
सहकारी ठगी प्रकरणमा नौ महिनादेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको छ ।
नेपाल प्रहरीले १९५ देशका प्रहरीमार्फत खोजीका लागि भन्दै डिफ्युजन नोटिस जारी गराएको इन्टरपोल नेपाल शाखाका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार मेयर नेपालीका श्रीमान् श्रीमतीविरुद्ध नै डिफ्युजन नोटिस जारी भएको छ ।
प्रहरीले उनी भारत, बैंकक (थाइल्यान्ड) वा सिंगापुरमा रहेको आशंका गरेको छ । त्यसैका आधारमा उनको खोजी भइरहेको एक उच्च प्रहरी अधिकृतले लोकान्तरलाई बताए ।
‘भारत, सिंगापुर वा थाइल्यान्डमा रहेको आशंका छ, त्यसैअनुसार खोजी गरिरहेका छौं,’ ती अधिकारीले लोकान्तरसँग भने ।
२ महिना अगाडि फेसबूक लाइभमा आएर उनले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति बेचेर बचत फिर्ता गर्ने बताएका थिए । तर, उनी अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख एसपी योगेन्द्रकुमार खड्काले लोकान्तरलाई जानकारी दिए ।
त्यति मात्र होइन नगरपालिकामा पनि उनले कसैसँग सम्पर्क नगरेको उपप्रमुख धनबहादुर कायतले बताए । ‘उहाँ अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन,’ कायतले लोकान्तरसँग भने ।
मेयर नेपाली कहाँबाट लाइभ बसेका थिए भन्ने विषयमा बुझ्न सीआईबीले साइबर ब्यूरोलाई अनुरोध गरेको थियो । साइबर ब्यूरोले फेसबूकसँग लाइभ बसेको लोकेसनको विषयमा आधिकारिक जानकारी पनि माग गर्यो, तर फेसबूकले व्यक्तिगत विषय भएकाले दिन नमिल्ने भन्दै जवाफ फर्काएको साइबर ब्यूरोका एक अधिकारीले लोकान्तरलाई बताए ।
‘हामीले फेसबूकलाई कारण खुलाएर लोकेसन माग गरेका थियौं, तर व्यक्तिगत विषय भएको भन्दै जवाफ दिएन,’ ती अधिकारीले भने ।
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक नेपाली १ अर्ब ३१ करोड २८ लाख रूपैयाँ ठगेर फरार भएका थिए । ढोरपाटन नगरपालिकाको मेयर समेत रहेका उनी कार्यालयको कामलाई अस्तव्यस्त पारेर ९ महिनादेखि फरार रहेका हुन् ।
२०८० जेठ ५ गते लामो समयका लागि भन्दै बिदा लिएका उनले उपप्रमुखलाई कार्यबाहक दिएका थिए । ‘केही समयका लागि बाहिर जानुपर्ने भएकाले फर्की नआउँदासम्मका लागि कार्यबाहक सुम्पिएको छु’ भन्ने व्याहोराको उपप्रमुखलाई थमाइएको थियो ।
बचतकर्ताहरू अझै पनि रकम फिर्ता हुने आशामा छन् ।
‘मेयरसाब फरार भएपछि बचतकर्ताहरूले साधरण सभा नै बोलाएर पैसा फिर्ता गर्ने भन्दै लाग्नुभएको छ,’ उपप्रमुख कायतले लोकान्तरसँग भने, ‘उहाँहरूले थप के–के गर्नुभयो भन्ने जानकारी छैन ।’
मेयर नेपालीमाथि १ हजार ५४३ जनाको १ अर्ब ३१ करोड २८ लाख ४९ हजार ४३८ रूपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले सञ्चालक समितिका सदस्य चित्रबहादुर भण्डारी, सहकारीको मुख्य कार्यालय बागलुङका लेखा प्रमुख लालमणि रोका र प्रबन्ध निर्देशक शक्ति किसानलाई जेठ ३२ गते पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
देवकुमार नेपालीले विनाधितो मौखिक आधारमा नै ऋण दिने गरेका थिए । प्रहरीले पक्राउ गरेपछि लेखा प्रमुख रोकाले विनाधितो ऋण प्रवाह गर्ने गरेको बताएका छन् ।
