
विदेशी पेटेन्टलाई नेपालको मौलिक आविष्कार भन्दै उद्योग विभागका कर्मचारीहरूले ’डिजाइन राइट’ दर्ता गरिदिएपछि एचडीपीई पाइप उत्पादन गर्ने ५० भन्दा बढी कम्पनी ‘रुनु न हाँस्नु’को अवस्थामा पुगेका छन् ।
हिलटेक प्लास्टिक एन्ड पाइप इन्डस्ट्रिजले चीनको आपूर्तिकर्ता कम्पनीले बनाएको मशिन तथा उपकरण ल्याएर उत्पादन गरेको डीडब्लूसी पाइपलाई नेपालको मौलिक आविष्कार भन्दै विभागमा दर्ता गरिएको छ । यसलाई उद्योगीहरूले बजारमा एकाधिकार कायम गर्ने नियतको रुपमा बुझेका छन् ।
चीनबाट मशिन ल्याइ उत्पादन गरिएको उक्त पाइप २००७ मै डेनमार्कको एक कम्पनीले आफ्नो मौलिक आविष्कारका रूपमा आफ्नै देशमा ’पेटेन्ट राइट’ दर्ता गरेको थियो ।
worldwide.espacenet.com को पेटेन्ट नम्बर ईपी१८४७७५२ए१ र ईपी १८४७७५२बी१ ले यसको पुष्टि गर्छ।
हेर्नुहोस् डेनमार्कमा २००७ मै दर्ता भएको पेटेन्ट राइट:
सोही डिजाइनलाई नेपालको आफ्नै आविष्कार भन्दै हिलटेकका सञ्चालक कमल जैनले विभागका कर्मचारीहरूलाई प्रभावित पारेर आफ्नो नाममा दर्ता गरेको पाइएको छ ।
कर्मचारीसँगको मिलेमतोमा गरिएको उक्त कामले देशभरका अन्य ५० भन्दा बढी पाइप उत्पादक विस्थापन हुने अवस्थामा पुगेका छन् ।
गैर–कानूनी रुपमा गरिएको डिजाइन दर्ता

यस कार्यमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागको औद्योगिक सम्पत्ति शाखाका कर्मचारीहरूको मिलेमतोसमेत रहेको स्रोतको दाबी छ ।
सरकारी कर्मचारीहरूको मिलेमतोमा दर्ता गरिएपछि उत्पन्न भएको डिजाइनसम्बन्धी विवाद अझ समाधान हुन सकेको छैन ।
पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ ले स्पष्ट रुपमा ‘डिजाइन हुनका लागि आफ्नो आविष्कार हुनुपर्छ’ भनेको छ ।
हेर्नुहोस् ऐनको दफा:

उक्त पाइप नेपाललगायत अन्य देशका कम्पनीहरूले उत्पादन गरी बिक्री–वितरण गर्दै आइरहेका छन् ।
उद्योग विभागका कर्मचारीहरूकै मिलेमतोमा अरूले बनाएको र उत्पादन गरिसकेको डिजाइन यहाँ मौलिक आविष्कारको रुपमा दर्ता भएको आरोप लागेको छ ।
विश्वव्यापी प्रचलनमा रहेको डिजाइन कुनै एक कम्पनीको नाममा दर्ता गर्दा एकलौटी अधिकार एउटा मात्र कम्पनीको रहने भएकाले अन्य उद्योगहरू धरासायी हुने अवस्थामा छन् ।
उक्त डिजाइन दर्ता बदर हुनुपर्ने माग गर्दै देशका ५० भन्दा बढी एचडीपीई पाइप उत्पादकको साझा संस्था हाइडेन्सिटी पोलिथिन पाइप म्यानुफ्र्याक्चर एसोसियसन अफ नेपाल, नेपाल निर्माण सामग्री व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले उद्योग विभागमा उजुरी दिएका छन् ।
यस्तो छ उजुरीः

