
कैलालीको लम्कीमा निर्माणाधीन मोहनलाल नगर उद्यान अलपत्र अवस्थामा छ ।
९४ करोड लागतमा २०७५ सालबाट निर्माण शुरू गरिएको उक्त उद्यानमा हालसम्म २ करोड ५२ लाख रकम खर्च गरिए पनि उपलब्धि शून्यजस्तै देखिन्छ ।
नगर गौरवको योजनामा समावेश गरी वृहत् नगर उद्यान बनाउने भन्दै निर्माण शुरू गरिएको पार्कमा करोडौं रकम खर्च हुँदा पनि लाल सामुदायिक वन वरिपरि ६ किलोमिटर घेर्नुबाहेक अरू कुनै काम भएको छैन ।

‘पार्क बनाउने भनिएको ठाउँमा २ करोड ५२ लाख खर्च गरी निर्माण गरिएको वाल चर्किसक्यो, तारजाली र फलामे डन्डीमा पनि खिया लागेको छ,’ स्थानीय प्रकाश थापाले भने ।
लम्कीचुहा नगरपालिकाले टेन्डर आह्वान गरी वाल निर्माण र जाली लगाउने काम गरे पनि त्यसपछि भने अन्य काम अघि बढाएको छैन ।
‘नगरपालिकाले टेन्डर गरेर काम अघि बढाएको थियो, अहिले के कारणले काम रोकियो त्यसको जिम्मेवारी सबै नगरपालिकाले लिएर यथाशीघ्र काम शुरू हुनुपर्छ । हामीले पनि यो विषयमा पूर्वमेयर महादेव बजगाईँ र वर्तमान मेयर सुशीला शाहीसँग पटक–पटक छलफल गरेका छौं, गर्छाैं भन्नुहुन्छ, गर्नुहुन्न,’ सामुदायिक वनका अध्यक्ष बखतबहादुर विष्टले भने ।

नगरपालिकाको उदासीनताका कारण नगर उद्यान आयोजना अलपत्र परेको स्थानीयहरूको आरोप छ । ‘निर्माण समितिको सचिव बनेर काम अघि बढाएको थिएँ । जति राम्रो काम गर्दा पनि नगरपालिकाबाट प्रोत्साहन नपाएपछि मैले सचिव पदबाट राजीनामा दिएँ,’ देवानन्द जैशीले भने ।
जैशीले थपे, ‘पार्क बनेमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्छ । हाम्रो लम्की क्षेत्रको प्रचारप्रसार हुन्छ । त्यहीँबाट नागरिकहरूलाई रोजगारी पनि सिर्जना हुन्छ । नगरपालिकाको राजस्व पनि बढ्छ । नगरपालिकाले प्राथमिकतामा राखेर यथाशीघ्र पार्क निर्माण गर्नुपर्छ ।’

पूर्व नगरप्रमुख महादेव बजगाईंको टीमले रूख काट्ने अनुमति नलिई काम अघि बढाएकाले अहिले समस्या देखिएको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले बताइन् ।
‘पार्क निर्माण कार्य अघि बढेको क्षेत्र सामुदायिक वन हो । त्यहाँ रूखहरू छन् । काम अघि बढाउनका लागि रूख काट्नुपर्छ, तर वनले रूख कटानको अनुमति दिएको छैन । हामी वनका पदाधिकारीसँग निरन्तर छलफलमा छौं । छिट्टै टुंगोमा पुग्छौं, त्यसपछि निर्माण कार्य अगाडि बढ्छ,’ मेयर शाहीले भनिन् ।

९४ करोड लागत रहेको मोहनलाल नगर उद्यान निर्माणका लागि ७० प्रतिशत केन्द्र सरकार र ३० प्रतिशत लम्कीचुहा नगरपालिकाले व्यहोर्ने गरी सम्झौता गरिएको छ ।
प्रकृतिलाई असर नपर्ने गरी पार्क निर्माण गर्ने भनिएकोमा करिब ५५ रूख काट्नैपर्ने देखिएको छ । तर, रूख काट्ने अनुमति वन कार्यालयले दिएको छैन ।
‘हामीले नियमितरूपमा काम गर्न सक्ने अवस्था रहेन, यसमा वन बाधक देखियो । नरोकिएको भए हालसम्म ६० प्रतिशत काम सम्पन्न हुने थियो । अहिले हामी निर्माण कार्य शुरू गर्नका लागि आन्तरिक तयारीमा छौं,’ निमित्त प्रशासकीय प्रमुख माधव जैशीले भने ।