०५ साउन २०८३, मंगलबार
हवाई सुरक्षाको चिन्ता

बढ्दो हवाई दुर्घटना : एकपछि अर्को कमजोरीले ईयूको कालोसूचीबाट उम्किनै मुस्किल

बैशाख २६, २०८०
बढ्दो हवाई दुर्घटना : एकपछि अर्को कमजोरीले ईयूको कालोसूचीबाट उम्किनै मुस्किल

हवाई क्षेत्रमा एकपछि अर्को घटना दोहोरिइरहँदा नेपाली आकाश प्रयोग गरिरहेका वायुसेवाका उडानमा सुरक्षा चुनौती बढ्दै गएको छ ।

नेपाली आकाशमा उड्ने आन्तरिक तथा बाह्य उडानका वायुसेवामा एकपछि अर्को समस्या आउँदा नियामक निकायलाई टाउको दुखाइको विषय बनेको छ ।

एउटै प्रकृतिको दुर्घटना बारम्बार भइरहँदा तथा जहाज कम्पनी र कर्मचारीले गर्ने लापरवाही सार्वजनिक हुने क्रम बढ्दा यो हवाई उड्डयन क्षेत्रका लागि थप पेचिलो विषय बन्न थालेको छ । 

यस्ता घटनाले सन् २०१३ देखि युरोपेली युनियन (ईयू)को कालोसूचीमा परेको नेपाली वायुसेवा अहिलेसम्म उम्कन सकेका छैनन् । अझै पनि कालोसूचीबाट हट्न मुश्किल देखिएको छ ।

ईयूको कालोसूचीले नेपाली वायुसेवाको छवि धुमिल बनाएको छ भने अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ)देखि विदेशी वायुसेवा कम्पनी र पर्यटकले हेर्ने दृष्टिकोण समेत फरक भइरहेको छ । 

पछिल्लो समय सोमवार श्री एयरलाइन्सको जहाज उडान गरेको केही क्षणमै तुरुन्तै भैरहवा विमानस्थल फर्कनुपर्ने अवस्था आयो । जहाजको ल्यान्डिङ गेयरमा समस्या देखिएको इन्डिकसेनले संकेत गरेपछि काठमाडौं आउन उडेको जहाज फर्किएर भैरहवा विमानस्थलमै अवतरण गर्‍यो । तर, जहाजको अगाडिको पाङ्ग्रा लक भएका कारण करीब १ घण्टा धावनमार्गमै अड्कियो । 

यही जहाज २ दिनअगाडि (२३ वैशाखमा) धनगढी विमानस्थलमा इन्जिन स्टार्ट गरेर ट्याक्सी वेमा लैजाने क्रममा नोज ह्वील लक भएको थियो । इन्जिन अफ गरेर पुनः स्टार्ट गर्दा लक खुलेर काम गरेको थियो । 

शनिवार समस्या संकेत गरेर तुरुन्तै समाधान भएकै जहाजमा सोमवार बिहान पुनः समस्या देखियो ।

३ दिनको बीचमा एउटै जहाजमा उस्तै प्रकृतिको समस्या देखिनु गम्भीर भएको भन्दै हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको ९ एन एएनई नाम जहाजलाई ग्राउन्डेड गराएको (उडानमा रोक लगाएको) छ । 

यो जहाजका लागि उडान अनुमति दिने तथा चेकचाँज गर्ने मेन्टेनेन्स इन्जिनीयरलाई समेत निलम्बन गरेर छानबिन शुरू गरिएको छ ।  

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल हवाई उडानमा जति सुधार गर्छु भन्यो उति छिटो समस्या आइरहेको बताउँछन् । पछिल्ला घटनाक्रमले नियामक निकायलाई नै अचम्मित बनाइरहेको उनको भनाइ छ । 

‘कसैलाई उपद्रो नगर भन्दा उल्टै जिस्क्याएर धेरै उपद्रो गरेको जस्तो पो छ अहिले देखिएको समस्या’, भुलले भने, ‘पछिल्लो समय हवाई क्षेत्रमा देखिएका घटनाक्रमले हामी आफैंं शक्ड भएका छौं ।’

१९ वैशाखमा फ्लाई दुबईको जहाज टेकअफ (उडान) गरेसँगै आगो देखिएको थियो ।

उक्त जहाजमा आगो देखिएको विषय निकै पेचिलो भयो । यो उडानको विषयमा आएको विवादास्पद अभिव्यक्तिका कारण उड्डयन प्राधिकरणले फ्लाई दुबईका एयरपोर्ट म्यानेजरलाई कारवाहीसमेत गरेको थियो । 

