चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवल | कात्तिक ५, २०८०
हिन्दू नेपालीहरूको ठूलो पर्व बडादशैं अहिले चलिरहेको छ । आजभोलि दशैं/तिहारको लामो बिदामा परिवारसहित घुम्न निस्किने संस्कार विकास हुँदै गएको छ ।
तपाईंले पनि दशैं/तिहारको बिदामा घुमफिरको योजना बनाउनुभएको छ कि ? बालबालिकाहरूको बिदा र खुमफिरका लागि मौसम पनि अनुकूल हुने भएकाले दशैं र तिहारको बीचमा धेरै पर्यटकीय क्षेत्रहरू भरिभराउ हुन्छन्, त्यसकारण आफू कुन गन्तव्यमा जान खोजेको हो, त्यसलाई योजनामा राखेर सोहीअनुसार तयारी गर्नु उपयुक्त हुन्छ ।
दशैंको ‘टुर’ मा निस्किँदा सकेसम्म स–परिवार निस्किनु राम्रो हुन्छ, किनभने वर्षमा एकपटक परिवारलाई घुमाउँदा आत्मीयता वृद्धि हुन्छ ।
जागिरे र व्यापार गर्नेहरूका लागि पनि अन्य समयमा परिवारसँग घुम्न समय नहुन सक्छ । त्यसकारण यो उपयुक्त समय हो ।
लुम्बिनी प्रदेशमा पनि पर्याप्त पर्यटकीय क्षेत्रहरू छन् । सडक यातायातको राम्रो सञ्जाल भएको यस प्रदेश जहाँ एक सातासम्म रमाइलो घुमफिर गरी आनन्द लिन सकिन्छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा घुम्नलायक क्षेत्र छन्, त्यसमध्ये १० वटा ठाउँमा पुगेपछि भरपूर मनोरञ्जन लिन र नयाँ–नयाँ कुराहरू सिक्न पाइन्छ ।
पर्यटन क्षेत्रका जानकार युवराज कंडेलले लुम्बिनी प्रदेशमा १०० भन्दा बढी क्षेत्र पर्यटकका लागि घुमफिर गर्ने खालका रहेको बताए ।
हेर्नुहोस्, केही मुख्य क्षेत्रहरू :
लुम्बिनी, केबलकार र फूलबारी
रूपन्देहीको बुटवलमा योपटक नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । यसै वर्षदेखि बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर जोड्ने लुम्बिनी केबलकार सञ्चालनमा आएको छ । चिसो मौसममा कामाख्या मन्दिर दर्शन गर्दै बुटवल बजारलाई नियाल्न सकिन्छ ।
गएको असारदेखि सञ्चालनमा आएको केबलकार लुम्बिनी प्रदेशकै एकमात्र केबलकार हो । लुम्बिनी केबलकार प्रालिका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैँजुले पर्यटकलाई लक्षित गरेर दशैँतिहारभर ४० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिए ।
केबलकार चढेर झरेपछि बुटवलकै काखमा रहेको बुटवल फूलबारीमा धेरै घुमफिर गर्ने ठाउँ छन् । बालबालिकाहरूका लागि सानो चिडियाखानासहितको फूलबारीमा विभिन्न रमणीय क्षेत्रहरू रहेका छन् । आन्तरिक र बाह्य पर्यटकीय गन्तव्य फूलबारीमा वार्षिक ३ लाख पर्यटकहरू आउने गर्छन् ।
फूलबारी घुमेपछि ४० किलोमिटरको दूरीमा रहेको विश्वकै बौद्ध धर्माबलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी पुग्न सकिन्छ । भैरहवाको काखमा रहेको देशको दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हेर्दै ‘फोर लेन’को बाटोबाट लुम्बिनी पुग्न सकिन्छ ।
