
‘१४औँ महाधिवेशनदेखि अहिलेसम्म हाम्रो सम्बन्ध प्रगाढ छ । भएकाहरू हाम्रो साथमै रहनुहुन्छ, गुम्नु हुने छैन । १५औँ महाधिवेशनमा थप साथीहरू पनि जोडिनुहुन्छ । अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको हो,’ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबारे महामन्त्री गगन थापाले ३० जेठमा विराटनगर पुगेर गरेको टिप्पणी हो यो ।
‘गगनजी किन आउनुभएन भन्ने कतिपयलाई कौतुहलता होला । रिसाउनुभयो कि के हो भन्ने लागेको होला । कार्यक्रमको टुंगो गगनजी र म बसेरै छलफल गरिएको हो,’ ९ साउनमा वीपी स्मृति सप्ताहको अवसरमा संस्थापनइतर समूहले गरेको कार्यक्रममा गगन नआएपछि शेखरले भनेका थिए, ‘पदाधिकारी बैठकले केन्द्रीय समितिको अन्तिम ड्राफ्टका लागि छलफलमा डाकेकोले नआउनुभएको होला । उहाँको फोन पनि लागिरहेको छैन । अप्ठ्यारो परेर होला । यसलाई अन्यथा लिनुहुन्न ।’
यी १४औं महाधिवेशनमा एउटै टिमबाट सभापति पराजित भएका शेखर र महामन्त्री जितेका गगन थापाले एकअर्काप्रति गरेका टिप्पणी हुन् । दुवैले गरेको एक अर्काप्रतिको टिप्पणीले पनि उनीहरूको आपसी सम्बन्ध दर्शाउँछ । उनीहरूले एक अर्काप्रति खरो र लाञ्छनायुक्त टिप्पणी गरेका छैनन् । सकेसम्म सार्वजनिक टिप्पणीबाट एकअर्कालाई गाली नगर्ने मानसिकता दुवैमा देखिन्छ । तर महाधिवेशन भएको २० महिना हुँदा शेखर–गगन सम्बन्ध भने अपेक्षित राम्रो नरहेको केही प्रतिनिधि घटनाक्रमले देखाउँछ ।

१४औं महाधिवेशनमा शेखरलाई पराजितगरी शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए । ताजा प्रतिस्पर्धाको कारण केही समय देउवा–शेखरको सम्बन्ध हार्दिकतापूर्ण देखिएन । देउवाविरुद्ध उठ्दा ४० प्रतिशत मत ल्याएको दाबीसहित शेखरसमूह पार्टीका हरेक संरचनामा देउवासँग ४० प्रतिशत भागबन्डा माग गर्न थाल्यो । देउवाविरुद्ध शेखर र गगन एउटै लयमा थिए । महाधिवेशन प्रतिनिधिको ४० प्रतिशत हिस्सा आफूहरूलाई प्राप्त भएपछि हरेक संरचनामा यही अनुपातको भागबन्डा पाउनुपर्ने साझा दाबी उनीहरूको थियो । तत्कालीन नतिजालाई मान्नेमा दुवैमा समस्या थिएन । तर, जब टिमको नेता बन्ने र आगामी महाधिवेशनमा सभापतिको सम्भावित उम्मेदवारको विषय आयो, तब दुवै नेता विस्तारै टाढिँदै गएको देखिन्छ ।
शेखरमा एकपटक सभापति भएरै छाड्ने इच्छा मरिसकेको छैन । उमेर ७२ वर्ष भइसकेकोले अब एकपटक मात्रै सभापतिमा दाबी गर्ने ठाउँमा शेखर छन् । यसैले शेखरको नजर १५औं महाधिवेशनमा देखिन्छ । यही मान्यताले महाधिवेशन लगत्तैदेखि समूहको छुट्टै भेला गर्ने र टिमलाई परिपक्व बनाएर लाने रणनीतिमा शेखर देखिएका छन् । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्री उठेर पनि पराजित भएका गगन, शेखर टिमबाट उठ्दा १४औं महाधिवेशनमा महामन्त्री बन्न सफल भए । तर, आफ्नो अत्यधिक लोकप्रियता, युवा नेताद्वय महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहितका नेताको साथपछि नेतृत्वमा पुग्ने हुटहुटी गगनमा बढेको छ ।
