
फौजमा जागिर खाएपछि अरूले चाडपर्व मनाउँदा आफू सुरक्षामा खटिनुपर्छ, यस्तै हो सुरक्षाकर्मीहरूको पेसा ।
सुरक्षाकर्मीहरू जागा रहेकाले नै आमजनता ढुक्कले चाड मनाउन र निदाउन पाएका हुन् । जाडो, गर्मी, तराई, हिमाल जहाँ भएपनि फौजमा सुरक्षा दिने कसम खाएकाहरू निरन्तर खटिइरहेका छन् ।
दशैंका बेला अप्ठ्यारो ठाउँमा रहेर सुरक्षा दिनेहरूको अवस्थाबारे थोरै जानकारी लिऔंः

सबैभन्दा माथिल्लो नाका मुस्ताङको नेचुङ आउट बोर्ड पोस्ट (बीओपी)मा रहेर ३५ जना सशस्त्र प्रहरी कर्मचारीले सुरक्षा दिइरहेका छन् ।
४५ सय मिटरभन्दा माथिको उचाइमा हिउँमै बसेर सुरक्षा दिइरहेको बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) भीमबहादुर क्षेत्रीले बताए ।
‘यहाँ अहिले पनि हिउँ परेको छ, हिजो (असोज २७) मा मात्रै पनि हिउँ परेको थियो सर,’ असोज २८ गते कुराकानीका क्रममा उनले लोकान्तरसँग भने ।
यसपालिको दशैंमा जाडो शुरू भएकाले त्यहाँका स्थानीय बासिन्दाहरू ‘औल’ (तातो ठाउँ)मा झरिसकेका छन् । त्यसकारणले त्यहाँ सुनसानजस्तै छ ।

स्थानीयहरूको घरको सुरक्षा र सीमाको सुरक्षामा खटिएको इन्स्पेक्टर क्षेत्रीले बताए ।
‘अहिले स्थानीयहरू औल झरिसक्नुभएको छ । यहाँ सुनसान जस्तै छ । हामी उहाँहरूको घरको सुरक्षा गरेर बसेका छौं,’ इन्स्पेक्टर क्षेत्रीले लोकान्तरसँग भने ।
नेचुङ बीओपीमा पनि दशैं भने आएको छ । जमरा राखिएको छ । सशस्त्र प्रहरी हेडक्वार्टरबाट पठाएअनुसारको बडाभोज पनि भइसकेको छ ।
सशस्त्र प्रहरीले घटनस्थापनाको अर्को दिन देशभरका कार्यालयमा बडाभोज गर्ने गरेको छ ।
इन्स्पेक्टर क्षेत्री अहिले पनि दशैंमा घर जान नपाउने भएका छन् । उनी दशैंमा घर जान नपाएको २१ वर्ष भएछ । सेवामा प्रवेश गरेपछि दशैंमा घर जान नपाएको उनले बताए ।
‘म सेवामा प्रवेश गरेको २१ वर्ष भयो, अहिलेसम्म दशैंमा घर गएको छैन । यो वर्ष पनि पहिलेजस्तै दशैं आयो बाबु, किन आउँदैनस् भनेर आमाले भन्नुभएको थियो,’ इन्स्पेक्टर क्षेत्रीले लोकान्तरसँग भने, ‘ड्युटीमा जिम्मेवारी भएकाले आउन पाउँदिनँ, अर्को दशैंमा पक्कै आउँछु भनेको छु ।’

हिमाली जिल्ला त्यसमा पनि हिउँले ढाकिएको क्षेत्रमा ड्युटीमा खटिएका आफू मातहतका कर्मचारीको मनोबल बढाउनका लागि भए पनि त्यहाँ बसेको इन्स्पेक्टर क्षेत्री बताउँछन् ।
उनले त्यहाँ भएका आफ्ना मातहत कर्मचारीहरूलाई टीका लगाइदिएर र बीओपीको गक्षअनुसारको खाना पनि खुवाएर दशैं मनाउने लोकान्तरलाई बताए ।
‘यहाँ कार्यरत ३५ जनामध्ये ५ जनालाई बिदा दिएका छौं । सबै जनालाई एक/एकवटा चाडमा बिदा दिनेगरी मिलाएका छौं,’ इन्स्पेक्टर क्षेत्रीले लोकान्तरसँग भने ।
.....