यो बाहेक पछिल्लो एक महिनामा ३ वटा हेलिकप्टर दुर्घटनामा परिससकेका छन् ।

यस अवधिमा एक जनाले ज्यान पनि गुमाएका छन् ।

हवाई क्षेत्रमा जिम्मेवार हुनुपर्ने जहाज कम्पनी नै हो । जहाज कम्पनीले गर्ने हरेक उडानमा नियामक निकायको कर्मचारी राखेर उडान गराउन सम्भव हुँदैन । 

एउटा कम्पनीमा मात्रै नभएर धेरैवटामा समस्या देखिनुलाई प्राधिकरणले गम्भीर दृष्टिले हेरिरहेको छ । अन्तर्राष्ट्रिय निकायले पनि यसलाई गम्भीररूपमा हेर्ने भएकाले जवाफदेही बन्नुपर्ने अवस्था छ ।

पछिल्लो समय आन्तरिक उडानका वायुसेवा कम्पनीमा लापरवाही समेत थालको र एकपछि अर्को गरेर हवाई सुरक्षामा चुनौती समेत थपिँदै गएको देखिएको छ ।

यसअघि १८ चैतमा काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरलाइन्सको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि सिमरामाथिबाट फिर्ता आयो ।

दुई दिनसम्म ग्राउन्डेड गरेर गरिएको निरीक्षणबाट उक्त जहाजको स्पिड मिटरमा समस्या औंल्याइयो । उक्त जहाजको मेन्टिनेन्स इन्जिनीयरलाई पनि प्राधिरणले निलम्बन गरेको थियो । 

२० चैतमा पनि ताप्लेजुङबाट काठमाडौं आएको जहाजमा क्षमताभन्दा बढी तौल बोकेको भन्दै निगमका चालकदलसहितका ७ जना कर्मचारी कारवाहीमा परेका थिए ।

यसअघि नेपाल वायुसेवा निगमको अन्नपूर्ण नामक वाइडबडी जहाजको ढोका १८ चैतमा रातैभरी खुला राखेको भन्दै निगमका दुईजना एरोनटिकल इन्जिनीयरलाई कारवाही गरिएको थियो ।

यसअघि १२ फागुनमा नेपाल वायुसेवा निगमका पाइलटले आकाशमै विमान परिचारिका (एयर होस्टेस)लाई काखमा राखेर ल्याएको पाइएपछि दुई पाइलट निलम्बनमा परेको घटना हवाई उड्डयनमा निकै चर्चाको विषय बन्यो । 

प्राधिकरणले विभिन्न प्रकारको कमीकमजोरी गरेको र उड्डयन नियमन पालना नगरेको भन्दै पछिल्लो ६ वर्षमा ६१ जना पाइलटलाई कारवाही गरेको छ ।

प्राधिकरणले जहाज उडानका क्रममा भएको विभिन्न कमीकमजोरी औल्याउँदै उक्त कारवाही गरेको थियो ।

सबै पक्ष उत्तिकै जिम्मेवार हुन सकेको देखिएन

पछिल्लो १० वर्षमा नेपालको हवाई उडानमा निकै सुधार आएको दाबी गरिन्छ ।

हवाई क्षेत्रको नियामक निकायले नियम पालनामा कडाइ तथा वायुसेवालाई जिम्मेवार बनाउन प्रयास गरिरहेको अवस्था छ ।

वायुसेवा कम्पनी, नियामक निकाय, सम्बन्धित सकारोकारवालाले पूरा गर्ने स-सानो जिम्मेवारीले ठूलो सुधार हुनसक्ने हवाई विज्ञ तथा उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्री बताउँछन् ।

हवाई उडानमा देखिएको कमी कमजोरीका विषय सामाजिक सञ्जाल, मिडिया, नियामकको तुरुन्तै हुने एक्सन, साना कमजोरी पनि सुधार गर्न दिइने सार्वजनिक सूचना आदि कारणले बढी देखिएको हुनसक्ने उनको तर्क छ ।

पछिल्लो समय अलि बढी घटना सार्वजनिक हुनुमा प्रविधि र सचेतना दुवैले काम गरेको उनको तर्क छ ।

 


 

salt training

कमेन्ट गर्नुहोस्