
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।
सोमवार अपरान्ह उनको शव लिएर मलामी भेरी नगरपालिकाको राउत गाउँस्थित भेरी नदीको घाटमा पुगेका थिए । त्यहीबेला जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गयो ।

भूकम्पले वरपरका घर भत्किएको ठूलो आवाज आयो । त्यसपछि मलामीहरूको भागदौड मच्चियो । ‘ठूलो आवाजसहित भूकम्प आएपछि मानिसहरू आत्तिएर भागे, एक छिन पछि फेरि जम्मा भएर संस्कारको काम शुरू भयो’ एक स्थानीयले भने ।
शुक्रवारको भूकम्पले चर्काएका र मक्किएका बाँकी घर पनि सोमवारको भूकम्पले भत्किएका छन् ।

सोमवार दिउँसो आएको भूकम्पमा भाग्ने क्रममा जाजरकोटको राउत गाउँमा एक जना किशोरी घाइते भएकी छिन् । भूकम्प आएपछि उनी एक तला माथिबाट हाम फालेकी थिइन् ।
शुक्रवारको भूकम्पले आतंकित बनेका सर्वसाधारण सोमवारको भूकम्पबाट झन त्रसित बनेका छन् । गाउँहरूमा सोमवारसम्म पनि त्रिपाल र राहत सामग्री नपुगेको स्थानीयहरूले गुनासो गरेका छन् ।