लुम्बिनीमा मायादेवी मन्दिर मुख्य आकर्षणकोे केन्द्र हो । जहाँ बुद्धको पाइला देख्न पाइन्छ । धार्मिक पर्यटनको दृष्टिले नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रहेको लुम्बिनीको नामले यस प्रदेशको नामकरण गरिएको छ ।
दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने लुम्बिनी परिसरमा दर्जनौं घुम्नलायक बौद्ध गुम्बा तथा मन्दिर, तालतलैया तथा नहरमा बोटिङको व्यवस्था पनि गरिएको छ । यहाँ अखण्ड लुम्बिनी दीप प्रज्ज्वलन गरिन्छ ।
लुम्बिनी घुम्न यो मौसम उपयुक्त छ । अन्य समयमा लुम्बिनीमा गर्मीले गर्दा गाह्रो हुन्छ । लुम्बिनीमा पर्यटकहरूलाई सुविधाका लागि सुविधासम्पन्न होटल भएको हुँदा बस्नका लागि कुनै समस्या छैन ।
यहाँ ‘स्टार’ होटल, मध्यम र साना होटल तथा रेस्टुरेन्टहरू पनि छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुल
जैविक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज लुम्बिनीको अर्को प्रमुख पर्यटकीय गन्तव्य हो । बर्दियाको ठाकुरद्वारामा रहेको यो राष्ट्रिय निकुञ्ज करिब ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
यो निकुञ्जले जो कोहीलाई पनि लोभ्याउने गर्छ । बर्दियामा अधिकांश पर्यटक यहाँको संस्कृति, जैविक विविधतालगायत विश्वकै लोपोन्मुख पाटेबाघ, गैंडा, हात्ती, अजिंगर, चरा प्रजाति अनि वनस्पति अवलोकन र अध्ययनका लागि पुग्ने गर्छन् ।
निकुञ्जको पर्यटकीय गन्तव्यलगायत त्यहाँको पर्यापर्यटन आर्थिक समृद्धिको आधार पनि बनेको छ । निकुञ्जभित्र अवस्थित सुन्दर बबई उपत्यका देशकै अनुपम गन्तव्यका रूपमा परिचित छ । कर्णाली नदी र्याफ्टिङका लागि उपयुक्त गन्तव्य हो ।
बर्दियामा नेपालकै लामो गेरुवा (कर्णाली) पुल तथा एसियामै उत्कृष्ट कर्णाली पुल पर्यटकको आकर्षणको रूपमा अवलोकन गर्न सकिन्छ । कर्णाली पुल लुम्बिनी प्रदेशको अन्तिम सिमाना पनि हो ।
बागेश्वरी मन्दिर र बाँके राष्ट्रिय निकुञ्ज
पश्चिम क्षेत्रकै प्रमुख धार्मिक तीर्थस्थलमध्ये पर्छ, बागेश्वरी मन्दिर । यो मन्दिर दर्शन गर्न पुग्दा हिन्दू र मुस्लिम समुदाय मिलेर बसेको नेपालगञ्जको संस्कृतिलाई पनि बुझ्न सकिन्छ । त्यस्तै बाँके जिल्लामा पर्ने राष्ट्रिय निकुञ्ज पनि पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।
मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । नेपालगञ्जदेखि २० किलोमिटर टाढा पूर्व—पश्चिम राजमार्गको छेउमै अवस्थित छ ।
कोहलपुरबाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो निकुञ्ज पाटेबाघको मुख्य क्रिडास्थलका रूपमा समेत परिचित छ । त्यस्तै बाँके निकुञ्जमा हात्ती सफारी गर्न सहज छ । हात्ती चढेर बाघ हेर्न त्यहाँ पर्यटकहरू पुग्ने गर्छन् ।
निकुञ्जको मनमोहक प्राकृतिक छटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत होमस्टेले निकुञ्जको शोभा बढाएको छ । बाघको संख्या बढ्दै गएपछि पर्यटकको संख्या पनि बढ्दै गएको छ ।
