![कीर्तिपुरसँगै काठमाडौंका दक्षिणी क्षेत्र इन्द्रायणी जात्रामय [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/indrayani_5_bC6kC8CZDJ.jpg)
यतिबेला काठमाडौंको दक्षिण भेगका सबै गाउँ जात्रामय छन् । दक्षिण भेगमा धेरै गाउँहरू छन्, त्यसमध्ये सातवटा गाउँ यतिबेला जात्रामा डुबेका छन् । ती गाउँहरू हुन् कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ ।

यी सात गाउँ मिलेर गरिने जात्रा भएकोले यसलाई ‘सात गाउँ जात्रा’ अर्थात ‘न्हयगां जात्रा’ पनि भनिन्छ ।

यी सात गाउँका जात्राहरूमध्ये शुक्रवार चाहिँ कीर्तिपुरमा जात्रा चलिरहेको छ । सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो । हरेक गाउँमा जात्रा चलाइने आ–आफ्नै देवीहरू छन् । कतै विष्णुदेवी, कतै महालक्ष्मी । कीर्तिपुरमा चाहिँ इन्द्रायणी देवीको जात्रा चलाइन्छ ।

काठमाडौं उपत्यकाका यी सातै गाउँ रहेको क्षेत्र कुनै बेला काठमाडौंको नगर सभ्यता रहिसकेका स्थान हुन् । यो क्षेत्रमा नेपालका धेरै लिच्छविकालीन अभिलेखहरू प्राप्त भएका छन् । नेपालको प्राचीन इतिहास निर्माणमा यी गाउँहरूको ठूलो योगदान रहेको पाइन्छ ।

यसमध्ये पनि कीर्तिपुर प्राचीनकालदेखि नै केन्द्रमा रहँदै आएको पाइन्छ । मध्यकालमा एक समय तत्कालीन पाटन राज्यको राजधानीसमेत कीर्तिपुरमा रहन पुगेको थियो । त्यतिबेला निर्माण भएको दरबारको अवशेष कीर्तिपुरमा अझै पाइन्छ ।

कीर्तिपुरमा बाघभैरवको मन्दिर प्रसिद्ध छ । इन्द्रायणी देवीको द्यःछेँ पनि यही बाघभैरव मन्दिर परिसरमा रहेको छ ।

आजकल सोही मन्दिर परिसरबाट जात्रा शुरू हुन्छ । यसमा इन्द्रायणी देवीलाई खटमा राखी कीर्तिपुर नगर परिक्रमा गराइन्छ । धुमधामसाथ मनाइने यो जात्रा हेर्न अन्य स्थानका मानिसहरू पनि कीर्तिपुर पुगेका हुन्छन् ।
थप तस्वीरहरूः