यो दशैंमा उत्तरी नाकामा हिउँसँग मितेरी गाँसेर ताप्लेजुङ ओलाङचुङ्गोला बीओपीका १८ जना सशस्त्र प्रहरीले पनि उसैगरी सुरक्षा दिइरहेका छन् ।
अहिले पनि हिउँ परिरहेको अवस्थामा ड्युटी गरिरहेको उनीहरूले बताए । बीओपीका प्रमुख इन्स्पेक्टर मनोज कार्कीका अनुसार उनले विभिन्न चाडमा पालैपालो बिदा मिलाएका छन् ।
दशैं, तिहार र छठ गरेर सबै कर्मचारीलाई बिदा मिलाएको उनले बताए ।
‘हामीले सबैलाई परिवारसँग मिलेर चाड मनाउनका लागि शिफ्टमा बिदा मिलाएका छौं,’ इन्स्पेक्टर कार्कीले लोकान्तरसँग भने ।
यो दशैंमा आफू भने सुरक्षा र आफ्नो कमाण्डमा भएका कर्मचारीहरूको मनोबल उच्च पार्नका लागि बिदामा नबसेको उनले बताए ।
कार्कीले परिवारलाई यसपालिको दशैंमा आउन नसक्ने कुरा बताइसकेका छन् ।

‘हाम्रो जब नेचर नै यस्तै छ । अब परिवारले बुझिसक्नुभएको छ, तर पनि आउँछ कि भनेर त आश गर्नुहुन्छ नै,’ उनले भने, ‘अहिले आउँदिनँ भनेर सबै कुरा बताइसकेको छु ।’
उनले पनि सशस्त्र हेडक्वार्टरको निर्देशनअनुसार दशैंमा आफ्ना कर्मचारी र गाउँका अन्य व्यक्तिहरूलाई बोलाएर बडाभोज गर्दै दशैं भित्र्याएको र आफ्नो क्षमताअनुसार कर्मचारीलाई दशैंमा मीठो मसिनो खुवाउने बताए ।
....
अर्को निकै चर्चित बीओपी हो, दार्चुलाको तिंकर । यो नाकामा रहेका सशस्त्रका कर्मचारी कोही पनि दशैंमा घर जान पएनन् ।
हिँडेर जान लामो समय लाग्ने भएकाले बिदा पाउने कर्मचारीहरू पनि जान नपाएको तिंकर बीओपीका प्रमुख इन्स्पेक्टर जनक पौडेलले बताए ।
‘यहाँ आउजाउ गर्न पनि निकै गाह्रो छ । यहाँ फोन टिप्ने ठाउँमा पुग्नै ५ घण्टा जति लाग्छ,’ इन्स्पेक्टर पौडेलले लोकान्तरसँग भने, ‘घर जाने भन्ने कुरा निकै गाह्रो विषय हो ।’
उनले पनि उपलब्ध स्रोत–साधनलाई प्रयोग गरेर दशैं मनाइरहेको बताए ।
उनका अनुसार त्यहाँ २० जना सशस्त्र प्रहरी खटिएका छन् । भू–धरातका हिसाबले पनि अप्ठ्यारो ठाउँमा भएकाले सबै कुरा असहज छ ।

उनले घरपरिवारभन्दा देशको सेवा गर्छु भनेर प्रवेश गरेपछि ड्युटीमै केन्द्रित हुनु आफ्नो कर्तव्य भएको बताए ।
‘हामी देशको सेवा गर्ने भनेपछि घरपरिवारबाट बाहिर आउनु पर्दोरहेछ,’ इन्स्पेक्टर पौडेलले लोकान्तरसँग भने ।
चाडपर्वभन्दा अन्य समयमा घर परिवारसँग रमाइलो गर्ने गरेको उनको भनाइ छ ।