२२ असार २०८३, सोमबार
प्रहरी नियन्त्रणमा रहेका सवारी साधनको बेहाल

काठमाडौंकै प्रहरी कार्यालयमा खिया लाग्दै १० हजार सवारी साधन, लिलाम गर्न छैन कानून

कात्तिक ९, २०८०
काठमाडौं
काठमाडौंकै प्रहरी कार्यालयमा खिया लाग्दै १० हजार सवारी साधन, लिलाम गर्न छैन कानून

तपाईं देशभर जुनसुकै ठाउँको प्रहरी कार्यालयमा जानुस्, कुनाकाप्चामा कतै न कतै मोटरसाइकल, स्कूटर वा गाडी खिया लागेर थुप्रिएको भेटिन्छ ।

एउटै प्रहरी कार्यालयमा १९ सय वटासम्म सवारी साधन यसरी थुप्रिएका भेटिन्छन् । यसरी थुप्रिने सवारीको संख्या काठमाडौं उपत्यकाभित्रका प्रहरी कार्यालयहरूमा तुलनात्मक रूपमा बढी छ ।

आपराधिक कार्यमा प्रयोग भएका, राजस्व नतिरेका, विना बिलबूक चलाएका, दुर्घटना गराएर चालक फरार भएका, फूटपाथमा जथाभावी पार्किङ गरेका सवारी साधन महानगरीय ट्राफिक प्रहरीले जफत गरी कार्यालयमा ल्याएर राख्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेल बताउँछन् । 

यसरी ल्याइएकामध्ये कतिपय त सवारी धनी आएर लैजान्छन्, कतिपय भने दाबी गर्न कोही पनि आउँदैनन् । विशेष गरी आपराधिक कार्यमा प्रयोग भएका, दुर्घटना गराएर चालक फरार भएका तथा सवारीको मूल्यभन्दा कर बढी तिर्नुपर्ने अवस्थाका सवारी साधन दाबी गर्न सवारी धनी आउँदैनन् । 

‘कतिपय सवारी साधनहरू तिनको हालको मूल्य भन्दा धेरै कर तिर्नुपर्ने भएका कारण दाबी गर्न नआएको अवस्था छ,’ ट्राफिक कार्यालयका प्रमुख डीआईजी पोखरेलले लोकान्तरसँग भने, ‘कतिपय दुर्घटना गराएर चालक फरार भएका सवारी साधनमा पनि दाबी पर्न सकेको छैन ।’ 

उनका अनुसार ट्राफिक प्रहरीले त्यस्ता सवारी धनीलाई समय–समयमा फोन गरेर सवारी साधन लिन आउन अनुरोध गर्ने गरेको छ, तर अनुरोध गर्दा पनि लिन नआउनेहरूको संख्या ठूलै छ । कतिपय सवारी साधनको वास्तविक धनी भने यातायात व्यवस्था विभागमा फाइल नहुँदा पहिचान हुन नसक्ने अवस्था छ । 

ट्राफिक प्रहरीका एक अधिकृतका अनुसार यातायात व्यवस्था विभागमा पुराना सवारी साधनका कतिपय फाइल नै गायब छन् । 

‘बाइक फेला पर्छ, कसको हो भनेर यातायातमा गयो, फाइल नै हुँदैन । कसरी सवारी धनी पत्ता लगाउने ?’ ती अधिकृतले लोकान्तरसँग भने, ‘यातायात कार्यालयमा आफैंले फाइल खोज्नुपर्छ, त्यस्तो हुँदा अर्कैले लगेको पनि हुनसक्छ ।’ 

यातायात व्यवस्था विभागको नियमानुसार ५ वर्षसम्म सवारी कर नतिरेका सवारी साधनको फाइल नयाँ बनाउनुपर्ने हुन्छ । उपत्यकामा मात्रै १० हजारभन्दा धेरै मोटरसाइकल र अन्य सवारी साधनहरू खिया लागेर बसेका तथा झार उम्रिएका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका अनुसार ट्राफिकको कारबाही चल्ने ४४ वटा कार्यालयमा ५ हजार सवारी साधन यसरी थन्किएका छन्, जसमध्ये २३ सय त बग्गीखानामा मात्रै देख्न सकिन्छ ।

यसैगरी प्रहरीको डक एकेडेमीमा डम्पिङ गरेर राखेको अवस्थामा अन्य ५ हजार सवारी साधन रहेको महाशाखाले जनाएको छ । 

‘ट्राफिक प्रहरी कार्यालयमा धेरै जम्मा भएर डक एकेडेमीमा डम्पिङ गरेर ५ हजार सवारी साधन राखेका छौं,’ एक अधिकारीले भने, ‘त्यसका अलवा सामाखुसीको पेट्रोल पम्पपछाडि २०६२/६३ सालको जनआन्दोलनमा जलाइएका सवारी साधनहरू छन् ।’ 

देशभरमा यस्ता सवारी साधन कति छन् भन्ने एकिन तथ्याङ्क प्रहरीसँग छैन । त्यसरी डम्पिङ भएर बसेका सवारी साधन लिलामी गर्ने अधिकार न प्रहरीलाई छ, न त यातायात व्यवस्था विभागलाई नै । अहिले लिलामीका लागि गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मापदण्ड थन्किएको छ । तर, डीआईजी पोखरेलले भने केहि गृहकार्य भइरहेको र केही समयमा लिमामीको प्रावधान आउने बताउँछन् ।

यातायात कार्यालयमा भेटिँदैनन् फाइल

सवारी साधनको तथ्यांक राख्ने निकाय यातायात व्यवस्था विभाग हो । सवारी साधन दर्तादेखि चालक अनुमतिपत्रसम्मको तथ्यांक विभागले राख्ने गर्छ । तर, यातायात व्यवस्था विभागमा पुराना सवारी साधनका फाइल नै नभेटिने समस्या छ । 

त्यही कारणले गर्दा दुर्घटना गराएर फरार भएका वा आपराधिक गतिविधिमा प्रयोग भएका सवारी साधनका सवारी धनीसँग सम्पर्क हुन सकेको छैन ।

‘टेक्नोलोजीको जमाना कहाँ पुग्यो तर यातायातमा सवारी फाइल खोज्न गयो भने कतिपय त फाइल नै भेटिँदैनन्,’ एक ट्राफिक प्रहरीले लोकान्तरसँग भने, ‘यस्तो अवस्थामा दुर्घटना गराएर भागेका मानिसहरू फेला पर्दैनन् ।’ 

कतिपय अवस्थामा भने सवारीधनीको सम्पर्क नम्बर परिवर्तन भएका कारण पनि वास्तविक धनीसँग सम्पर्क हुन नसक्ने अवस्था छ ।

‘सवारी धनीहरूको मोबाइल नम्बर अध्यावधिक नहुँदा समस्या देखिएको छ,’ ट्राफिक प्रहरी निरीक्षक जितेश दाहालले भने, ‘अध्यावधिक हुने व्यवस्था सजिलो पनि छैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्