामा रक्तदान गर्नुपर्छ भन्ने अभियान पनि सञ्चालन गरेका छौं ।’
उनी सानैदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै लियो क्लबमा जोडिएका थिए । ‘हाम्रो शरीरमा ३ महिनामा रगत खेर गई नयाँ रक्ततत्व बन्छ भन्ने बुझें,’ उनले भने । रगतको अभावमा बिरामीको ज्यान जाने अवस्था देखेपछि निरोगी व्यक्तिले हरेक ३ महिनामा रक्तदान गर्नुपर्ने अभियानमा उनी तल्लीन छन् ।
उनी पेशाले शिक्षक र खेल प्रशिक्षक हुन् तर दिनरात नभनी बिरामीलाई रगत जुटाउन कुनै कसर बाँकी राख्दैनन् ।
बुटवलका कृष्ण चौहान क्षेत्रीले ७८ पटक रक्तदान गरिसकेका छन् । विक्रम संवत् २०६१ सालदेखि क्षेत्रीको रक्तदान अभियान रोकिएको छैन । लामो समयदेखि परोपकार कर्ममा रमाइरहेका चौहान पेशाले प्राध्यापक हुन् ।
रगत नपाएर कसैको मृत्यु नहोस् भन्ने उद्देश्यसहित २४ घण्टै ब्लड बैंक र बिरामीको सम्पर्कमा हुन्छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजका महासचिव समेत रहेका क्षेत्रीले ‘रगत नपाए बुटवल जानू’ अभियान शुरूआत गरे । त्यो अभियानले अहिले सार्थकता पाएको छ ।
‘२०७२ सालमा महाभूकम्प जाँदा काठमाडौंमा बिरामीलाई रगत अभाव भयो,’ महासचिव क्षेत्री भन्छन्, ‘बुटवलमा एकैदिन हामीले ३१५ युनिट रगत संकलन गरेर पठायौं । त्यसपछि बुटवलमा अहिलेसम्म हामीलाई रगतको अभाव भएको छैन ।’ उनले बिरामीलाई बचाउन रगत दिने व्यक्तिलाई भारतको गोरखपुर, चितवन, पाल्पा लगायत जिल्लामा पनि आवश्यकता अनुसार आफ्नै खल्तीको पैसा खर्च गरेर पठाउने गर्छन् ।
नियमित रक्तदान गर्नाले शरीर कमजोर हुन्छ भन्ने केही मानिसहरूको गलत बुझाइलाई पनि उनले चिर्दै आइरहेका छन् । नियमित रक्तदान गर्ने व्यक्तिलाई मुटु र मिर्गौला सम्बन्धित रोग लाग्ने सम्भावना कम हुने उनले बताए ।
रक्तदाताले निःशुल्क दिएको रगत बिरामीले पनि निःशुल्क पाउनुपर्छ भन्ने अभियान पनि चलाए उनले । त्यो अभियानले सार्थकता पनि पायो तर सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई मात्र निःशुल्क दिने भनेर भनियो । यसप्रति चौहान असन्तुष्ट छन् । उनी भन्छन्, ‘सरकारी अस्पतालमा उपचार गराउने बिरामीले निःशुल्क पाउने, प्राइभेटमा गराउनेले पैसा तिर्नुपर्ने ? यो हुँदैन । हरेक बिरामीले निःशुल्क रगत पाउनुपर्छ । सरकारी अस्पतालले कति बिरामी थेग्न सक्छ र ?’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा सञ्चालित ब्लड बैंकहरूलाई मापदण्डको आधारमा ८१० देखि १ हजार ६४० रूपैयाँसम्म मूल्य लिन सकिने व्यवस्था गरेको छ ।
बुटवल–७ दीपनगरका ३९ वर्षीय दया शिलवालले ५३ पटक रक्तदान गरिसकेका छन् । उनले विक्रम संवत् २०६१ सालदेखि नियमित्त रक्तदान गर्दै आइरहेका छन् । ‘काठमाडौंको प्रसूति गृहमा सुत्केरीका लागि गरेको नियमित रक्तदान अहिलेसम्म जारी छ,’ नेपाल रक्तदाता संघको अध्यक्ष समेत रहेका शिलवाल भन्छन्, ‘जब रक्तदानको महत्त्व बुझें, त्यसपछि नियमित रक्तदान गर्दै आइरहेको छु । रक्तदानका लागि स्वयंसेवकका रूपमा काम गरिरहँदा बेग्लै आत्मसन्तुष्टि मिल्ने गरेको छ ।’
उनलाई अहिले दैनिक १०–१२ जनाले रगतको माग गर्दै फोन गर्छन् । बुटवलमा कुनै बेला रक्तदान गर्न मानिसहरू डराउँथे । अहिले त्यो अवस्था फेरिएको छ । मानिसमा सचेतनाको विकास भएको छ । स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्दा शरीरलाई कुनै हानी गर्दैन भन्ने बुटवलवासीले बुझिसकेका छन् ।
