मंसिर ८, २०८०
‘मंसिर ७ पछि के हुन्छ ?’ दशैंतिहारमा गाउँबाट शहर फर्केकादेखि विदेश बस्ने चिनजानका साथीसम्मले प्रश्न गरेपछि मात्र मलाई दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न लागेको थाहा पाएको थिएँ । प्रश्...
काठमाडाैं | असोज १४, २०८०
असोज ३ गते संविधान दिवसका दिन पुराना दलहरू राजधानी काठमाडौं र शहरका कार्यक्रममा व्यस्त हुँदै गर्दा गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने रोल्पाको थवाङ पुगेका थिए ।
माओवादीको परम्परागत आधारइलाका पुगेपछि रविले आधाघण्टा लामो फेसबूक लाइभमा आफ्नो पार्टी किन अस्तित्वमा आयो भनेर व्याख्या गरे ।
गएको निर्वाचनमा शहरी मतदातामा प्रभाव पारेर अप्रत्याशित रूपमा २० (पछि थप १) सीटमा जीत हात पार्दै रविको रास्वपा चौथो ठूलो शक्तिका रूपमा उदायो । तर, रवि र रास्वपाको हुटहुटी यही चौथो दलमा सीमित हुनेमा देखिएको छैन ।
गत मंसिरको भन्दा वैशाखको उपनिर्वाचनमा प्रभाव बढाएको रास्वपा अब दलहरूका परम्परागत किल्लातर्फ केन्द्रित हुन थालेकोछ । यसै प्रयास स्वरूप रास्वपाले अब कांग्रेस, एमाले र माओवादीका आधार इलाकातर्फ पार्टीका अभियान केन्द्रित गर्न थालेको हो ।
‘हामी जनतासँग जोडिने अभियानमा छौं । क्रान्ति रातो मात्रै हुन्छ भन्ने सुनेका र देखेकाका लागि क्रान्ति निलो पनि हुन्छ (आफैंले लगाएको निलो कुर्ता देखाउँदै) र परिवर्तन ब्यालेट बक्सबाट पनि हुन्छ भन्ने देखाउन चाहन्छौं,’ रविले फेसबूक स्टाटसमा लेखेका थिए, ‘हामी आएको एक वर्ष भयो । एकपटक हामी प्रयास गर्न चाहन्छौं । निर्वाचनअगाडि ६ महिनामात्रैको समय थियो । म एक मात्रै छ भनेका थिए । तर हामी थुप्रै छौं, म यस्तो धागो बन्न चाहन्छु, जसले चिनिएका फूलहरूको थुंगाा जोडेर माला बन्न सकोस् भन्ने चाहना हो ।’
माओवादीको आधार इलाका रोल्पामा प्रथम चरणको ‘जनआवाज सुन्ने कार्यक्रम’अन्तर्गत पुगेका रवि त्यसपछि झन् उत्साही देखिएका छन् ।
रोल्पाबाट फर्किएपछि रविले गत असोज ११ गते शुक्रवार लेखेको फेसबूक स्टाटस त परम्परागत दलहरूलाई झस्काउने खालको थियो ।
‘४/४ वर्ष बाँकी छ, गर्नुस्, काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरूलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४/४ वर्ष छ,’ रविले लेखेका थिए, ‘गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर ! कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।’
रविले दलहरूलाई अझै चार वर्ष भएको भन्दै त्यसपछि आफूहरूको बेगलाई अब कसैले रोक्न नसक्ने सन्देश दिएका छन् । ‘सम्पूर्ण पुराना दलहरूलाई अपिल । देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईंहरू सबै मिल्नुस्,’ रविले लेखेका थिए, ‘देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसर सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने वा बचाउने हो, त्यो तपाईंहरूको जिम्मा ।’