‘संस्थाका अध्यक्ष देवकुमार नेपालीको मौखिक आदेशमा कुनै घितो नराखी ऋण प्रवाह गर्दै आइरहेको छु,’ रोकाले बयानमा भनेका छन् ।
उनले बयानमा १० लाखभन्दा माथिका बचतकर्ताको विवरण सिस्टममा नराखेर सहकारीको खातामा टिपोट गर्ने गरेको बताएका छन् । १० लाखभन्दा माथिको रकमलाई खराब कर्जासँग मिलाएर देखाउने गरेको उनको बयान छ । ठूलो रकमलाई सिस्टममा नदेखाएर ठगी गर्ने गरेको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रबन्ध निर्देशक शक्ति किसानले पनि १० लाखभन्दा माथिको रकमलाई सिस्टम नदेखाउने गरेको बयानका क्रममा स्वीकारेका छन् ।
रोकाले बयानमा ३० करोडको जमिन भएको झुटो विवरण वासलातमा देखाएको बताएका छन् । आफ्नो सहकारीमा समस्या आएपछि जेठ २ गते राति सवा २ बजे देवकुमार नेपाली, ओमकुमार नेपाली र डोरबहादुर परियारले ३ वटा ब्यागमा फाइल बोकेर फरार भएको लेखा प्रमुखको बयान छ ।
प्रबन्ध निर्देशक किसानले ३० करोडको सम्पत्ति भनेर देखाएको भवन संस्थाको नाममा नरहेको बयान दिएका छन् । उनले पनि देवकुमार नेपालीको मौखिक आदेशमा विनाधितो ऋण प्रवाह गर्दै आएको बताएका छन् ।
सहकारी ऐनमा सञ्चालकले आफ्ना सदस्यहरूलाई मात्रै ऋण प्रवाह गर्न र बचत गर्न पाउने कानूनी व्यवस्था छ । तर, इमेज बचत तथा ऋण सहकारीले ७८ करोड ६९ लाख ५८ हजार बचतमध्ये ७० करोड ५० लाख ५० हजार रूपैयाँ गैरसदस्यबाट बचत असुल गरको जिल्ला प्रहरी कार्यालय बागलुङको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिल्ला अदालतमा बुझाएको प्रतिवेदनअनुसार १० लाखभन्दा माथिको बचत रकमलाई कृत्रिम खाता बनाएर बचतकर्तालाई देखाउने गरेका थिए ।
उनीहरूले ‘जनरल इमेज ००८०७९’ खाता नम्बर राखेर कारोबार गर्ने गरेका थिए । त्यसलाई आफ्नै समितिका सचिव सुनिल नेपालीको नाममा ल्याएर अपचलन गर्ने गरेको अदालतमा पेस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उनीहरूले कृत्रिम बचत खातामा ६५ करोड २७ लाख ५० हजार रूपैयाँ हिनामिना गरेको देखिन्छ । उनीहरूले १० लाखभन्दा माथि बचत गर्ने व्यक्तिलाई १६ प्रतिशत व्याजको प्रलोभन दिने गरेका थिए ।
प्रतिवेदनमा १ करोड ९२ लाख ७६ हजार राजस्व छलि गरेका छन् । ३ करोड ३९ लाख ५६ रूपैयाँ सदस्यहरूको पैसा ऋणात्मक देखाएर ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारी बैंकबाट लिएको ऋणमा दायित्व कम देखाएर १ करोड ११ लाख ६९ हजार, कृत्रिम रूपमा व्याजबापत बढाएको रकम १ करोड ९२ लाख ७६ हजार, समष्टिगत वित्तीय नगद खातामा हुनुपर्ने ४ करोड ८१ लाख ५४ हजार, बैंक मौज्दात वासलातमा देखाएको तर वास्तविक खातामा नभएको ४ करोड ९९ लाख ८० हजारलगायत विभिन्न किसिमबाट ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सरकारी वकिलको कार्यालयले अदालतमा दर्ताको अभियोजनमा जनप्रतिनिधिले अकुत र अवैधरूपमा सम्पत्ति आर्जन गरेकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत र अख्तियारलाई कारबाही गर्न समेत सिफारिश गरेको छ ।