०३ साउन २०८३, आइतबार

फिल्मको कार्यक्रममा पुगेर योगेश भट्टराईले भने, – नेता र कलाकारको सम्बन्ध नङ र मासुको जस्तो

साउन ११, २०८०
काठमाडौं
फिल्मको कार्यक्रममा पुगेर योगेश भट्टराईले भने, – नेता र कलाकारको सम्बन्ध नङ र मासुको जस्तो

नेकपा एमालेका सचिव योगेश भट्टराईले कलाकार र नेताको सम्बन्ध नङ र मासुको जस्तो हुने बताएका छन् । 

बिहीवार फिल्म ‘ऐंचो पैंचो’को गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उनले नेता र कलाकारबीच राम्रो सम्बन्ध हुने बताए ।

‘तपाईंहरुको जमातमा म अलिकति नयाँ मान्छे हुँ बेग्लै फिल्डको । तर, हामी सबै नङ र मासुको सम्बन्ध भएका हौँ’ कार्यक्रममा भट्टराईले भने, ‘हाम्रो फिल्डले तपाईहरूलाई बोक्ने, तपाईहरूको फिल्डले हामीलाई बोक्ने । त्यसकारण एक अर्काको बीचमा धेरै नै राम्रो सम्बन्ध हुन्छ । तपाईहरूको असल कामहरूलाई हामीले जहिले पनि प्रोत्साहन गरेका हुन्छौं । समर्थन गरेका हुन्छौं ।’ 

कृषा चौलागाईंको निर्देशनमा तयार ‘ऐंचो पैंचो’मा स्वस्तिमा खड्का, वर्षा राउत, सुशील सिटौला, मुकुन भुषाल लगायतको अभिनय छ । 

एमाले नेता भट्टराईले फिल्मको सार्वजनिक गीतले सबैलाई नचाउने विश्वास व्यक्त गरे । आफूहरूले धेरै फिल्म हेर्न नभ्याउने भएपनि पछिल्लो समय केही फिल्महरू हेरेको बताए । उनले अभिनेत्री स्वस्तिमा खड्काको तारिफ गर्दै उनको अभिनय रहेको फिल्म ‘चिसो मान्छे’ हेरेको बताए । 

‘स्वस्तिमाजी सबै खालको भूमिका खेल्न सक्ने कलाकार हुनुहुन्छ । उहाँको फिल्म चिसो मान्छे हेरेको थिएँ’ उनले भने, ‘काठमाडौंमै जन्मिनुभएको मान्छे, विकट बाजुरा कसरी पुग्नुभएको होला भन्ने लागेको थियो । पश्चिमतिरको भाषा बेग्लै खालको हुन्छ त्यो भाषामा पनि उहाँ त्यतिकै जम्नुभएको थियो ।’ 

भट्टराईले अभिनेत्री वर्षा राउतको फिल्म ‘छक्का पञ्जा २’ पनि हेरेको बताए । उनले नेपाली फिल्मलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै गत आर्थिक वर्षको कमाइलाई लिएर खुशी समेत व्यक्त गरे । 

‘छक्का पञ्जाले १७ करोड कमाइ गरेछ । इण्डियन फिल्म उद्योगको तुलनामा यो केही पनि होइन् । नेपाली फिल्म उद्योगमा त्यसले एकदमै राम्रो संकेत गरेको छ । दयाहाङजीको जारीले पनि १७ करोड कमाएछ’ भट्टराईले भने । उनले भदौ १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ऐंचो पैंचो’ हेर्न दर्शकलाई निम्ता समेत गरे । 

बिहीवार सार्वजनिक फिल्मको गीत ‘काले केटाले’मा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्