०३ साउन २०८३, आइतबार
पार्टी शुद्धीकरणको बहस

जुर्मुराउँदै कांग्रेसका युवा नेता : ७७ वटै जिल्लाका जनतासँग 'सार्थक संवाद' अभियान

बैशाख ३१, २०८०
जुर्मुराउँदै कांग्रेसका युवा नेता : ७७ वटै जिल्लाका जनतासँग 'सार्थक संवाद' अभियान

गत स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बने पनि नेपाली कांग्रेसमा रूपान्तरणको बहस मजबुत बन्दै गइरहेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विद्रोह गर्ने चेतावनी दिइरहेका छन् । 

अझ चेतावनीभन्दा पनि माथि उठेर केही युवा नेताहरूले पार्टी रूपान्तरणका लागि ७ प्रदेश र ७७ वटै जिल्लामा कार्यक्रम गर्ने गरी विशेष अभियान शुरू गर्न लागेका छन् ।

मुख्यगरी संस्थापनइतरका युवा नेताहरू जनतासँगको यो संवादमा जोडिन लागेका हुन् । यद्यपि उनीहरूले आफ्नो अभियान गुटनिरपेक्ष रहेको दाबी गरेका छन् । 

नेताहरू गुरु घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, भुपेन्द्रजंग शाहीसहितले गुट निरपेक्ष दबाब भन्दै अभियान शुरू गर्न लागेका हुन् । यो समूहले १ जेठमा अभियानअन्तर्गतको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ, जुन ७७ वटै जिल्ला र गाउँगाउँसम्म पुग्ने उनीहरू बताउँछन् ।

नेता गुरु घिमिरेले जनतासँग सार्थक संवाद गर्नका लागि आफूसहितका नेताले अभियान शुरू गर्न लागेको जानकारी दिए । 

‘अहिलेको राजनीतिमा जटिलता थपिँदै गयो । कांग्रेस मुलुकको राजनीतिक परिस्थितिलाई गम्भीतापूर्वक विश्लेषण गर्ने र गतिविधि गर्नेतर्फ अग्रसर भएन,’ घिमिरेले लोकान्तरसँग भने, ‘जरैदेखि पार्टी सुधार गर्न सकिएन । परिवर्तन गर्न सकिएन । त्यसैले समयसापेक्ष सुधारका लागि पार्टी संरचना र संगठनको शैली बदल्न दबाब दिने उद्देश्यले जनतासँग सार्थक संवादका नाममा हामीले रुपान्तरण अभियान शुरू गर्न लागेका हौं ।’

निर्वाचनमा जनमत पाउने र जनतासँग निरन्तर सम्पर्कबाट टाढिने क्रम बढ्दा निराशा बढेको उनी बताउँछन् । 

‘जनमत पाउने र तर जनतासँग निरन्तर सम्पर्क नरहने भयो । त्यस्तै हामीलाई भोट नहाल्नमा जनता होइन हामी नै दोषी हौं,’ गुरु भन्छन्, ‘यसैले जनतासँगको सम्बन्धबाट टाढिन हुँदैन भनेर हामीले सदस्यतादेखि निर्वाचन प्रणालीसम्म बदल्ने गरी पार्टीमा दबाब बढाउन यो अभियान शुरू गर्न लागेका हौं ।’

यो समूहले कोशीमा गुरु घिमिरे, मधेशमा रञ्जित कर्ण र बाग्मतीमा मधु आचार्यलाई संयोजक तोकेको छ । 

त्यस्तै, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा डा. गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरतबहादुर खड्कालाई संयोजक तोकेको छ । 

जेठ १ गते बैठक बसेर सातवटै प्रदेश र ७७ वटा जिल्लामा गरिने कार्यक्रमको खाका प्रस्तुत गर्ने जानकारी उनले दिए । 

‘नयाँ पुस्ता हामीबाट टाढियो । हामीलाई भरोसा गर्न छाड्यो । सत्ता र शक्तिमा पुग्दा पनि हामीले कार्यक्रम नदिँदा युवा विदेशिन बाध्य भए । हामीले कार्यक्रम ल्याउन नसक्दा युवा समूह आक्रोशित छ, क्षुब्ध छ,’ गुरु भन्छन्, ‘शिक्षा र स्वास्थ्यको मात्रै होइन, किसानदेखि साना व्यवसायीसम्मका उत्तिकै समस्या छन् । महंगी र मूल्यवृद्धिले नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । तर, चुनाव वा परिवर्तनले पनि नागरिकका सरोकार साँच्चै समाधान हुन नसक्दा आक्रोशमा अब पुरानो ढर्रा र पाराले चल्दैन भनेर हामी बदलिएर चलौं भन्ने सन्देश दिन खोजेका हौं ।’