नेपालगञ्ज विमानस्थलबाट पनि यो निकुञ्जनजिकै छ । बस्नका लागि यहाँ थारू होमस्टेदेखि सबै तहका होटल पनि रहेका छन् ।
हिमाली फापरको रोटी, कोदोको ढिँडो र सिमीको दाल तथा थारू समुदायको सिद्रा, ढिक्री, घोंघी, गंगटा, परेवाको मासु, झिंगे माछा, अनदीको रोटी, फुलौरी त्यहाँका होमस्टेले पस्किँदै आएका छन् ।
स्वर्गद्वारी
प्यूठान सदरमुकाम खलंगाबाट पश्चिमतर्फ २६ किलोमिटर यात्राबाट प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्न सकिन्छ । परापूर्व कालमा पाण्डवहरू स्वर्ग जाँदा प्रयोग गरेको बाटो (द्वार) भएकाले यसको नाम स्वर्गद्वारी रहेको मान्यता छ । स्वर्गद्वारी नेपालका प्राचीन मन्दिरमध्येको एक हो । विभिन्न देवीदेवताका मन्दिर रहेको स्वर्गद्वारी साँच्चिकै स्वर्गजस्तै छ ।
पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा स्वर्गद्वारीमा ऐतिहासिक अग्नि खण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई र महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि स्वगद्वारी अत्यन्त उपयुक्त गन्तव्य हो । स्वर्गद्वारीमा विभिन्न देशबाट पर्यटकहरू आउने गर्दछन् । पर्यटकको भीडभाड भइरहने यो पवित्रस्थलको अवलोकन गर्नु पनि दशैँ बिदाका लागि विशेष अवसर हुनसक्छ ।
प्रेमको प्रतीक रानीमहल र भैरवस्थान
पाल्पामा दुई पर्यटकीय क्षेत्रमा घुमफिरका लागि अनुकूल छन् । धार्मिकस्थल भैरवस्थित मन्दिर र पर्यटकीय स्थल रानीमहल पाल्पाका पर्यटकले छुटाउन नहुने क्षेत्र हुन् । रानीमहल पाल्पाको तानसेन नगरपालिकास्थित कालीगण्डकी नदीको किनारामा अवस्थित छ ।
प्रेमको प्रतीकका रूपमा चिनिने रानीमहल वि.सं. १९५० सालमा पाल्पा गौँडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका थिए ।
प्रेमिकाको सम्झनामा निर्माण गरिएकाले यसलाई नेपालको ताजमहल पनि भनिन्छ । यहाँ तानसेनबाट १३ किलोमिटरको दूरीमा कालीगण्डकी करिडोरको नजिकै पर्छ । कालीगण्डकी नदीमा विशाल चट्टानमाथि निर्माण गरिएको छ ।
प्रणय दिवसमा रानीमहलमा युवा युवतीको ठूलो भीड लाग्ने गर्छ । युनानी शैलीमा बनाएको दरबार साँच्चै लोभलाग्दो छ । कालीगण्डकी नदीको चिसो हावासँगै यहाँ क्याम्पफायर गरी रात बिताउन सकिने सुविधा पर्यटन क्षेत्रमा जुटेकाहरूले उपलब्ध गराउँदै आएका छन् ।
रानीमहल घुमेपछि तानसेनबाट नजिकै रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल भैरवस्थान मन्दिर दर्शन गर्न सकिन्छ । यो मन्दिर पाल्पा तम्घास सडकको काखैमा (रिब्दीकोटमा) पर्छ । पाल्पाका तत्कालीन सेनवंशी राजा मणिमुकुन्द सेनले १६ औँ शताब्दीमा निर्माण गरेको मन्दिरमा एशियाकै ठूलो त्रिशुल समेत रहेको छ । भक्तजनले मानो र आफ्नो भाकल पूरा भएपछि पाथीको रोट चढाउने गर्दछन् ।
अर्घाखाँचीको सुपादेउराली
पूर्वपश्चिम राजमार्गस्थित कपिलवस्तुको गोरूसिंगेबाट अर्घाखाँचीको सन्धीखर्क जाने रोडमा सुपादेउराली मन्दिर छ । गोरूसिंगेबाट ४७ किलोमिटरमा पर्ने मन्दिर नरपानी र फलामे पहाडको खोँचमा अवस्थित छ ।
