२२ असार २०८३, सोमबार
शेखर-गगन सम्बन्ध

शेखर–गगन जोड्ने रसायन: दुवैलाई आवश्यक छ एकअर्काको साथ

मंसिर २९, २०८०
काठमाडौं
शेखर–गगन जोड्ने रसायन: दुवैलाई आवश्यक छ एकअर्काको साथ

नेपाली कांग्रेसको संस्थापनतर खेमा फेरि एकजुट हुने प्रयासमा लागेको छ । उक्त खेमाको नेतृत्वमा रहेका प्रभावशाली नेता शेखर कोइराला र महामन्त्री गगन थापा एकअर्काको साथ आवश्यक रहेको निष्कर्षसहित सम्बन्ध सुधारको प्रयासमा लागेका हुन् ।

पछिल्लो केही महिनायताको तनावले डा. कोइराला र महामन्त्री थापाबीच देखिने गरी नै दूरी बढेको थियो । असमझदारी चुलिँदै जाँदा समूहका केही नेताले शेखरलाई महामन्त्रीविना नै समूहको बैठक डाक्न दबाब समेत दिएको चर्चा थियो । यसै दबाबबीच गगनसँग औपचारिक संवाद नै नगरी शेखरले मंगलबार आफू निकटका नेताको बैठक बोलाएका थिए । तर, गगनका ससुरा समेत रहेका नेता अर्जुननरसिंह केसीले परिस्थितिलाई सम्हालेको चर्चा कांग्रेस वृत्तमा छ ।

आफ्नै निवासमा शेखर र गगनलाई बोलाएर केसीले भेला एक दिनपछाडि सार्न भूमिका खेलेका थिए । यसैको नतिजास्वरूप शेखर–गगन ७/८ महिनायताको तिक्ततालाई कम गर्न तयार भएका हुन् । 

केसीको प्रयासमा बुधवार बसेको यही बैठकमा शेखर र गगन दुवैले एजेन्डामा आफूहरूबीच असहमति नभएको बताए । गगनले संवाद नहुँदा असझदारी बढेको बताइरहँदा शेखरले उमेर, सोचाइ, काम गर्ने तरिकाले फरक सन्देश गए पनि टाढा नभएको जिम्मेवार अभिव्यक्ति दिएका थिए । 

‘यतिखेर देश र पार्टीको भविष्य नै राम्रो छैन । नागरिक तहमा चरम वितृष्ण र आक्रोशले जरा गाडेको छ । यस्तो बेला जिम्मेवार पार्टी कांग्रेसलाई रचनात्मक बनाउनुको विकल्प छैन । त्यसैले एउटै विचार र दृष्टिकोण राख्नेहरूबीच तनाव होइन, विश्वास बढाएर जानुपर्छ भनेर मैले पहल गरेका हुँ,’ शेखर र गगनलाई महिनौंपछि एउटै मञ्चमा उतारेका अर्जुननरसिंह केसी भन्छन्, ‘हामीबीच नै तिक्तता बढ्दा धेरै खेल हुन्छन् । आफैं कमजोर बनिन्छ । त्यसैले शतर्क हुँदै सबैलाई समेटौं, समान दृष्टिकोण राखेर लडौं भनेर बुधबार बैठक राखी सकारात्मक सन्देश दिएका छौं । हामी सबैलाई एकअर्कालाई खाँचो भएपछि तनाव र विग्रहमा जानु हुँदैन भन्नेमा सबैको समान मत बनेको छ ।’

केही समयमा हुने महासमिति बैठकमा पनि सामूहिक ढंगले लड्ने, राष्ट्रिय सभामा अवसर नपाएका, अनुभवी र युवालाई समेट्ने गरी समान मत आएको केसी बताउँछन् । साथै, पछिल्लो समय पार्टी रूपान्तरण अभियानका लागि देश दौडाहामा पुगेको टोलीलाई पनि समूहमा समेटेर जानुपर्ने केसी बताउँछन् । 