यसै हुटहुटी अनुरूप पहिलो चरणमा शेखरको अनिच्छा बाबजुद पनि थापाले ७ महिनाअघि संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरे । तर, सफल भएनन् । संसदीय दलको निर्वाचनमा ८९ सांसदले भोट हाल्दा देउवा ६४ मत ल्याएर विजयी भए । ३२ देखि ३४ सिट भएका शेखर समूहबाट गगनले जम्मा २५ मत मात्रै ल्याए । शेखर नै प्रस्तावक बसे पनि उनको पक्षले भोट नहालेपछि थापा थप असन्तुष्ट बन्न पुगे । वर्तमान गणितले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने गगनको इच्छा पूरा हुने अवस्था छैन ।
कुनै ठूलो विग्रह नआए भाबी नेतृत्वका विषयमा गगनमा चरम महत्वकांक्षा कायमै छ । अर्कोतिर शेखरले पनि रणनीति बदलेका छन् । गगनसँगको आन्तरिक संघर्ष जारी राख्दा देउवासँग पनि दुरी बढाउन नहुने निष्कर्षमा शेखर पुगेका छन् । किनकी देउवाको सबै संरचनामा बलियो पकड छ । कोइरालालाई परास्त गरेर उदाए पनि देउवासँग दुरी बढाएरभन्दा नजिकिँदा फाइदा हुने दाउ शेखरले हेरेका छन् । गगनलाई साइजमा राख्न पनि उनले कतिपय विषयमा देउवासँग हातेमालो गर्न खोजेका छन् ।
शेखरमा देउवाको उत्तराधिकारी हुन्छु भन्ने आशा र लोभ नभएको बताइन्छ । तर, आफैं निकटका कोइरालादेखि रामचन्द्रले पनि साथ नदिएको अवस्था उनले भुलेका छैनन् । यसैले देउवा पक्षको मत पनि आफ्नोतिर तान्ने रणनीति शेखरमा देखिन्छ । आफूविरुद्ध गगन पक्ष आक्रामक भएकोले देउवाले पनि कोइराला विरासतका नेता शेखरलाई नचिढ्याउने नीतिमा छन् । यसैले शेखरलाई २५औं वरीयताबाट वरिष्ठ नेताको हैसियत दिने, केन्द्रीय कार्यालयमा सुविधासम्पन्न कार्यकक्ष दिलाउने काम गरेका छन् ।
कतिपय कार्यक्रममा देउवासँगै देखिने मात्रै होइन शेखरले पटकपटक गुटबन्दीबाट माथि उठ्न नसके समाप्तिको बाटोमा पुगिने बताउने गरेका छन् । जेठको तेस्रो साता डेमेक्रेटिक लयर्स एसोसियसनको महाधिवेशनका भाग लिन देउवा र शेखर एउटै प्लेनमार्फत् चितवन पुगेका थिए । त्यसअघि भक्तपुरको एक कार्यक्रममा पनि देउवा र शेखर सँगै थिए । सामान्यतः एउटै कार्यक्रममा नजाने प्रतिस्पर्धी भावना भएका नेताद्वय एकपछि अर्को कार्यक्रममा सँगै जानु, एक अर्काप्रति नरम हुनुको सन्देश धेरै ठूलो हुनसक्छ । महाधिवेशनलगत्तै देउवाले गगनलाई केही विश्वास गरेर जिम्मेवारी दिने गरेका थिए । तर शेखरसँग सम्बन्ध सुधार हुन थालेपछि गगनसँग दुरी बढाएका छन् । आफूसँग सभापतिले दुरी बढाउने र महामन्त्रीको रूपमा पर्याप्त काम गर्न नदिएपछि थापा चरम असन्तुष्ट छन् । यसैले पनि देउवाले शेखरसँग सम्बन्ध बढाएर गगनलाई साइजमा राख्ने रणनीति बनाएको कांग्रेस नेताहरू नै बताउँछन् ।

शेखर पक्षमा अन्तरविरोध बढ्न थालेका बेला देउवाको एकै आग्रहमा शेखरले समूहको भेला स्थगित गराएका थिए । सरकारमा पठाउने मन्त्रीको विषय गगनहरूले लामो समय अड्काएपछि शेखरले आफू निकटका धनराज गुरुङ, डीगबहादुर लिम्बु र सुरेन्द्रप्रसाद आचार्यलाई पठाएका थिए । तर, युवा नेता प्रदीप पौडेललाई मन्त्री नबनाएपछि थापा थप चिढिएको बताइन्छ ।
