
सुरभि साहित्य प्रतिष्ठानले १६औं स्थापना दिवसका अवसरमा विभिन्न स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्ने भएको छ । प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू घोषणा गरेको हो ।
वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ समालोचक युवराज मैनाली तथा वरिष्ठ कवि तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल सदस्य रहेको समितिले गरेको सिफारिसका आधारमा पुरस्कारहरू घोषणा गरिएको प्रतष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार वरिष्ठ आख्यानकार हरिहर खनाललाई, सुरभि बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ आख्यानकार भाउ पन्थीलाई, सुलेख आख्यान प्रतिभा पुरस्कार विश्व कुईकेललाई प्रदान गर्ने निर्णय भएको छ।
त्यस्तै, सुरभि प्रल्हाद नारी आख्यान पुरस्कार रन्जना पराजुलीलाई, सुरभि अच्युतराम लघुकथा पुरस्कार डा। रवीन्द्र समीरलाई र सुरभि वेदमणी आख्यान प्रतिभा पुरस्कार लक्ष्मण खतिवडालाई प्रदान गर्ने निर्णय भएको छ।
पुरस्कारहरू प्रतिष्ठानको पन्ध्रौँ स्थापना दिवसको अवसरमा आगामी २० माघमा जोरपाटी बेसीगाउँस्थित ढोल्खा धारो कुटीमा प्रदान गरिने छ ।
साथै उक्त कार्यक्रममा रमेश विकल समालोचनात्मक अन्वेषण’ कृतिका लेखक गोपी मैनाली, ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल ’ कृतिका लेखक ठाकुर शर्मा भण्डारी र वरिष्ठ साहित्यकार गोपिकृष्ण शर्मालाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।