यद्यपि, शक्तिकेन्द्रको चलखेलका कारण उक्त उजुरीमाथि कुनै सुनुवाइ गरिएको छैन ।
उद्योग विभागमा आफूले दर्ता गरेको डीडब्लूसी पाइप डिजाइन दर्ता कायम राख्न हिलटेक प्लास्टिक एन्ड पाइपका सञ्चालक कमल जैनले ठूलै दौडधूप गरेका छन् ।
‘जैनको कलंकीस्थित बंगलामा नेपाल सरकारका उच्च कर्मचारीहरूको आउजाउ बाक्लो देखिन्छ भने उनले विभिन्न पार्टीका नेताहरूसँग पनि राम्रै उठबस गरेको पाइन्छ,’ स्रोतको दाबी छ ।
जैनले यो विषय कानूनी कारबाहीको प्रक्रियामा रहेकाले आफ्नो कुनै प्रतिक्रिया नभएको बताए ।
सन् २०१३ मा भारतले जारी गरेको परिवर्तित मापदण्ड आइएस १६०९८ः२०१३ का आधारमा राष्ट्रको सम्पत्तिका रुपमा नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर नम्बर ५९५ को प्रालेखमा स्पष्टसाथ डीडब्लूसी पाइपको लम्बाइ, चौडाइ लगायतका मापदण्ड निर्धारण गरेको छ ।
तर उद्योग विभागमा हिलटेकले पाइपको लम्बाइ, चौडाइलगायतका विषयहरूमा समेत डिजाइन दर्ता गरेकाले उक्त डिजाइन दर्ता औद्योगिक सम्पत्ति शाखाका कर्मचारीहरूको मिलेमतोमा दर्ता गरेको स्पष्ट देखिन्छ ।
गत असार २७ गते उद्योग विभागका तत्कालीन महानिर्देशक बाबुराम गौतमले हिलटेकको दाबीउपर अन्तरिम आदेश दिन इन्कारसमेत गरेका छन् ।
उनले उक्त पेटेन्ट राइट दर्ता गर्न मिल्ने–नमिल्ने भनी थप अनुसन्धान प्रक्रिया अघि बढाउनेसमेत बताएका छन् । तर फागुनको मध्यसम्म आइपुग्दा पनि त्यस विषयमा कुनै निर्णय भएको छैन ।
हेर्नुहोस् आदेशः

दुई दशकभन्दा लामो समयदेखि विश्वका विभिन्न मुलुकमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजाइनमा एकाधिकार कायम राख्ने नियतले उक्त काम भएको पाइएको छ ।
’हिलटेकबाहेक अन्य कम्पनीलाई प्रतिस्पर्धामा आउनबाट रोक्ने प्रपञ्चजस्तो देखिन्छ,’ उद्योग विभागका एक कर्मचारीले लोकान्तरसँग भने, ’हामीले फाइलहरू अध्ययन गर्दैछौं । एकाधिकार सिर्जनाको नियतले उक्त काम भएको रहेछ भने तत्काल खारेज हुन्छ ।’
उद्योग विभागका कानून शाखा प्रमुख दीपक घिमिरेले हिलटेकले पीभीसीओका पाइपहरू आफूले उत्पादन गर्ने भनेर ट्रेडमार्क दर्ताको लागि आवेदन दिएपछि उजुरी परेको बताए । ’उजुरी परेको छ, कानूनअनुसार कारबाही हुन्छ,’ उनले भने ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल संसारभर प्रचलनमा रहेको डिजाइनलाई आफ्नो मौलिक आविष्कार भनेर दर्ता गर्न कुनै हालतमा मिल्दैन दाबी गर्छन् ।
‘संसारभर प्रचलनमा रहेको डिजाइनलाई आफ्नो मौलिक आविष्कार भनेर दर्ता गर्न कुनै हालतमा मिल्दैन,’ उनी प्रश्न गर्छन्, ‘प्रविधि बाहिरबाट भित्र्याउने, अनि सोही प्रविधिबाट उत्पादन भएको उत्पादनलाई आफ्नो डिजाइन भनी दर्ता गर्ने ?’
मल्लले यस्तो काम नैतिकहीन भएकोसमेत टिप्पणी गरे । ’यो कस्तो किसिमको नैतिकता हो ? डिजाइन दर्ता गर्नेको नैतिकता भएन । उद्योग विभागले हेर्नुपर्दैन ? यस विषयमा उद्योग विभागबाट ठूलो गल्ती भएको देखिन्छ,’ उनले थपे, ‘हामीले यस विषयमा गम्भीर आपत्ति जनाउँदै उद्योग विभागमा नेपाल चेम्बर अफ कर्मसको तर्फबाट उजुरीसमेत दिइसकेका छौं ।’