×

NMB BANK
NIC ASIA

राजनीतिक उथलपुथलको पृष्ठभूमि

हत्तेरी राजनीति, कठै पत्रकारिता र 'निदाएका' सम्पादकहरू !

काठमाडाैं | फागुन २१, २०८०

NTC
Premier Steels

एकजना मेरा अति नै निकट मित्र छन् । हाम्रो भेट सन् २०१० मा अमेरिकामा भएको थियो । उनी त्यहाँ पढ्दै थिए । म अमेरिकी विदेश मन्त्रालयको ‘फेलो’को रूपमा त्यहाँ पुगेको थिएँ । विदेश पढेर आएका असाध्यै सार्प, स्मार्ट र क्षमतावान उनी नेपाललाई धेरै माया गर्छन् । उनी कामको शिलशिलामा धेरै विदेशतिरै हुन्छन् । जहाँ भएपनि नेपाल मामलामा व्यापक चासो राख्छन् । विगत तीन महिनायता उनी बढीजसो नेपालमै छन् । नेपालको आन्तरिक राजनीति र दुवै छिमेकी राष्ट्रसँग उनको गहिरो सम्बन्ध छ । उनैले हो मलाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच केही पाक्न खोज्दै छ है सर, भनेर शुरूमा सूचना चुहाएको । 

Muktinath Bank

नेपालको राजनीति न पर्‍यो, भरै हुन्न । धेरै दिनसम्म मैले उनको सूचनालाई वास्ता गरिनँ । हाम्रो भेटघाट भैरहन्थ्यो । उनी ओली र प्रचण्डबीचको कुराकानी झन्–झन् बाक्लिँदै गैरहेको सूचना सेयर गरिरहन्थे । म सुनिरहन्थें । सम्भव होला र ? मिल्लान् र ? दुवै छिमेकी मुलुकहरूको भूमिका ओली–प्रचण्ड मिलाउने तहमा पुग्ला र ? सकारात्मक होला र ? यस्तै प्रश्न गरिरहन्थें ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ति गजबका मित्र छन् । नेपालको मात्र होइन, शक्तिशाली मुलुकका भित्री सूचना हुन्छन्, उनीसँग । नेपाली पत्रकारलाई उनी खासै विश्वास गर्दैनन् । तर, धेरै विदेशी पत्रकार उनका साथी छन् । खुल्ने, क्रेडिट लिने उनको स्वभावै छैन ।  


Advertisment
Nabil box
Kumari

करिब एक महिनाअघि हामी फेरि भेट्यौं– ललितपुरको पुल्चोकस्थित एक रेस्टुरेन्टमा । लञ्चसँगै खायौं । त्यो दिन पनि राजनीतिक विषयमा लामो कुराकानी भयो । ओली–भारत सम्बन्ध सुधारका प्रयासदेखि काँग्रेससँग वाक्कदिक्क भएका प्रचण्डका अनेक दृष्टान्त उनले सुनाए ।

Vianet communication

त्यो दिनचाहिँ ती मेरा मित्रले भने– विमल जी, अबचाहिँ न्यूज ब्रेक गर्दा हुन्छ । प्रचण्ड काँग्रेससँग यति धेरै चिढिएका छन् कि उनको मन पग्लनेवाला छैन । प्रचण्ड, ओली, देउवा र छिमेकी मुलुकसँग समान तर घनिष्ठ सम्बन्ध भएका मेरा मित्रले हिँड्ने बेलामा सुझाव दिएका थिए- ओली र प्रचण्ड मिल्दै गरेको समाचार ब्रेक गर्न सक्नुभयो भने तपाईंको मिडियाको माइलेज अझ बढ्नेछ । तपाईं असल साथी भएकाले भनेको हो, अरू मेरो कुनै स्वार्थ छैन ।