सातवटै प्रदेशका शहरमात्रै होइन, ग्रामीण भेगसम्मै पुगेर जनतासँग संवाद गर्ने, कस्तो कांग्रेस र कस्ता नेता बनाउने, के–के सुधार गर्ने जस्ता विषयमा संवाद गर्न आवश्यक भइसकेको गुरु बताउँछन् । यो अभियानमा केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, बहालवाला र पूर्व सांसद, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका प्रतिनिधि, कार्यकर्तादेखि सामान्य नागरिक पनि जोडिने गुरु बताउँछन् । 

‘हाम्रो अभियानमा केन्द्रीय सदस्यदेखि जिल्ला सभापति, सांसद, भ्रातृ संस्थाका प्रतिनिधि जोडिनुभएको छ । अभियान शुरू हुन लाग्दा धेरैमा आशा जगाउन सकिन्छ भन्नेमा पुगेका छौं,’ गुरु भन्छन्, ‘यो गुट निरपेक्ष अभियान भएकाले पनि सबैले साथ दिनुहुन्छ । कांग्रेसकै केही साथीहरूको यो कार्यक्रमको अगुवाइ गर्नुहुन्छ । तर, देशभरबाटै हाम्रो कार्यक्रममा चासो देखिइरहेको छ ।’ 

पार्टीभित्रको कुनै समूह र गुटको समर्थन वा विरोध नभई समग्रमा पार्टीको आन्तरिक जीवन सुधार्नु आवश्यक रहेको उनको तर्क छ । कांग्रेसकै पार्टी संरचनाले पनि आफूहरूको अभियानमा सहयोग गर्ने जानकारी पाएको घिमिरे बताउँछन् ।

अभियानपछि पार्टीलाई सुधारका लागि सुझावसहितको प्रतिवेदन नै बुझाउने तयारी रहेको उनले जानकारी दिए ।

जेठ १ गते कोशी प्रदेशबाट शुरू हुने कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्रदेशस्तरीय भेला मुख्य भेला, बीच–बीचमा जिल्ला–जिल्लामा कार्यक्रम हुने अर्का नेता भुपेन्द्रजंग शाही बताउँछन् । 

‘पार्टी जनताको हुनुपर्ने हो । लोकतान्त्रिक, मूल्यमान्यता र सिद्धान्तका लागि हुनुपर्ने हो, तर सत्ता लागि मात्रै भयो । प्रधानमन्त्री र मन्त्रीका लागि भन्दा जनताको जीवनसँग हामीले राजनीतिलाई जोड्नै सकेनौं,’ शाही भन्छन्, ‘भ्रष्टाचारमा शून्य सहनशीलता हुनुपर्नेमा संरक्षण भइरहेको छ । जनताको जीवनयापनका सवाल, युवा, किसान, महिला, महंगी, मूल्यवृद्धि, आर्थिक संकटका सवाल भए पनि सरकार पार्टीका गतिविधि समस्यालक्षित कहिल्यै बन्न सकेनन् । यसैले पार्टीको संरचनादेखि देशको संरचनाले नागरिकलाई कसरी छुन्छ भन्ने कार्यक्रम आवश्यक भइसकेको छ । यसैका लागि हामी अभियानमा निस्कन लागेका हौं ।’

पार्टीभित्र प्रश्न उठाउनै हुँदैन नेतालाई धुपमात्रै बाल्नुपर्छ भन्ने मान्यता हुर्किएको भन्दै उनले यस्तो सोचलाई तोड्ने आफूहरूको लक्ष्य रहेको बताए ।

पार्टीमा महामन्त्रीहरू कार्यकारी भूमिकामा रहे पनि उनीहरूले निर्णय गर्ने तहसम्म हस्तक्षेप गर्न नसकेको उनी बताउँछन् । 

‘महामन्त्रीहरू कार्यकारी महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरूले पार्टीलाई राम्रो निर्णयमा पुर्‍याउनुपर्ने हो,’ शाही भन्छन्, ‘तर युवाहरू नेतृत्वमा पुग्दा पनि पार्टी सुधारका गति देखिएको छैन । यसैले काम गराईमा कहाँ के समस्या छन् भनेर पहिल्याउन पनि हामी जनतासँग संवादमा जान लागेका हौं ।’

salt training

कमेन्ट गर्नुहोस्