अर्का नेता डा. गोविन्द पोखरेलले पनि सभापति शेरबहादुर देउवाको बलियो पकडविरुद्ध लड्न दुई नेता एक ठाउँमा आएको बताए । ‘शेखर र गगनलाई मिल्न नदिने उग्रवादी दुवैतिर थिए । केही महिना एकै ठाउँमा बस्ने अवस्थासम्म नआउनुले उनीहरू नै हावी होलन् कि भन्ने संशय पनि थियो । तर बुधबार दुवै नेता हामी नै मिलेनौं भने झन् कमजोर हुन्छौं भन्नेमा पुग्नुभएको छ,’ पोखरेल भन्छन्, ‘गगनले खुलेर आफ्नो गुनासो र असन्तुष्टि मात्रै राख्ने काम गर्नुभएन, पार्टिमा सभापतिलाई चुनौती नै दिने हो भने शेखरलाई संसदीय दलको नेता बनाएर २०८२ सालभित्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव गर्नुभयो । एजेन्डामा एकै ठाउँमा छौं भनेर म्यासेज दिनुले समूह फेरि एकै ठाउँमा एक अर्काको अस्तित्व स्वीकारेर अगाडि बढ्छ सन्देश दिन सफल भएको छ ।’

गत पुस ६ गते संसदीय दलको निर्वाचनमा शेखर टिमको ३३ मध्ये २५ भोट मात्रै पाएपछि गगन असन्तुष्ट थिए । साथै, मन्त्री चयन र कोशी प्रकरणमा पनि दुई नेताबीच दूरी बढेको थियो । केही समयअघि कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउने विषयमा एमालेसँग मिल्नुअघि शेखरले आफूसँग सल्लाह नगरेकोमा गगनको गुनासो थियो ।

आपसमै तिक्तता बढेसँगै शेखर र गगन दुवैले एक अर्कालाई पेल्ने बरु पार्टी सभापतिसँग  सम्बन्ध विस्तार गरेर शक्ति सञ्चय गर्ने प्रयास समेत गरेका थिए । तर, बुधबारको भेलामा भने दुवैले पार्टिमा पुरानो संस्थापनको पकड फर्काउने हो भने आफूहरूले जित्ने गरी मिल्नुपर्ने समान बुझाइ प्रस्तुत गरे ।

‘महासमितिको बैठकमा ८२ सालभित्रै महाधिवेशन गर्नेगरी हामी कार्यतालिका पेश गरौंला, तर संख्याको बलमा यो प्रस्तावलाई संस्थापनले केन्द्रीय समितिबाट पास गर्न दिँदैन,’ गगनले भनेका थिए, ‘त्यसैले ८२ सालमा महाधिवेशन गर्न शेखर कोइरालालाई दलको नेता बनाउन प्रयास गरौं । देउवा दलको नेता भइन्जेल १५ औं महाधिवेशन ८२ मा हुँदैन ।’

शेखरले पनि ‘एजेण्डामा महामन्त्रीसँग कुनै असमझदारी छैन । हामीबीच एक इन्च पनि फरक छैन । उहाँको र मेरो उमेर, सोचाइ, काम गर्ने तरिकामा फरक, तर एजेण्डामा हामीबीच कुनै मतभेद छैन,’ भनेर आफूलाई नरम रूपमा प्रस्तुत गरेका थिए । गगनले बेलेपछि बाहिरिएका शेखरले उहाँले बोल्नुभएको भए मैले किन बोल्नुपर्‍यो र भन्दै समूहको धारणा अलग नभएको सन्देश दिन खोजेका थिए । 

बरु गगनले आफूलाई पेल्न खोजेको आशय प्रतिक्रियामा देखाए, तर शेखरले आफूलाई मिलनसार र समन्वय गर्न सक्ने नेताको रूपमा देखाउन खोजे । राजनीतिक विश्लेषक शंकर तिवारी पनि सम्पूर्ण सहमति कहीँ पनि नजुट्ने अवस्थाबीच शेखर गगनले संयमता देखाएको बताउँछन् ।