‘हामीले अहिले पाल्पा, चितवन, दाङमा पनि आवश्यक परे बुटवलबाट रगत पठाउँदै आएका छौं,’ अध्यक्ष शिलवाल भन्छन्, ‘रगत चाहियो भन्दै दैनिक बिरामी र आफन्तहरू घरमा आइपुग्छन् । रगत अभावले छट्पटिएका बिरामीलाई रगत जुटाएर चढाउन पाउँदा सबैभन्दा खुशी मिल्छ ।’
बुटवलका अर्का युवा रक्तदाता हुन् लेखनाथ भण्डारी । नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष ३८ वर्षीय भण्डारीले ३३ पटक रक्तदान गरिसकेका छन् । ‘रक्तदान गर्दै बिरामीलाई रगत जुटाउन लाग्दा मिल्ने सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो,’ भण्डारी भन्छन्, ‘म नेपाल नियमित रक्तदाता संघका संस्थापक अध्यक्ष सरोज शिलवासको प्रेरणाबाट रक्तदाता अभियानमा लागेको हुँ ।’
रक्तदान कार्यक्रममा मात्र नभई मेला महोत्सवमा पनि उनी रक्तदान गर्ने युवालाई प्रेरित गर्छन् । ‘जहाँ भीडभाड छ, त्यहाँ नयाँ रक्तदाता जन्माउने हाम्रो अभियान छ,’ भण्डारी थप्छन्, ‘सामाजिक विचार/सोच भएकाहरूबाट केही आर्थिक सहयोग जुटाउछौं । नभए आफ्नै पैसा खर्च गरेर रक्तदातालाई जुस, पानी, अण्डा र प्रमाणपत्र पनि हामी आफैंले व्यवस्था गर्छाैं । हाम्रो संस्थामा ३१५ जना आजीवन सदस्यहरू हुनुभएको छ ।’
होटल व्यवसायी संघ रूपन्देहीको अध्यक्ष समेत रहेका भण्डारीलाई बिरामीको उपचारमा रगत जुटाउन खटिँदा परिवारले पनि हौसला दिन्छन् ।
तिलोत्तमा–३ की श्रेया ज्ञवाली उमेरले भर्खरै २७ लागिन् । उनले अहिलेसम्म ३५ पटक रक्तदान गरिसकेकी छन् । त्यसमध्ये उनले केही रक्तदान इमर्जेन्सीमा गरेकी छन् । १८ वर्षको उमेरदेखि शुरू गरेको रक्तदान स्वास्थ्यले साथ दिएसम्म ६५ वर्षसम्म जारी राख्ने ज्ञवाली बताउँछिन् ।
‘रक्तदानमार्फत सामाजिक क्षेत्रमा काम गर्न चाहन्छु,’ उनी भन्छिन्, ‘रक्तदान गर्नु जीवनदान गर्नु बराबर हो, योभन्दा पुण्य काम अरू मलाई लाग्दैन ।’ उनले आफूले बीबीएस पहिलो वर्ष मणिमुकुन्द कलेजमा आयोजित रक्तदान कार्यक्रममा रगत दिन शुरू गरेकी थिइन् । अहिले ३ महिना पुग्नलाग्दा उनलाई रगत दिन मन लाग्छ ।
ज्ञवाली जस्तै बुटवलकै जानकी नेपालले पनि २० पटकभन्दा धेरै रक्तदान गरेकी छन् । नेपालको परिवार नै रक्तदान गर्छन् । उनलाई समाजसेवाको सबैभन्दा उत्तम कार्य नै रक्तदान लाग्छ । तुलसा न्यौपाने पनि नियमित रक्तदान गर्दै रगत जुटाउने काममा सधैं सक्रिय छिन् । बुटवलका सुरेन्द्र शाक्य पनि धेरै रक्तदान गर्नेमा पर्छन् ।
बुटवल क्षेत्रमा अहिले आफ्नो जन्मदिनमा रक्तदान गर्ने संस्कृतिको विकास पनि भएको छ । ४५ किलोभन्दा धेरै तौल भएको, रगतमा हेमोग्लोविनको मात्रा १२ प्रतिशतभन्दा धेरै भएको, एन्टीबायोटिकको सेवन नगरेको, पछिल्लो ३ वर्षमा जण्डिस वा कुनै ठूलो शल्यक्रिया नगरेका व्यक्तिले वर्षमा बढीमा ४ पटक हुने गरी ३–३ महिनाको अन्तरालमा रक्तदान गर्न सक्छन् ।
सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई ...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नागरिक उड्डयन प्राधिकरणमा जागिर खानुअघि प्रदीप अधिकारी काठमाडौंका इन्जिनियरिङ कलेजहरूमा अध्यापन गराउँथे । अध्यापन गराइरहेका अधिकारीलाई एकैपटक दुइटा अवसर आए– एउटा सरकारी जागिर र अर्को विदेशमा पीएचडीक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
काठमाडौं महानगरपालिका–१५ पुरानो बानेश्वरका उद्योगी शत्रुधनप्रसाद ढकाल बजारमा ‘एसपी ढकाल’का नामले परिचित छन् । दुई दशकको ‘ट्रेडिङ बिजनेस’को अनुभवपछि ढकालले पश्चिम नवलपरासीमा ड...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...