०५ साउन २०८३, मंगलबार
भूकम्पले दिएको पीडा

ग्राउण्ड जिरोः घरसँगै पुरिए हस्तबहादुरका छोराबुहारी, बिलायो नयाँ घर बनाउने सपना

कात्तिक २२, २०८०
जाजरकोट
ग्राउण्ड जिरोः घरसँगै पुरिए हस्तबहादुरका छोराबुहारी, बिलायो नयाँ घर बनाउने सपना

जाजरकोट नलगाड क्षेत्रलाई इपीसेन्टर बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प भयो । मध्येराति नलगाडका ४५ वर्षीय हस्तबहादुर विक घरको माथिल्लो तलामा सुतेका थिए । भूकम्पले हल्लायो । उनी माथिबाट हाम फालेर तल झरे । कसरी हाम फाले अहिलेसम्म उनले सम्झेका छैनन् । उनकी श्रीमती ४१ वर्षीया पवित्र विक पनि कसरी झरिन् उनलाई सम्झना छैन ।

null

घर भत्कियो । तल्लो तलामा उनका छोरा २३ वर्षीय भीमसेन विक, बुहारी २१ वर्षीया कमला विक र ३ वर्षीय नाति सन्देश विक सुतेका थिए । उनीहरू घरसँगै पुरिए ।  हस्तबहादुरको होस हवास उड्यो । उनका हातगोडा गले । उनले केही सोच्न र गर्न सकेनन् ।

 

‘तल हाम फालेँ तर तल्लो तलामा भएका छोरा बुहारी सम्झेपछि एक छिन् त मेरा गोडा चलेनन्,’ हस्तबहादुरले भक्कानिँदै लोकान्तरसँग भने । 

null

जताततै धुलोको मुस्लो थियो । हल्लाई राखेको थियो । घरको माटो र ढुङ्गाले पुरिएका छोराबुहारी र नातिलाई भेट्टाउन पनि सकेनन् । करिब ४ घण्टा खोजी गरेपछि यहाँनेर छन् होला भनेर अनुमान लगाएर माटो पन्छाउन थाले । 

null

उनीहरूलाई त भेट्टाए तर, जिउँदो थिएनन् । आखाँअगाडि आफ्ना सन्तान गुमाउँदा उनको आँसु थामिएनन् । श्रीमती पवित्रालाई सम्झाउने त परको कुरा थियो ।  हस्याङफस्याङ गर्दै शव निकाले । 

छोरा भीमबहादुरले भारतको कारगीलमा जोडरको अपरेटरका रूपमा काम गर्दै आएका थिए । त्यही कमाइले आफ्नो परिवार पालेका थिए । उनका अरु ३ वटा छोरा पनि छन् । तर उनीहरू पढ्दै गरेकाले कमाउने मेसो छैन । 

null

भीम दशैं मनाउन भारतबाट नेपाल आएका थिए । भीमबहादुरले यसपालि नयाँ घर बनाएर बस्ने योजना सुनाएका थिए । ‘छोराले एउटा योजना बनाएको थियो । घर पुरानो भयो अब नयाँ घर बनाएर सर्ने हो बुवा भनेको थियो । अहिले छोरा पनि छैन र पुरानो घर पनि छैन,’ हस्तबहादुरले रुँदै आफ्नो बेदना लोकान्तरलाई सुनाए । 

भीमबहादुरले हिउँदसम्म गाउँमै नयाँ बलियो घर बनाउने योजना बनाएका थिए । तर हिउँद नआउँदै उनीहरूको सपना भूकम्पले उडायो । ‘सपनासँगै सबै आशा पनि उड्यो,’ हस्तबहादुरले लोकान्तरसँग भने ।

null

उनकी श्रीमती पवित्रा अहिले पनि अर्धचेत अवस्थामा छिन् । उनी छोरालाई उद्धार गरेको ठाउँमा भत्केको घरको माटो सुम्सुम्याउँदै थिइन् । कहिले यता आफ्ना छोराबुहारी र नाति भएको ठाउँमा आउँथिन् त कहिले घर भत्केको ठाउँमा पुग्थिन् ।

‘यो मेरो छोराको जुत्ता हो नचला,’ बेहोसीमै भूकम्पले भत्काएको घर नजिकै भएको जुत्तालाई देखाउँदै उनी भन्थिन् । कपडा देखेपछि ‘छोराको सर्ट हो नचला’ ‘बुहारीको हो त्यो’ यस्तैयस्तै बेहोसीमा कराई रहन्थिन् । ‘अहिले उ अचेत अवस्था छ । हिजैबाट केके बोल्छे बोल्छे,’ हस्तबहादुरले आफ्नी श्रीमतीको अवस्था देखाउँदै लोकान्तरसँग भने ।

null

आइतबार बिहान करिब ४ घण्टाको बसाइमा उनले आफ्नो भत्केको घरमा करिब १० फन्का लगाए । भत्किएको घर हेरे । आफ्नो कपाल खौरिए । सेतो कपडा लगाए अनि त्यसपछि आफ्नो छोराबुहारी र नातिलाई सद्गद्का लागि त्यहाँबाट व्यवस्था मिलाएर नलगाड खोलातर्फ लागे ।

null

null

गाउँ अहिले शोकमा छ । शुक्रबार पछिका रात उनीहरूले खुला आकाशमुनि बिताएका छन् । भूकम्पले गाउँमा १२ जनाको ज्यान गएको थियो ।

null

 

 

salt training

कमेन्ट गर्नुहोस्