‘दुवैतिर नेताहरूले अनावश्यक रूपमा खेल्न खोजेको पनि देखियो । केही ढिलो गरी संवाद गरे पनि दुवैले एक अर्कासँग भिड्ने होइन मिलेर जाँदा बलियो बन्न सकिन्छ भन्ने देखाउनुभएको छ’ तिवारी भन्छन्, ‘यस अघि शेखरदाइले गगनजीलाई दलको नेतामा उठाएर लचकता देखाउनुभयो । यसपटक गगनले उहाँलाई प्रस्ताव गरेर लचकता देखाउनु भएको छ । यसमा कसले के स्वार्थ राखेका छन्, त्यो खुल्दै जाला तर अहिले तनाव बढाएर जाँदा दुवैको हितमा हुँदैन भन्ने साझा बुझाइ देखिएको छ ।’

स्वार्थ अझै बाँकी 
शेखरसँग दुरी बढेपछि गगनले विश्वप्रकाश र प्रदीप पौडेलसँग मिलेर नयाँ धार जन्माउने म्यासेज पनि दिइसकेका छन्, तर, यो क्रमलाई अझै तोडिसकेका छैनन् । बुधबार गगन आफू शेखरको भेलामा गए । विश्वप्रकाश शर्मा र प्रदीप पौडेल अझै बाहिर छन् । गगन आफ्नो स्ट्रेन्थका लागि विश्व र प्रदीप पनि आफूसँगै हुन् भन्ने चाहन्छन्, किनकी १४ औं महाधिवेशनयता हारे पनि समूहको नेतामा शेखर नै छन् । पुराना धेरै अनुहारका नेताले पनि इतर समूहको मुख्य नेता शेखर नै रहेको भन्दै उनैलाई साथ दिइरहेका छन् । 

गगन आफैंमा पार्टीभित्र र बाहिर अत्यधिक लोकप्रिय छन् । तर, एकाध केन्द्रीय सदस्य र सांसदबाहेक उनका निम्ति तत्काल नै काँध नै थाप्ने नेताको कमी देखिन्छ । यसैले गगन महामन्त्री हुँदाको सांगठनिक बलमा आफूलाई साथ दिने अर्का महामन्त्री विश्वप्रकाश र नेता प्रदीपलाई पनि समेटेर बलियो हुने दाउमा छन् । तर शेखर पक्षका कतिपय नेता गगनसँगै अरू दुई लोकप्रिय युवा अनुहार आफ्नो टिममा चाहँदैनन्, किनकि समूहमा तीनजना प्रभावशाली नेताको प्रवेश हुँदा आफ्ना लागि जोखिम बढ्ने उनीहरूको आन्तरिक हिसाब छ । गगनको लोकप्रियता र महामन्त्री हुँदा संगठन चलाउन पाउने शक्तिको आडमा उनले थप शक्ति सञ्चय गर्न सक्ने जोखिम पनि शेखरले देखेको बताइन्छ । यसैले गगनलाई मात्रै समेट्ने तर विश्व र प्रदीपप्रति अनुदार हुने मानसिकता शेखरहरूले बनाइरहेको गगननिकट स्रोतको दाबी छ । 

त्यसो त पार्टिमा सभापति शेरबहादुर देउवाको बलियो पकड छ । १३ औं महाधिवेशनमा पूर्व संस्थापन छरिँदा रामचन्द्र पौडेल पराजित हुन पुगे । १४ औंमा पनि पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइरालाले साथ नदिएपछि शेखर कोइरालाले जित्न सकेनन् ।

अझै लोकप्रिय युवा नेता थापासँग तनाव बढाउँदा थप जोखिम हुने शेखरको बुझाइ देखिन्छ । गगनलाई पनि ठूलो समूहको छहारी नहुँदा गाह्रो हुने कुरा बोध छ । १३ औं महाधिवेशनमा तेस्रो पक्षका कृष्णप्रसाद सिटौलाको प्यानलबाट उठ्दा थापा पराजित भएका थिए । तर, १४ औं महाधिवेशनमा ठूलो र प्रभावशाली शेखर समूहबाट उठ्दा महामन्त्रीमा शानदार जीत हात पारे ।