२०८४ को चुनावलाई आफूहरूले मिसन बनाए पनि परम्परागत दलले यो नारा चोर्नु असुहाउँदो रहेको उनको जिकिर छ । ‘मिसन ८४ भनेर तपाईंहरूले भनेको त फिटिक्कै सुहाएन । तपाईंका लागि त मिसन ८० नै छ त ! मिसन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त ! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला,’ रविले लेखेका थिए, ‘अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामीजस्ता नयाँ, लोकरिझ्याइँवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस् ।’
यसअघि पनि रवि आउँदो चुनावमा बहुमत ल्याउने विषयलाई उत्साहपूर्वक सुनाउँथे । तर माओवादीको उद्गम थलो रोल्पा पुगेर आफ्नो दलप्रति पाएको विश्वासपछि रवि झनै उत्साही भएको बताइन्छ । यही उत्साहपछि रविले अब सके तिमी चार वर्षमा सुध्र नभए ८४ को चुनाव आफूहरूका लागि हो भनेर खुला चेतावनी दिएका छन् ।
रविमात्रै होइन, उपसभापति डोलप्रसाद अर्याल पर्सा, प्रवक्ता डा. मुकुल ढकाल कालिकोट, विराजभक्त श्रेष्ठ बैतडी, सन्तोष परियार कपिलवस्तु पुगेका थिए । अरू केन्द्रीय नेता पनि विभिन्न जिल्लाको अभियानमा निस्किएर पार्टीलाई यस्तै उत्साहपूर्ण रिपोर्ट गरेको बताइन्छ ।
यो अभियानपछि भने रास्वपाले आफ्नो दलबीच शहरीमात्रै होइन, ग्रामीण र दुर्गम भेगमा समेत आकर्षण बढेको आन्तरिक हिसाब निकालेको छ ।
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की छोटो समयको तयारीमै गत निर्वाचनमा होमिँदा शहरमा मात्र उत्साह देखिए पनि अहिले गाउँकेन्द्रित अभियान पनि उत्साहपूर्ण र आकर्षण देखिएको बताउँछन् ।
‘गत निर्वाचनमा हामी छोटो तयारीबीच निर्वाचनमा जाँदा २० सिट जित्न सफल भएका थियौं । उपनिर्वाचनसम्म आइपुग्दा त हाम्रो बेग झनै बढेको छ । यसैले हामीप्रतिको दृष्टिकोण कस्तो छ भनेर बुझ्न हामी गाउँ–गाउँसम्मै पुगेका हौं,’ कार्कीले लोकान्तरसँग भने, ‘छोटो समय पनि भए पनि अब हामीप्रति आकर्षण एकदमै बढेको पाएका छौं । पुरानाबाट वाक्क भएपछि र हामीले नागरिक सरोकारका विषयलाई इमान्दार भएर उठाएपछि हामीप्रति झन् विश्वास बढेको पाएका छौं । अझै धेरै जनतासँग जोडिँदा झन् माया पाउँछौ भन्नेमा छौं ।’
नयाँ दलका रूपमा रास्वपामा उत्साह हुँदै गर्दा परम्परागत दलमा गम्भीर चिन्ता थपिएको छ । केही दिनअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा अर्जुननरसिंह केसीले त पार्टी कब्जा गर्न होड चलिरहँदा जनता भने अर्कैले कब्जा गरिसकेको बताएका थिए ।
‘हामी पार्टी कब्जाको दौडमा छौं । सभापति आफ्नो ढंगले लाग्नुभएको होला, हामी आफ्नो ढंगले लागेका छौं । आ–आफनो ढंगले हामी पार्टी कब्जा गर्दैछौं । तर जनता अरूले नै कब्जा गर्न थाले,’ केसीले भनेका थिए, ‘हामीसँग असन्तुष्टि भएपछि जनतले विकल्प खोज्न थालिसके । मधेश, पहाड, हिमाल, जाति, जनजाति सबैतिर यस्तो अवस्था छ ।’
घर–घरका नागरिकसँग दलीय साइनोले जोडिएकै जिम्मेवार दलका नेताबाट यस्तो गम्भीर प्रतिक्रिया आउनुले ०८४ को चुनाव कति पेचिलो छ भन्ने देखाउँछ ।
