
घटना नं १ – वैशाख ८ गते काठमाडौंको सरस्वतीनगरमा भाँडा पसल गर्ने नीरा आर्चायको छुरा प्रहार गरी हत्या भयो ।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले सीसीटीभी क्यामेराको सहायता खोज्यो । नीराको पसलअगाडि सीसीटीभी क्यामेरा त थियो तर बिग्रिएको थियो । हत्यारा पत्ता लगाउन प्रहरीलाई परपरका क्यामेराको सहायता लिनुपर्यो ।
घटना नं. २ – जेठ ३ गते साँझ राजधानीको व्यस्त सडक रत्नपार्कमा अर्घाखाँचीका चिन्तामणि भुसाललाई मोटरसाइकलले ठक्कर दियो । गम्भीर घाइते भुसालको दुई हप्तापछि उपचारका क्रममा मृत्यु भयो । तर ठक्कर दिने मोटरसाइकल आजसम्म पनि पत्ता लागको छैन । रत्नपार्क क्षेत्रमा सीसीटीभी त राखिएका छन्, सीसीटीभीले भिडियो कैद गरेको भेटिएन ।

यी प्रतिनिधिमूलक घटनाले राजधानीमा जडित सीसीटीभीको अवस्थाको चित्रण गर्छ । शान्ति सुरक्षा कायम गर्न तथा घटनाको अनुसन्धान गर्न प्रहरीले प्रविधिको पनि सहारा लिनुपर्ने हुन्छ । तर यी उदाहरण हेर्दा प्रहरीले प्रविधिको भरपूर उपयोग गर्न नसकेको प्रष्ट देखिन्छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रहेका सीसीटीभी क्यामेराको निगरानी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले गर्दै आएको छ । प्रहरी कार्यालयमा पुग्दा सीसीटीभीले राम्रोसँग काम गर्न नसकेको प्रष्ट देखियो । धेरैजसो डिस्प्ले ‘ब्ल्याक’ थिए । कुनैमा सिग्नल अड्किएका थिए । देखिएका कतिपय डिस्प्लेमा धमिलो फूटेज देखिन्थ्यो ।

सीसीटीभी क्यामेरा निगरानी कक्षमा पुग्दा शहरका चोकचोकमा जडित क्यामेराहरूमा अधिक प्राविधिक समस्या रहेको र राम्रोसँग काम नगरेको प्रष्ट देखिन्छ । प्रहरीले सीसीटीभी क्यामेरा मर्मतका लागि टोली पनि परिचालन गर्ने गर्ने गरेको छ, तर पनि बिग्रिएका क्यामेरा भने मर्मत भएका छैनन् ।
यता प्रहरी कार्यालयले भने अहिलेको समस्यालाई विस्तारै समाधान गर्दै लैजाने बताएको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली यी चुनौतीलाई समाधान गर्ने बताउँछन् । ‘यो प्रविधि हो, ठ्याक्कै गणितजस्तो हुन्न,’ उनी भन्छन्, बिग्रिएका छन् भने बनाउनुपर्छ, हामी बनाउने प्रयासमा रहने छौं ।’
सरकारले सबै स्थानमा सीसीटीभी क्यामेरा नजोडेको भन्दै उनले कतिपय क्षेत्रमा निजी सीसीटीभी क्यामेराको पनि सहायता लिने गरेको बताए ।
‘प्रहरीले जसरी प्रविधिको सहयोग लिनुपर्ने हो, त्यसलाई प्रभावकारी तबरले काम गर्न लागि परेका छौं,’ उनी भन्छन्, ‘आवश्यक स्थान तथा बिग्रिएको क्यामेरा फेर्न नयाँ क्यामेरा खरिद प्रक्रिया अघि बढेको छ ।’

प्रहरीले आफूलाई प्रविधिमैत्री बनाउँदै लगेको दाबी गरे पनि यी प्रविधिलाई भने राम्रोसँग उपयोग गर्न नसकेको प्रष्ट देखिन्छ । हाल प्रहरीसँग कतिवटा सीसीटीभी क्यामेरा छन् भन्ने यकिन तथ्यांक पनि प्रहरीले सार्वजनिक गरेको छैन ।
चौबीसै घण्टा ‘इगल आई’को रूपमा काम गर्ने सीसीटीभी क्यामेरामा आउने त्रुटि तथा अवरोधलाई हटाउन प्रहरी तत्पर रहनुपर्ने हुन्छ ।

भएका साधन तथा गरिएको खर्चको उचित उपयोगमा प्रहरी तथा सम्बन्धित निकायहरूको ध्यान जानु आवश्यक छ ।
हेर्नुहोस्, भिडियो :