
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ ।
मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।
मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीवारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवत रूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीवार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए ।
बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा २ करोड ४२ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको बोहोराले बताए । कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुनर्निर्माण ढिला गरी सम्पन्न भएको हो ।
मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो । ढुंगा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनर्निर्माण गरिएको हो ।
गाउँपालिका अध्यक्ष गुरुङले ऐतिहासिक महत्त्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताए । ‘आवश्यक पूर्वाधार निर्माण गरिने र प्रचारप्रसारमा जोड दिइने छ,’ उनले भने, ‘खानेपानीको व्यवस्था समेत भइसकेको छ, बस्नका लागि होमस्टेको सुविधा छ, आवश्यक पूर्वाधार निर्माण गर्दै जान्छौं, ऐतिहासिक महत्त्व बोकेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ ।’
सुन्तलाको बगैंचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ । मन्दिर परिसर वरपर फागुन–चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ । इच्छाकामनाको फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिर सवारीसाधनमार्फत पुग्न सकिन्छ ।