माओवादीको आधार इलाका रोल्पामा नवोदयी दलका सभापति रविले एक साता गुजारेपछि यी घटकमा बेचैनी छाएको बताइन्छ ।
रविलाई रोक्नेसम्मको प्रयास असफल भएको भन्दै कम्युनिस्ट पार्टीहरू नमिले अर्को चुनावमा रविलाई रोक्न कठिन हुने हिसाब उनीहरूले निकालेका छन् ।
‘रवि रोल्पा आउँदैछन् भन्ने भएपछि हामीले योजना बनाएर उनलाई रोक्न खोजे पनि सम्भव भएन । क्रान्तिको आधार इलाकामा उनी आएरै छोडे,’ माओवादी घटकको समीक्षा बैठकमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदीले भनेका थिए, ‘रविलाई थवाङ पनि पुर्याइछाडे । अब पनि कम्युनिस्टहरू मिलेर लड्न नसके उसलाई रोक्न सकिँदैन । देश नै रविको हातमा जान्छ ।’
अब परीक्षण हुन बाँकी विप्लव रहेको भन्दै उनले उनेलाई नेता मानेर अगाडि बढ्नुपर्ने बताए । बाबु माओवादीमा भए पनि छोरा सन्तोष भने विप्वल नेतृत्वको नेकपामा आबद्ध छन् ।
ठूला दलका रूपमा कांग्रेस, माओवादीसहितका दलले सरकार चलाइरहेका छन् । तर बेथिति, विकृति, अराजकता झन् बढेको भन्दै परम्परागत दलकै नेता चिन्तित हुने र नयाँ दलका नेताप्रति उत्साह थपिने क्रम बढेको हो ।
‘सिंहदरबार जलाउँदा लाखौंको समर्थन आउँछ । हाम्रो नेतालाई खुकुरी हान्दा लाखौंको समर्थन आउने अवस्था छ । देश अराजकतातिर जाँदैछ । यस्तोमा कांग्रेस सचेत हुनुपर्छ,’ नेता अर्जुन नरसिंह केसीले भनेका छन्, ‘सम्पूर्ण रूपले गम्भीर नभए झन् ठूलो समस्या आउँछ ।’
सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, बालुवाटार जग्गा प्रकरणजस्ता विषयमा प्रभावशाली नेतालाई अनुसन्धानको दायरामा ल्याएर केही सकारात्मक सन्देश पनि नदिएको होइन, तर नागरिकमा सरकारप्रति सहानुभूति र आशा देखिएको छैन ।
कांग्रेस मात्रै होइन, दोस्रो ठूलो दल एमाले पनि उत्तिकै चिन्तित देखिएको छ । कोशी प्रदेश एमालेको अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा पनि एमालेप्रति आकर्षण घटेको र रास्वपाप्रति बढेको विषय उल्लेख छ । बलिया दलहरू यस्तो भन्नुपर्ने अवस्थामा पुग्नुले अवस्था सोचनीय भएको राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउँछन् ।
‘वर्षौंसम्म परम्परागत दललाई हेरे पनि नागरिकले मोहभंग गर्दैछन् भन्ने गएका चुनाव र उपचुनावले देखाइसके । रास्वपा अबका ४ वर्षमा कति रणनीतिक हुन्छ, त्यसमा धेरै कुरा निर्भर हुन्छ,’ पोखरेल भन्छन्, ‘सत्तारुढ दलले यो बीचमा कार्यसम्पादन राम्रो बनाएर केही आशा र उत्साह जगाउन सक्ने बाटो अझै छ । तर नागरिकले परसम्मको होइन, तत्कालको अवस्था र बाटो हेर्ने गर्छन् ।’
तर रास्वपा पनि चुनौतीरहित भने छैन । निर्वाचनलगत्तै सरकारमा गएर रास्वपाले आफूलाई पनि परम्परागत शैलीकै कित्तामा उभ्याउने संकेत दिएको थियो ।
नागरिकता प्रकरणमा सभापति रवि लामिछानेको सांसद र मन्त्री पद नै गएपछि भने रास्वपाले सरकारमा होइन, प्रतिपक्षमा बसेर दबाब बढाउने नीति लिएको छ ।