मन्दिर बाइसेचौबिसे राज्यका बेला खाँचीकोटका राजाले निर्माण गरेको किन्बदन्ती छ । यो मन्दिरमा भारतीय धार्मिक पर्यटकहरूको ठूलो घुइँचो लाग्ने गर्छ ।
धर्मात्मा मानिसले मागेको आशिष दिने मान्यता रहेको सुपादेवीको यो मन्दिरमा धार्मिक पर्यटकको भीड सधैँ हुन्छ । भाकल गरेर फल प्राप्त भएपछि पनि देवीलाई ढाँटेका कारण एक लाउरेलाई देवीले यो टाँसिदिको भन्ने मान्यता पनि छ । मन्दिर नजिकैको भीरलाई लाउरे टाँसिएको भीर नामकरण गरिएको छ ।
स्थानीयको भनाइअनुसार प्राचीन कालमा एक युवकले आफू लाहुरे (भारतीय सेना) हुन पाउँ भनी भाकल गरेको र लाहुरे भइसकेपछि देवीलाई छलेर अर्कै बाटो प्रयोग गर्दा उनी भीरमा टाँसिएर मृत्यु भएको भन्ने किम्बदन्ती प्रचलित छ ।
जिल्लाको मध्यभाग देवीस्थलमा पर्ने यो मन्दिरमा बली दिएर विभिन्न पूजाआजा गरिन्छ भने विवाह, व्रतबन्ध पनि गरिन्छ । बली चढाएका पशुपन्छी घरमा नलगी नरपानी डाँडामा प्रसाद बनाएर खाने प्रचलन छ । धार्मिक पर्यटनको केन्द्र बनेको सुपादेउरालीको प्राकृतिक सुन्दरता र मन्दिर दर्शन पर्यटकका लागि उपयुक्त अवसर हुनसक्छ ।
गुल्मीको रेसुंगा र रुरू
गुल्मी सदरमुकाम तम्घासबाट एक घण्टाको पैदल दूरीमा रहेको अग्लो घना जंगलसहितको डाँडो रेसुंगा नामले परिचित छ । करिब ३ हजार ५०० हेक्टर क्षेत्रफलमा फैलिएको रेसुंगामा प्राचीन युगमा ऋष्यशृंग ऋषिले तपास्या गरेको मान्यता छ ।
भगवान राम र लक्ष्मणले ऋष्यशृंग ऋषिको दर्शन गर्न आउँदा ऋषिलाई यहाँ के अभाव छ भनी सोधेको र ऋषिले पानीको समस्या देखाएपछि राम लक्ष्मणले धनुषवाणले हानेर पानी निकालिदिएको किम्बदन्ती छ । यहाँ अहिले सुन्दर पोखरी र भ्यू टावरसमेत निर्माण गरिएको छ ।
यहाँ गणेश, शिव, विष्णु, शिद्धबाबालगायत देवीदेवताको मन्दिर स्थापना गरिएको छ । धार्मिक पर्यटनका दृष्टिले निकै चार्चामा रहेको रेसुंगामा खासगरी गर्मी महिनामा पर्यटकको चाप बढ्ने गर्दछ । रेसुंगा डाँडाबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णलगायत १५ वटा हिमाल अवलोकन गर्न सकिन्छ ।
आन्तरिक तथा बाह्य पर्यटक लोभिने रेसुंगा डाँडामा होटल पनि खुलेका छन् । रेसुंगा पुगेका पर्यटकले रिडीको रुरूधाम पनि अवलोकन गर्न सक्छन् ।
रूकुमपूर्वको सिस्ने हिमाल र रोल्पाको युद्ध पर्यटन
लुम्बिनी प्रदेशको हिमाली जिल्ला हो, पूर्वी रुकुम । कान्छो जिल्ला पूर्वी रुकुमको उत्तरपूर्वमा रहेको मैदान डाँडा र खोर्सेबाट सिस्ने हिमाल देख्न सकिन्छ । यी हिमालमा मानिसहरू नचढेकाले कन्या हिमाल पनि भन्ने गरिन्छ ।
पर्यटकीय हिसाबले निकै मनमोहक यी हिमाललाई लुम्बिनी प्रदेश सरकारले चिनाउन भने सकेको छैन । यी हिमाल निकै मनमोहक छन् । पुथा र सिस्ने हिमाल पनि लुम्बिनी प्रदेशमा पर्ने प्रमुख पर्यटकीय क्षेत्र हुन् ।