उनले त्यसो भनेपछि चाहिँ म मेरा विभिन्न स्रोतहरूमार्फत ओली–प्रचण्डको बाक्लिँदो संवाद र सम्भावित सत्ता परिवर्तनको पुस्ट्याइँतर्फ जुटें । मेरो सम्पर्कमा आएका धेरै नेपाली एवं विदेशी स्रोतहरू चाहिँ दुई शीर्ष नेताको बाक्लिँदो संवाद र सम्भावित घटनाक्रमबारे पूरै बेखबर थिए । केहीले हल्का सेन्स गरेको, तर पत्याइनहालेको अवस्था थियो ।    

हामीबीचको त्यो संवादपछि नेपालमा दुई ठूला घटना भए– पहिलो, नेपालको ठूलो व्यावसायिक घराना चौधरी ग्रुपले हडपेको सरकारी जग्गा सम्बन्धमा कारबाही र दोस्रो, नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भयो । 

यी दुवै घटनाले मेरा मित्रको सूचनालाई यसरी पुष्टि गरिदिए कि अन्ततः म उनले संकेत गरेजस्तो सत्ता परिवर्तनतर्फ मुलुक धेरै अघि बढेको निष्कर्ष निकाल्न बाध्य भएँ ।  

एउटा भेटमा प्रचण्डले देउवालाई चुनौतीका साथ सोधेका थिए, 'अब तपाईंसमक्ष दुई महामन्त्रीको प्रस्ताव, योजना, विचार र कदमलाई पूरै निस्तेज गरेर अघि बढ्न सक्ने क्षमता बाँकी छ ?' प्रचण्डको प्रश्नमा देउवाको जवाफ थियो, 'धेरै शंका नगर्नुस् न यार, कुरा मिल्छ भन्या । उनीहरू कराएर हुन्छ र ? पार्टी सभापति त म हो नि ? आउने चुनावसम्म पनि सभापति त मै हो नि बाबा !'

पहिलो, मेरा ती मित्रले विश्लेषण गरेझैँ सरकारले चौधरी ग्रुपमाथि शुरू गरेको कारबाही रोक्न कांग्रेसबाट भएभरको शक्ति प्रयोग र हस्तक्षेप भयो, जसले प्रचण्डलाई थप चिढाउने काम गर्‍यो । एकातिर जनतामा आशा जगाउने काम गर्न नसकेको आरोप, अर्कातिर केही गर्न खोज्दा कांग्रेसको सधैँको किचकिच । 

चौधरी ग्रुपमाथि कारबाही किन गरेको भनेर कांग्रेस प्रचण्डसँग रिसाएन मात्र, कारबाहीको प्रक्रिया बीचमै रोक्न, पक्राउ परेका अरुण चौधरीलाई विनाशर्त रिहाइ गर्न र जग्गा प्रकरणको फाइल नै बन्द गर्न प्रचण्ड र नारायणकाजी श्रेष्ठमाथि व्यापक दबाब सिर्जना गर्‍यो कांग्रेसले । 

यसै पनि कांग्रेसको व्यवहारबाट वाक्कदिक्क भएका प्रचण्ड चौधरी ग्रुपका सम्बन्धमा देखाएको अतिरिक्त सक्रियता र हस्तक्षेपकारी भूमिकाबाट थप चिढिए । 

प्रचण्डलाई चिढ्याउने दोस्रो घटना नेपाली कांग्रेसको महासमिति बैठक बन्यो, जहाँ महामन्त्री गगन थापाले आगामी दिनमा शेरबहादुर देउवालाई जसरी पनि कांग्रेस नेतृत्वबाट अलग गराउने योजनासहित अबको निर्वाचनमा पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने प्रस्ताव पेश गरेका थिए ।

गगनको प्रस्ताव देखेर देउवा रिसाए, तर रोक्न सकेनन् । देउवाले प्रचण्डलाई भेटेर गगनको प्रस्तावले खासै फरक पार्दैन, २०८४ आउन धेरै बाँकी छ भनेर आश्वस्त पार्ने प्रयास गरे । तर, ओलीसँग बाक्लो संवाद र कांग्रेसको व्यवहारबाट पटक–पटक पीडा सहनुपरेको अवस्थामा प्रचण्ड देउवाको आश्वासनबाट विश्वस्त हुने सवालै थिएन ।