कांग्रेसको राजनीतिलाई नजिकबाट हेर्दै आएका शंकर तिवारी पछिल्लो समय केन्द्र र प्रदेशका मन्त्री चयनमा गगनलाई गरिएको उपेक्षा र केन्द्रीय समिति बैठकको परिदृश्यले दुईबीच सम्बन्ध सौहाद्र नदेखिएको संकेत मान्छन् । ‘गगन थापा अझै पनि मिलेर जानुपर्छ भन्नेमा हुनुहुन्छ । आफूसँग स्ट्रेन्थ गुमाउनु हुँदैन किनकी महाधिवेशन आउन अझै तीन वर्ष बाँकी छ भन्नेमा हुनुहुन्छ । यस्तोमा युवा र सिनियर नेता मिल्नुपर्छ भन्ने नै छ,’ तिवारी भन्छन्, ‘तर केन्द्र र बागमतीसहित प्रदेशमा मन्त्री चयनमा महामन्त्रीलाई गरिएको बाइपास, केन्द्रीय समितिको परिदृश्यले पब्लिकमा गगन र शेखरबीच सम्बन्धमा चिसोपन छ भन्ने सन्देश प्रष्टै गएको छ ।’
शेखर र गगनको टिम नै फरक
यसअघि शेखर समूहको भेलामा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार कोइराला नै हुन् भनेका धनराजले फेरि यही अडान दोहार्याएका छन् । ‘मैंले त शेखर कोइरालालाई अघि बढ्नुहोस् भनिसकेको छु । अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्न म चाहन्नँ । तर १५औँ महाधिवेशनमा पार्टी सभापति बदल्ने नै हो । सभापतिमा शेखरलाई स्थापित गर्ने नै हो ।’ यसअघि काठमाडौंमा भएको समूहको भेलामा गुरुङले आफूहरू शेखरकै नामबाट अगाडि बढेको भन्दै १५औं महाधिवेशनमा सभापतिमा उठाउने बताएका थिए ।
शेखरका पक्षमा उपसभापति धनराज मात्रै होइन सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारको पनि गुरुङकैजस्तो मत छ । डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, हृदयराम थानी, भुपेन्द्रजंग शाही र सञ्जय गौतमसहितका नेता पनि शेखरतिरै देखिन्छन् । शशांकको प्रष्ट धार नभएको र सुजातालाई स्वास्थ्यले साथ नदिएपछि शेखरले अझै पनि कोइराला विरासत थाम्ने आशा धेरैमा देखिन्छ ।
यता गगन थापा भने युवा विचार समूहका नेताको रूपमा आफूलाई उभ्याउँदै आएका छन् । उनलाई महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेलको मुख्य साथ छ । त्यस्तै अर्जुननरसिंह केसी, जगदीश्वरनरसिंह केसी, अजयबाबु सिवाकोटीसहितका नेताको साथ गगनलाई देखिन्छ । लोकप्रियताको कारण एक दिन पार्टीको फर्स्ट म्यान गगन बन्न सक्ने आशामा उनलाई साथ दिन तयार रहने थुप्रै नेता रहेको बताइन्छ ।
केन्द्रीय समिति बैठकमा गगनलाई शेखर समूहकै नेताले दिएनन् साथ
२ देखि १० साउनसम्म चलेको केन्द्रीय समिति बैठकमा शेखर पक्षका सांसदले गगनको मुद्दामा साथ नै दिएनन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने गगनको अडानमा शेखर पक्षका केन्द्रीय सदस्यले खुलेर मत राखेनन् । बरु शेखरले संयमित राजनीति गरेको भन्दै देउवा पक्षका रामहरि खतिवडासहित नेताबाट प्रसंशा नै पाए । देउवा समूहका हर्ताकर्ताले शेखरको प्रसंशा गर्ने तर, महामन्त्रीविरुद्ध आलोचना गर्ने क्रम चलेको थियो । शेखरले पनि नेतृत्वको आलोचनामा समय खर्चिएनन् यसले पनि गगन पक्षलाई झस्काएको बताइन्छ ।