‘आपसी सहयोग नहुँदा र ठूलो समूह नहुँदा के हुन्छ भन्ने शेखर र गगन दुवैले राम्रैसँग बुझिसकेका छन्,’ यो समूहका एक नेता भन्छन्, ‘यसपटक आ–आफ्नो पोसिजन र प्रभाव देखाउन एक अर्काविरुद्ध दबाब बढाएका छन्, तर इमानदार भएर भन्ने हो भने दुवैलाई शक्ति सञ्चय गर्न एकअर्काको साथ आवश्यक देखिन्छ ।’

अर्का नेता गुरु घिमिरेसमेत ग्रुपमा कुरा नमिले पनि न्यूनतम् सहमति आवश्यक भएको बताउँछन् । ‘ग्रुपमा कुरा मिल्दैन । हिजो गिरिजा, सुशील, शेरबहादुरजीले यस्तो परिस्थिति झेलिरहनुभएको छ,’ घिमिरे भन्छन्, ‘तर, ग्रुपको व्यवस्थपन गर्नुपर्छ । एउटाले अर्कोलाई विश्वास र स्ट्रेन्थको आधारमा व्यवस्थापन गरेर जानुपर्छ । यस्तो भए समूहमा तनाव आइराख्दैन ।’ मुख्य पदको बाँडफाँट, नेता व्यवस्थापनको उचित विकल्पले तिक्ततालाई हार्दिकतामा बदल्ने उनी बताउँछन् । 

दुवैले रणनीतिक रूपमा हामी एजेन्डामा एकै ठाउँमा छौं, भनेका छन् । तर भावी शक्ति सन्तुलनमा आफूहरूको हिस्सा कहाँ हुने हो भन्नेमा दुवैको उत्तिकै चासो छ । 

गगनले आफूले समूहका सबैको मत नपाए पनि शेखरलाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका छन् । दलको नेता बनाउन सक्दा सत्ता गठबन्धनको आलोपालोमा शेखरलाई प्रधानमन्त्री बनाउन सकिने बुझाइ गगनको छ, किनकि शेखर यदि प्रधानमन्त्री हुने हो भने पार्टीको भावी सभापतिका लागि आफ्नो दाबेदारी बढ्ने बुझाइमा गगन छन् ।

तर, गगनलाई इतर पक्षबाट पेल्ने काम भएकोमा भने यो समूहको अलि बढी चित्त दुखाइ देखिन्छ । समूहका नेताको साझा चिन्ताको सार भने देउवासँग भिड्न पनि मिल्नुको विकल्प नभएको भन्ने नै थियो ।  

‘कोशीको सरकार गठनको सन्दर्भमा के भयो ? सार्वजनिक मञ्चबाट सभापतिलाई साक्षी राखेर महामन्त्रीमाथि आक्रमण भयो ? जिम्मेवार पदाधिकारीमाथि यस्तो गर्न मिल्छ ? यस्तो छुट दिन मिल्छ ?’ केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी भन्छन्, ‘जिम्मेवार पदाधिकारीलाई दोषारोपण गरेर यो हदसम्मको पागलपन देखाउन मिल्दैन । अनि महामन्त्रीविरुद्ध सुपर टिम बनाउने भनेको हो ? यसले टिमको विश्वास र धर्म बढ्छ ?’

साँच्चै तिक्तता हटाउने हो भने १४ औं महाधिवेशनको नतिजबाट बाहिर निस्केर १५ औं को तयारीमा जुट्नुपर्ने उनले बताए । ‘१४ औंको नतिजाबाट बाहिर निस्कौं । १५ औंको तयारीमा लागौं । यहीँभित्र लडाईं गरेर जाने होइन,’ सिवाकोटी भन्छन्, ‘पार्टिमा नराम्रो खाडल खन्ने काम नगरौं । कार्यतालिका ल्याएर ८२ मा महाविधेशन गर्नतिर लागौं, समूह आफैं बलियो भएर जान्छ ।’

salt training

कमेन्ट गर्नुहोस्