मेरा मित्रका अनुसार, एउटा भेटमा प्रचण्डले देउवालाई चुनौतीका साथ सोधेका थिए, 'अब तपाईंसमक्ष दुई महामन्त्रीको प्रस्ताव, योजना, विचार र कदमलाई पूरै निस्तेज गरेर अघि बढ्न सक्ने क्षमता बाँकी छ ?' प्रचण्डको प्रश्नमा देउवाको जवाफ थियो, 'धेरै शंका नगर्नुस् न यार, कुरा मिल्छ भन्या । उनीहरू कराएर हुन्छ ? पार्टी सभापति त म हो नि ? आउने चुनावसम्म पनि सभापति त मै हो नि बाबा !'

कांग्रेस महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको जनयुद्धलाई अपमान गर्ने वाक्यले पनि प्रचण्डलाई नराम्ररी झस्काइदिएको थियो ।

चौधरी ग्रुपमाथिको कारबाही निस्तेज पार्न कांग्रेसले दिएको दबाब र महासमिति बैठकमा भएका छलफल प्रचण्डलाई थप चिढ्याउने पछिल्ला दुई घटना हुन् । खासमा प्रचण्ड काँग्रेससँग चिढिएको धेरै भैसकेको थियो । चाहे नक्कली भुटानी शरणार्थी प्रकरण होस्, या ललिता निवास प्रकरण । सुन प्रकरण होस्, या काम गर्न नसकेको आरोप लागेका कांग्रेस मन्त्री (खासगरि अर्थमन्त्री) हटाउने सन्दर्भ । प्रचण्डका कुनै पनि कदम र योजनामा कांग्रेसले सहयोग गरिरहेको थिएन । प्रचण्डसँगको भेटमा देउवाले म प्रयास गर्दैछु भन्थे, तर व्यवहार ठीक उल्टो थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण पक्राउ र सोही प्रसंगमा देउवापत्नी आरजू राणाको नाम समेत जोडिन पुगेपछि देउवा दम्पती र कांग्रेस नेताहरूले प्रचण्डसँग आगो ओकलेका मात्र थिएनन्, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आजै हटाऊ, भोलि नै हटाऊ भेनर प्रचण्डलाई व्यापक दबाब दिएका थिए । प्रचण्ड र उनका सारथि श्रेष्ठ कांग्रेससँग झस्किन थालेको त्यतिबेलैदेखि थियो ।

यसपटकको संवादमा धेरै कुरा ओली–प्रचण्डबीच मात्र सीमित थिए । दुवै पार्टीका दोस्रो तहका नेतालाई कतै पनि सहभागी गराइएको थिएन । मैले माथि नै उल्लेख गरेका ती साथीले दिएको ‘टिप अफ’, एमाले र माओवादी दुवै दलका प्रभावशाली नेता तथा अन्य विश्वस्त स्रोतहरूसँगबाट समेत स्पष्ट संकेत पाएपछि हामीले हिम्मत गरेर फागुन ९ गते समाचार लेख्यौं– ओली–प्रचण्ड फेरि नजिकिन सक्ने ७ आधार

त्यसपछि पनि हामी निरन्तर फलोअपमा जुटिरहेका थियौं । प्रचण्ड–ओलीबीच भेटघाट र संवाद जति बाक्लिँदै थियो, हामीलाई सूचना पनि त्यति नै बढी आउन थालेको थियो । १७ गते बिहान न्यूजरूमको नियमित मीटिङपछि म विभिन्न स्रोतहरूसँगकै कुराकानीमा थिएँ । त्यति नै बेला न्यूज रूमकै एकजना साथीले प्रचण्डले कुनै एक व्यक्तिसँग अप्रत्यक्ष हिसाबले चुहाएको विषयको सूचना ल्याउनुभयो । मलाई आइरहेको सूचना र त्यो सूचना ठ्याक्कै मेल खायो । त्यसपछि म, कार्यकारी सम्पादक सुशील पन्त, समाचार संयोजक रामचन्द्र भण्डारी र राजनीतिक बिटका विशेष संवाददाता रमेश सापकोटासहित भएर न्यूजरूममा अलग्गै छलफल भयो । प्राप्त सूचनाहरूको भेरिफाइ गरेर त्यही छलफलपछि विकसित भएको समाचार थियो– राजनीतिमा नयाँ ‘ट्विस्ट’को संकेत : पुस १० ब्यूँताउने प्रयासमा ओली–प्रचण्ड !