यतिमात्रै होइन २ गते केन्द्रीय समितिको बैठक हुनुअघि के एजेण्डामा प्रस्तुत हुने भनेर शेखर र गगनले छलफल पनि गरेनन् । ‘यसअघि सभापतिविरुद्ध कसरी प्रस्तुत हुने भनेर केही दिन अगाडिदेखि छलफल हुन्थ्यो तर, एक वर्षमा बस्न लागेको बैठकअघि शेखर र गगनबीच एजेन्डाबारे सामान्य छलफल पनि भएन,’ एक नेता भन्छन्, ‘जबकि शेखरलाई कुनै बेला सभापतिलाई भेट्न जान पनि टाइम थिएन । अहिले केन्द्रदेखि प्रदेशसम्म उहाँले भनेका मान्छे मन्त्री भएका छन् । उहाँलाई वरिष्ठ नेता बनाइएको छ । केन्द्रीय कार्यालयमा व्यवस्थित कार्यकक्ष दिइएको छ । तर यसैका लागि लड्ने नेतालाई नजरअन्दाज गर्न खोजिएको यो राम्रो संकेत होइन ।’
एउटै बाटो समात्दा दुवैको हित
कांग्रेस र शेखर कोइरालालाई नजिकबाट बुझेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य उमेर, पृष्ठभूमि र विरासत फरकफरक भएकोले पनि शेखर र गगनबीच केही स्वाभाविक अन्तर देखिएको बताउँछन् ।
‘राजनीतिमा उमेर, पृष्ठभूमि, पारिवारिक विरासतले पनि धेरै कुरामा फरक पार्छ । यी दुई नेताबीचको सबै पृष्ठभूमि फरक छ,’ आचार्य भन्छन्, ‘शेखर पारिवारिक र परम्पराबाट राजनीतिमा उदाए । यसैले सबैलाई मिलाएर जाऊँ भन्ने मान्यता देखिन्छ । गगन सडकबाट उदाए । यसैले उनमा ज्यादा परिवर्तनको हुटहुटी देखिन्छ । यी दुवै फरक अवस्थालाई मिलाएर लान सक्दा दुवैको हित हुन्छ ।’
मिलेर नजाँदा दुवैले क्षति बेहोनुपर्ने उनी बताउँछन् । ‘राजनीतिमा विभिन्न घटना घट्छन् । नेपालको राजनीतिमा पनि दुई जनालाई भिडाउन पाए आफूहरूको उद्देश्य पूरा हुन्थ्यो भन्ने सोचाइ धेरैमा देखिन्छ । शेखरसँग गगनलाई परास्त गरेर जानुपर्छ भन्ने पनि होलान् । शेखरविरुद्ध लाग्नुपर्छ भनेर गगनलाई उक्साउने स्वार्थी समूह पनि होलान्,’ आचार्य भन्छन्, ‘दुवैको मध्यमार्गी नेता हुन् । यसैले परम्पराको राजनीति गर्ने शेखर र परिवर्तनको राजनीति शेखरको अनावश्यक द्वन्द्वले दुवैलाई हानी गर्छ । यसैले पृथक होइन एउटै बाटो समात्दा मात्रै दुवैको हित हुने देखिन्छ ।’
दुवैमा फरक उमेर समूहका मानिसलाई सँगै लिएर अगाडि बढ्ने अभ्यास नभएकोले केही समस्या देखिएको आचार्य बताउँछन् ।
गगनले एकातिर आफूलाई युवा विचारधाराका नेताको रूपमा प्रस्तुत गरिरहेका छन् । देशभर अभियान चलाउने घोषणा उनले केही समय अगाडि नै गरेका थिए । तर, थापाभन्दा पनि अगाडि गुरुराज घिमिरेहरूले देशव्यापी अभियान चलाए । नेता गुरुराज घिमिरे पनि पार्टीप्रति भरोसा र विश्वास दिलाउन पनि शेखर र गगनसहितका युवा नेता मिलेर अगाडि बढ्नुपर्ने बताउँछन् । ‘नागरिकमा देखिएको चरम वितृष्णाविरुद्ध केही न केही सकारात्मक कदम चाल्न आवश्यक । आपसमा नै विवाद र गुटबन्दी गरेर अगाडि जाने हो भने कसैको पनि हितमा छैन,’ घिमिरे भन्छन्, ‘साँँच्चै नागरिकप्रति र पार्टीप्रति सम्वेदनशील हुने हो भने फरकफरक हिँडेर काम छैन । विचार मिल्नेहरू एउटै मोर्चा बनाएर अगाडि बढ्नुपर्छ ।’