२८ असार २०८३, आइतबार
हाई-प्रोफाइल ठगी धन्दा

नक्कली शरणार्थी प्रकरण– प्रहरीले कसरी खोल्दैछ दोस्रो चरणको फाइल ?

साउन ३१, २०८०
काठमाडौं
नक्कली शरणार्थी प्रकरण– प्रहरीले कसरी खोल्दैछ दोस्रो चरणको फाइल ?
फाइल फोटो

नक्कली भुटानी शरणार्थी प्रकरणका केही फरार अभियुक्तहरू पक्राउ पर्नै बाँकी रहेका बेला दोस्रो चरणको अनुसन्धानका लागि मार्ग प्रशस्त हुने गरी अर्को जाहेरी पनि परेको छ ।

सोमवार (साउन २९ गते) अपराध अनुसन्धान कार्यालय काठमाडौंमा थप १८ जना पीडितले जाहेरी दिएका हुन् । 

आफूहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै १ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगेको दाबीसहित लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन र काठमाडौंका पीडितले किटानी जाहेरी दिएका हुन् । 

उनीहरूले सानु भण्डारी, केशव दुलाललगायतले आफूहरूलाई प्रलोभनमा पारेर ठगेको भन्दै जाहेरी दिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

कार्यालयले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । यसभन्दा अगाडि पनि अपराध अनुसन्धान कार्यालयमा जाहेरी परेपछि परिसरसँग मिलेर संयुक्त अनुसन्धान गरिएको थियो । 

प्रहरीले दोस्रो चरणको अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।

पहिलो चरणको अनुसन्धान सकिएलगत्तै दोस्रो चरणको अनुसन्धानका लागि बेचन झालगायतका व्यक्तिहरूलाई प्रहरीले अनुसन्धानको दायरामा राखेको छ ।

‘पहिलो चरणमा जति व्यक्तिहरू पक्राउ परे, त्यतिले पुग्ने अवस्था नभएर दोस्रो चरणको अनुसन्धानका लागि केही व्यक्तिलाई प्रतिवादी बनाइएको थिएन,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने ।

त्यो समयमा प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने प्रमाणले पुष्टि भएका सबैलाई प्रतिवादी बनाइएको बताएका थिए । 

प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

केही व्यक्तिहरू अनुसन्धानको राडारमा छन् । उनीहरूलाई पक्राउ गर्नेबित्तकै समयको सुई अगाडि बढ्ने भएकाले थप प्रमाण र अभियुक्तहरूको खोजीपछि मात्र निगरानीमा भएका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्ने उनले बताए । 

‘थोरै व्यक्तिलाई मात्रै पक्राउ गर्ने हो भने पनि अनुसन्धानको समयसीमा शुरू भइहाल्छ, अझै थप प्रमाण र अभियुक्त पहिचान गरेर पक्राउ गर्दा राम्रो होला नि,’ एसएसपी कार्कीले लोकान्तरसँग भने, ‘जाहेरी पनि आएको छ, त्यसमा पनि उनै व्यक्तिलाई प्रतिवादी बनाइएको छ भने धेरै नयाँ प्रमाण भेटिने भन्ने पनि भएन ।’

प्रहरीलाई दोस्रो चरणको अनुसन्धानका लागि शक्ति राष्ट्रहरूबाट पनि दबाब आएको अधिकारीहरूको दाबी छ । प्रहरी उच्च अधिकारीहरूले यो विषयमा नेपालको मात्रै नभएर अमेरिकाको पनि समेत प्रतिष्ठा जोडिएकाले दबाब आइरहेको बताए ।

पहिलो चरणमा ३० जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

पक्राउ परेका १८ र फरार १२ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

पुर्पक्षका लागि कारागार चलान हुनेमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणका अलावा पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे छन् ।

यसैगरी गिरोहका योजनाकार तथा सदस्यहरू सानु भण्डारी, रामशरण केसी, गोविन्द चौधरी, इन्द्रजीत राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, हरिभक्त महर्जन, केशव दुलाल र सागर राई पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

अन्य २ जना धरौटीमा रिहा भएका थिए । टंक गुरुङलाई १० लाख तथा लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले असार १ गते गरेको थिए ।

यस प्रकरणमा २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ ठगी गरेको भनी मुद्दा दायर भए पनि अहिले जाहेरी थपिएकाले बिगो रकम पनि थपिने देखिएको छ ।

अहिले टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, सन्दीप रायमाझीलगायतका अभियुक्तहरूले केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् । सन्दीप भण्डारी र केशवप्रसाद दुलाललाई भने नख्खु कारागारमा राखिएको छ ।

कहाँ छन् बादलका छोरा प्रतीक ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका हाइ-प्रोफाइलमध्ये सर्वाधिक खोजीको सूचीमा रहेका व्यक्ति हुन्, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा ।

प्रहरीले वैशाखमा मुद्दा उठान गरेदेखि नै प्रतीक फरार छन् । प्रहरीले उनलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको छ, तर अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

स्रोतलाई आधार मान्ने हो भने उनी अहिले भारतमा लुकेर बसेका छन् । अमेरिका गएका भुटानी शरणार्थीहरूको पनि अनुसन्धान भइरहेको प्रहरीका उच्च अधिकारीहरू दाबी गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्