त्यो दिनसम्म आइपुग्दा ढिलोचाँडो नयाँ गठबन्धन बन्छ भन्नेमा हामी विश्वस्त भइसकेका थियौं । मात्र पर्खाइ थियो, कुनै एउटा ‘ट्रिगरिङ पोइन्ट’को । ओली–प्रचण्डबीच मात्र सीमित राख्न खोजिएको सूचना लोकान्तरमार्फत चुहिएपछि सत्ता गठबन्धन, एमाले र अन्य राजनीतिक दलमा ठूलै तरंग आएको थियो । फोन, म्यासेज र व्यक्तिगत भेटघाटमा व्यापक चासो व्यक्त हुन थालेको थियो ।

झगडाका मुख्य नाइके– अर्थमन्त्री महत  

सतहमा माथि उल्लेखित धेरै विषय भए पनि काँग्रेससँग प्रचण्ड चिढिनुको एउटा प्रमुख कारणचाहिँ अर्थमन्त्री प्रकाशशरण महतको उन्माद, अहंकारपूर्ण र अनुशासनहीन व्यवहार थियो । अर्थमन्त्री भएकै दिनदेखि महतले प्रधानमन्त्री प्रचण्डलाई होइन, मन्त्रालयको कामकारबाही र योजनाबारे कांग्रेस सभापति देउवा र देउवापत्नी आरजु राणालाई बिफ्रिङ गर्न शुरू गरे । देउवा र आरजूले थाहा पाइसक्दा प्रचण्डलाई अर्थमन्त्रालय के गर्दैछ भन्ने पत्तोसम्म हुन्थेन ।

प्रचण्डले लगाएका/पठाएका सानाठूला काम/फाइल महतले कि त अघि नै बढाएनन्, कि देउवाको अनुमति र इशारामा मात्र अघि बढाए । प्रचण्डले पठाएका धेरै फाइल त महतले फिर्ता पठाइदिए । बजेटको आकार घटाउने जस्तो गम्भीर विषयमा निर्णय गर्दा प्रधानमन्त्रीलाई खबरसम्म गरेनन् । अर्थमन्त्री स्वदेशका कार्यक्रममा जाँदा प्रधानमन्त्रीलाई थाहै हुँदैनथ्यो । महत म फलानो कार्यक्रममा जाँदैछु भनेर देउवासँग अनुमित लिएर जान्थे, प्रधानमन्त्रीसँग होइन ।

यसबीचमा अर्थमन्त्री महत धेरैचोटि विदेश गए । विश्वस्त स्रोतका अनुसार, मन्त्री महतको प्रत्येकपटकको विदेश भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गराउन देउवाले नै भूमिका खेलेका थिए । देउवाको दबाब नगएको भए महतका विदेश भ्रमण स्वीकृत गर्न प्रचण्ड तयार थिएनन्, किनभने महत जाने धेरै विदेशी कार्यक्रम महत्त्वहीन थिए । केबल घुम्ने, रमाउने र मोजमस्ती गर्ने उद्देश्यले महतले विदेश भ्रमण गर्ने सुइँको पाएका प्रचण्ड उनलाई स्वदेशमै बसेर बिग्रँदो आर्थिक अवस्था सुधार गर भनिरहेका थिए ।

महतले जटिल आर्थिक अवस्था सुधारको प्रयासमा सिन्को नभाँचेको प्रचण्डको बुझाइ थियो । महतकै कारण निजी क्षेत्र सरकारसँग बिच्किएको प्रचण्डको बुझाइ थियो । प्रचण्ड–महत सम्बन्ध यति बिग्रियो कि पछिल्लो समय अर्थमन्त्री महतले प्रधानमन्त्रीको फोनसम्म उठाउन छाडेका थिए । देउवा अरू मन्त्री फेर्न तयार भए पनि महतलाई फेर्न तयार भएनन् । देउवाको त्यो अडानले प्रचण्डलाई थप चिढ्याउने काम गर्‍यो ।

null

धोकैधोकाको शृंखला, अब पालो कसको ?

