
सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाएका छन् ।
सङ्घीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएसँगै राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शमा मसिर २५ गते नै प्रतिनिधि सभा सचिव पद्यप्रसाद पाण्डेयलाई महाससचिव सिफारिस गरिएको थियो ।
सिफारिसको पत्र सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफैँ उपस्थित भएर राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेका थिए ।
तर राष्ट्रपति कार्यालयले अध्ययनका क्रममा रहेको भन्दै नियुक्ति गरेको छैन ।
सभामुख घिमिरेले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई सिफारिस रोक्ने कुनै अधिकार नभएको बताए ।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भने, “हाम्रो संविधानले सिफारिस कार्यान्वयनको पुनर्विचार गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छैन । नियुक्ति रोक्नु अनुचित हुन्छ।” गोरखापत्रमा खबर छ ।