पुथा लुम्बिनी प्रदेशमा पर्ने सबैभन्दा अग्लो हिमाल हो । समुन्द्र सतहदेखि पुथा ७ हजार २४६ मिटरको उचाइमा छ भने सिस्ने ५ हजार ८४९ मिटरको उचाइमा छ । यी हिमालका वरपर विभिन्न सानाठूला हिम तालहरू पनि छन ।
रुकुमका हिमालसँगै रोल्पा र रुकुमका कतिपय स्थलहरू युद्ध पर्यटनका हिसाबले पनि विकसित हुँदै गएका छन् । रुकुम–रोल्पा माओवादी युद्धका बेला आधार इलाका थिए । रोल्पाको लिवाङ, थवाङ लगायतका युद्ध पर्यटनका क्षेत्रहरूको अवस्था बुझ्न पनि यी जिल्ला घुम्न सकिन्छ । यी क्षेत्रमा अहिले चिसो सुरू भइसकेको छ । यहाँ जाँदा न्यानो कपडा लैजान आवश्यक हुने पर्यटनविदहरू बताउँछन् ।
दाङमा एसियाकै ठूलो उपत्यकादेखि बाह्रकुने हुँदै चखौरा
दाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी भएको जिल्ला हो । दाङ एसियाकै ठूलो उपत्यका भएको जिल्ला पनि भएको बताइन्छ । एउटा देउखुरी उपत्यका जुन पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ । देउखुरीमा प्रदेश राजधानी पनि छ ।
पूर्व– पश्चिम राजमार्ग छाडेर लमहीदेखि उत्तरतर्फ करिब २३ किलोमिटरको दूरी पार गरेमा भेटिन्छ, दाङ उपत्यका । दाङ उपत्यकामा दुई उपमहानगर घोराही र तुलसीपुर पर्छन् । यहाँ जखेरा ताल पनि छ । जखेरा ताल धार्मिकस्थल पनि हो । तालको उत्तरतर्फ गणेश र पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर रहेको छ ।
त्यस्तै दाङको बाह्रकुने दह जिल्लाका प्रमुख पर्यटकीयस्थलमध्ये एक हो । यो दह विशेष गरेर धार्मिक पर्यटकीयस्थलका रूपमा रहेको छ । सिरानमा अग्लो पहाड छ । यस्तै अम्बिकेश्वरी मन्दिरमा पनि घोराही बजारदेखि मोटर यात्रामा ५ मिनेटमा पुग्न सकिन्छ । दाङको तुलसीपुरमा घुम्नुपर्ने ठाउँहरू धेरै रहेका छन् ।
एकै दिनमा घुमेर आनन्द लिन सकिने ठाउँसँगै धेरै दिन बिताएर घुम्नुपर्ने ठाउँ पनि यहाँ रहेका छन् । दंगीशरण थारू राजाले राज गरेको ठाउँ भएकाले चखौरामा थारु संग्रहालय बनाइएको छ । यहाँ थारू जातिको कला, संस्कृति, रितिरीवाज, परम्परा, भाषाको ज्ञानसँगै थारू जातिको जीवनशैली झल्काउने उद्देश्यले बनाइएको संग्राहलाय रहेको छ ।
कपिलवस्तुको तिलौराकोट र पश्चिम नवलपरासीको रामग्राम
कपिलवस्तुको तिलौराकोट र पश्चिम नवलपरासीको रामग्राम गौतमबुद्धसँग जोडिएका क्षेत्रहरू हुन् । पण्डितपुर र तिलौराकोट पुरातात्त्विक हिसाबले बुद्धसँग जोडिएका क्षेत्र हुन् । गौतमबुद्धले जीवनका २९ वर्ष बिताएको तिलौराकोट र त्यसको वरिपरि रहेका कुदान, निग्लिहवा, गोटिहवा पुगेमा बुद्धबारेको लामो इतिहास बुझ्न सकिन्छ । रामग्राम स्तूपा बनाउने कोलीय गणराज्यको राजधानी भएको हुन सक्ने विश्वास गरिएको छ । बन्जरियामा रहेको पुरातात्विक स्थल पण्डितपुर ओझेलमा रहेको छ । तर, नयाँ स्थान घुम्न चाहनेका लागि यो पनि उपयुक्त स्थान हुनसक्छ ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...