नेपाली राजनीति धोका, जालझेल, शंका उपशंका र दाउपेचमा चल्दै आएको दशकौं भयो । झण्डै दुईतिहाइको शक्तिसहित ओली प्रधानमन्त्री हुँदा उनले आफूलाई धोका दिएको प्रचण्डको गुनासो हुनेगर्थ्यो । सर्वोच्च अदालतको आदेशपछि ओली सरकार ढल्यो । देउवा–प्रचण्ड–माधव नेपाल मिलेर सरकार बनाए ।

चुनावपछि कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन सकेनन् । प्रचण्ड सकेसम्म कांग्रेससँग मिलेर प्रधानमन्त्री बन्न चाहन्थे । देउवा र ओली संवादमा थिए । २०७९ पुस १० को बिहान देउवा र ओलीबीच कांग्रेस–एमाले मिलेर सरकार बनाउने समझदारी बन्यो । तर, त्यो एक घण्टा पनि टिकेन । कारण, ओलीले अन्तिम समयमा देउवालाई जिल्ल्याइदिए, प्रचण्डलाई प्रधानमन्त्री अफर गरेर ।

ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड फेरि देउवातिर सल्किए । दुई महिनामै प्रचण्ड–देउवा प्रेम त्यो तहमा अंकुरायो जसले एमालेलाई सत्ताबाट हट्न बाध्य बनायो । दुई महिनामै प्रचण्डले ओलीलाई धोका दिए ।

विगतका घटनाक्रमले ओली–प्रचण्ड सम्बन्ध धेरै नटिक्ने संकेत गर्छ । त्यसमाथि नयाँ विचारसहित आएको राष्ट्रिय स्वतन्त्र पार्टी र मधेशकेन्द्रित पार्टीका भिन्न स्वार्थ र टकरावले प्रचण्डलाई नयाँ गठबन्धनसहितको सरकार चलाउन सजिलो पक्कै हुने छैन ।

करिब १४ महिनापछि फेरि प्रचण्डले देउवालाई लात हानेर लभ ओलीतिर बढाएका छन् । प्रश्न उठ्छ–अब धोका खाने पालो कसको ? कतिपय भन्दैछन्, यसैगरी अल्मल्याएर प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्री खान बेर छैन । के त्यो त्यति सजिलो छ ? प्रचण्डले निहुँ खोजे फेरि कांग्रेस–एमले मिल्न के बेर ? के देउवा अब चुप लागेर बस्लान् ? के अमेरिका र भारत वाम पार्टीहरूको बाहुल्यता भएको सरकारका गतिविधि टुलुटुलु हेरेर/सहेर बस्लान् ? चीनतिर बढी झुकाव भएका नेपाली नेताहरूलाई छानीछानी महत्त्वपूर्ण मन्त्रालयको जिम्मा दिइए त्यसले अमेरिका र भारतलाई चिढ्याउने र फेरि सत्ता गिराउने खेल शुरू हुन सक्ने कतिपयको टिप्पणी छ । प्रधानमन्त्री प्रचण्डले गृह र अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालयमा भागबण्डा गर्दा पात्र चयनमा विशेष ध्यान दिनु पर्नेछ किनभने नेपालको भूराजनीति यति जटिल छ कि जहाँ शंकैशंकाले लंका पिट्न बेर लगाउँदैन । भूराजनीतिक सन्तुलन मिलाउन सकिएन भने एमाले–माओवादीसहितको नयाँ गठबन्धन यसअघिको गठबन्धनभन्दा छिटो ढल्न पनि सक्छ । त्यसैले नेपाली सत्ता र राजनीतिका आगामी दिन सहज छैनन् ।  