‘बदल्नका लागि बाहिर होइन सरकारमै बसेर मात्रै काम गर्न सकिन्छ भन्नेमा पुगेर हामी सरकारमा गएका हौं,’ रास्वपाको अर्का एक नेता भन्छन्, ‘तर हामी १० पुसपछि जति सरकारमा बस्यौं, त्यो ठूलो पाठ भयो । अब ०८४ को चुनावअगाडि सरकारमा गए हामी पनि परम्परागत दलमा भासिन्छौं । होइन, सबै सुधारका काम गर्छौं भनेर चुनावमा गए आगामी चुनाव हाम्रो र देशका लागि वरदान सावित हुन्छ ।’
सरकारबाट टाढै बस्न सुझाव
आफूहरूप्रति देखिएको आकर्षणमा उत्साही भएर बस्ने मात्रै होइन, झन् बढी जिम्मेवार भएर अगाडि बढ्ने तयारीमा आफूहरू रहेको रास्वपा नेताहरू बताउँछन् ।
‘हामीले नागरिकमा परिवर्तन सम्भव छ भन्ने देखाएका छौं । अझै उर्जाशील भएर प्रस्तुत हुँदा नागरिकका लागि धेरै काम गर्न सकिन्छ भन्नेमा छौं,’ केन्द्रीय सदस्य कार्की भन्छन्, ‘गाउँ–गाउँमा अभियानपछि अब हामी विषयविज्ञ र सरोकारवालाहरूसँग तीनदिने ‘नीति विचार मन्थन’ कार्यक्रममार्फत जोडिन्छौं ।’
गत निर्वाचनपछि हतारिएर सरकारमा गएको रास्वपालाई प्रतिपक्षमा बसेर अर्को चुनावको तयारी गर्न धेरै सुझाव आएको बताइन्छ । केन्द्रीय सदस्य कार्की पनि संसद्मा प्रभावकारी उपस्थिति र अर्को चुनावबाट ठूलो दलको रूपमा आउन रास्वपालाई सन्देश भएको बताउँछन् ।
‘सरकारमा गएर ढाकढुक भएर काम गर्नुपर्छ भन्ने सानो समूह नभएको होइन, तर अहिले संसद्मा उपस्थिति दरो बनाएर जिम्मेवार प्रतिपक्षी हुँदा चार वर्षपछिको निर्वाचनमा मुख्य दल सकिन्छन् भन्ने धेरैको राय छ,’ कार्की भन्छन्, ‘हामी अरू दलले जसरी भोट दिएकै भरमा पार्टी कार्यकर्ता बनाउनुपर्छ भन्ने मान्यता राख्दैनौं । दबाब र प्रभावभन्दा नागरिकले मुद्दा उठाएकै आधारमा हामीप्रतिको दृष्टिकोण प्रस्ट पारुन् भन्ने चाहन्छौं ।’
‘मंसिर ७ पछि के हुन्छ ?’ दशैंतिहारमा गाउँबाट शहर फर्केकादेखि विदेश बस्ने चिनजानका साथीसम्मले प्रश्न गरेपछि मात्र मलाई दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न लागेको थाहा पाएको थिएँ । प्रश्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली समाजमा यसको पक्ष र विपक्षलाई लिएर बहस भइरहेको छ । कतिले टिकटकले सामाजिक सद्भाव र एकतामा खलल पुर्याएको भन्ने स...
यसअघि पनि थुप्रैपटक दशैंतिहार र छठपछि केही न केही राजनीतिक उथलपुथल भएको इतिहास छ । यसै मेसोमा यसपटक पनि चाडबाडपछि अहिलेको सत्ता समीकरण फेरिनेसम्मको चर्चा भएको थियो । तर, चाडबाड अगाडि आकलन गरिएजस्तो परिस्...
असल सामाजिक मूल्य मान्यता, सुसंस्कृत भाषा, सांस्कृतिक आचरणले मात्र सभ्य समाज निर्माण गर्न सक्छ । तर, पछिल्लो समय कथित लोकप्रियताका नाममा बग्रेल्ती देखिएका अभियन्ताबाट हुँदै आएका क्रियाकलापले हाम्रो सामाजिक मूल्य मा...
मंगलवार सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकको एजेण्डालाई लिएर अहिले चौतर्फी बहस भइरहेको छ । ‘१२ बुँदे सम्झौता पक्षीय’ नेताहरूको निर्णय र निष्कर्ष थियो, ‘गणतन्त्रमाथि भएको प्रहारवि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...