कतिपय विश्लेषकहरूचाहिँ फागुन २१ को घटनाक्रमले नेपाली राजनीतिमा अस्थिरताको अर्को बीजारोपण गरेको धारणा राख्छन् । विगतका घटनाक्रमले ओली–प्रचण्ड सम्बन्ध धेरै नटिक्ने संकेत गर्छ । त्यसमाथि नयाँ विचारसहित आएको राष्ट्रिय स्वतन्त्र पार्टी र मधेशकेन्द्रित पार्टीका भिन्न स्वार्थ र टकरावले प्रचण्डलाई नयाँ गठबन्धनसहितको सरकार चलाउन सजिलो हुने छैन । अब फेरि केही महिनामै सरकार हल्लने अवस्था आयो भने मुलुक अर्ली–इलेक्सन अर्थात मध्यावधितिर जानसक्ने कतिपयको आशंकालाई हल्का सम्झन नहुने तर्क समेत हुँदै आएको छ ।

हाम्रो पत्रकारिता र निदाएका सम्पादकहरू

आठ वर्षयता मैले सर्वाधिक मिस गरिरहेको विषय हो, लेखन । सूचना प्राप्त हुन्छ, लेख्न हुटहुटी हुन्छ, तर लेख्न भ्याउँदिनँ । लेख्ने विषय त्यति सजिलो पनि होइन । लेख्नुअघि घोत्लिनुपर्छ, पढ्नुपर्छ, सूचना संकलन गर्नुपर्छ, केलाउनुपर्छ । करिब ५० जनाको सम्पादकीय टीमको व्यवस्थापकीय पक्ष जोडतोडले सम्हाल्नुपर्दा लेखनलगायत तमाम कामहरू ओझेल परे । 

आफैं लेख्न नसके पनि प्राप्त सूचना साथीहरूलाई उपलब्ध गराएर विभिन्न स्रोतबाट भेरिफाइ गरी न्यूज ब्रेक गर्ने, विश्लेषण गर्ने र स्कुप पस्कनेमा लोकान्तर डट्कम अगाडि छ । साँझपख हाम्रोमा के सामाग्री छन् र हाम्रा प्रतिस्पर्धी मिडियामा के छन् भनेर तुलना गर्छौं । आफैले आफ्नै प्रशंसा गरेजस्तो अर्थ नलागोस्, नढाँटी भन्नुपर्दा खोज र ब्रेकिङ न्यूजमा लोकान्तर धेरै अगाडि छ । कहिलेकाहीँ हामी पनि पछाडि परेका उदाहरण नभएका चाहिँ होइनन्, सबै कुरा सधैँ सम्भव पनि हुँदैन । 

मेरो दैनिकीको धेरैजसो समय बैठक र छलफलमा बित्छ, राजनीतिज्ञदेखि व्यापारीसम्म । समाजमा बाहिर नदेखिने तर भित्रभित्रै धेरै विषयमा प्रभावशाली भूमिका खेल्ने व्यक्तिहरूसँग पनि कुराकानी हुन्छ ।

पछिल्ला वर्षहरूमा सिंगो नेपाली पत्रकारिताको विश्वसनीयतामा त्यसै ह्रास आएको होइन । अहिले नेपाली पत्रकारितामा खोजी समाचार मर्दैछ । सजिलो पत्रकारिताजस्तो कोठाभित्र बस्यो, कुनै विषयमा दुईचार जनासँग कुरा गर्‍यो, समाचार छाप्यो, त्यही संस्कृति मौलाउँदो छ । फिल्डमा खट्ने, खोजबिन गर्ने, दबाएर राखिएका भ्रष्टाचारका काण्ड एक्सपोज गर्ने कन्टेन्ट भेट्टाउन मुस्किल छ ।  

पछिल्ला वर्षहरूमा एकाधबाहेक खोज पत्रकारहरूको उपस्थिति छैन । राजनीतिक बिटमा काम गर्ने संवाददाताहरू पनि भित्रसम्म पुगेर, जरो उखेलेर समाचार ल्याउन चुकेको देखिन्छ ।

ल, संवादाताहरू त चुके रे, अनि सम्पादकको भूमिका चाहिँ ? मूलधारका नेपाली मिडियाका सम्पादकहरू समाचार स्रोतबाट धेरै टाढा भएको स्पष्ट देखिन्छ । धेरैजसो सम्पादकहरू सिंहदरबार त जाँदै जाँदैनन्, जुन समाचारको खानी हो । सम्पादक भनेको त्यो पद हो जुन जिम्मेवारीमा रिपोर्टिङमा निखारिएर, तिखाराएिर पुग्नुपर्ने थियो । तर, मुलुकमा यत्रो सत्ता परिवर्तनका घटना भैसक्दा कता गए मूलधारका सम्पादक ? के रातारात सत्ता परिवर्तन भएको हो ? यसका पछाडि महिनौंदेखिका प्रयास पक्कै छन् । खोइ सम्पादकहरूले ती प्रयास बाहिर ल्याउन सकेको ? सत्ता परिवर्तनको अघिल्लो साँझका अनलाइन पोर्टल चेक गरौं त, छर्लङ्ग हुन्छ सम्पादकहरू कहाँ छन् । कहीँ कतै पनि सत्ता परिवर्तन हुन लागेका समाचार, विश्लेषण वा ब्रेकिङ न्यूज आएनन् । कसरी यस्तो भयो ? यसले हाम्रा पाठकलाई न्याय गर्‍यो ? 

हामीकहाँ मेहनती र अहोरात्र खट्ने सम्पादक नभएका होइनन् । म राजधानी दैनिकमा काम गर्दाका दिनहरू सम्झन्छु । राजदरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको वंश नास भयो । कार्यकारी सम्पादक हुनुहुन्थ्यो, जीवेन्द्र सिम्खडा । उहाँले दरबार हत्याकाण्डको समाचार राजधानी दैनिकमार्फत बाहिर ल्याउन राति कति प्रयत्न गर्नुभयो, कति मेहनत लगाउनुभयो, म स्वयंले देखेको छु । जीवेन्द्र दाइले राजदरबार हत्याकाण्डबारे बाहिर ल्याएको स्कूपले राजधानी दैनिकलाई छोटो समयमै पाठकमाझ लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो । म त्यतिबेला आलोकाँचो थिएँ । तर, जीवेन्द्र दाइको त्यो खटाइले यति प्रेरणा दियो कि पछि राजधानी दैनिकमै मैले भ्रष्टाचार रिपोर्टिङको जिम्मा पाएँ र राति-राति बसेर अख्तियारका छापा र पक्राउका ‘स्कूप’ समाचार लेखें । २०५८ देखि २०६० सम्म तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायले भ्रष्टाचारविरोधी ठूलो अभियान चलाउनुभयो । म, तत्कालीन स्पेसटाइम दैनिकका साथी पुष्कर थापा (जो पछि सवारी दुर्घटनामा बित्नुभयो) लगायतले रातभर काम गर्थ्यौैं, एउटै बिटमा फरक–फरक मिडियाका लागि । प्रायः मध्यरातमा कर्मचारी र नेताका घरमा अख्तियारले छापा हान्थ्यो । त्यतिबेला अख्तियारको रिपोर्टिङ गर्ने साथीहरूले तीन वर्ष लगभग रातभर काम गर्ने स्थिति बनेको थियो । 

के अहिलेका रिपोर्टर साथीहरूमा यस्तो जाँगर देख्न पाइन्छ ? अहिले त साथीहरू एकैछिनमा न्यूज रूमबाट हराउँछन् । खोज्दा भेटिँदैनन् । यो एउटा मात्र न्यूज रूमको अवस्था होइन । 

२०६५ सालमा म कान्तिपुर टिभीबाट कान्तिपुर दैनिकमा पुगेको थिएँ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (वि.सं. २०६५–२०६६) ले तत्कालीन बहालवाला प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गर्ने निर्णय गर्नुभयो । २०६६ साल वैशाख २० गते राति तत्कालीन राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्को निर्णय उल्ट्याउँदै प्रधानसेनापतिलाई थमौती गरिएको पत्र दिनुभयो । हामी रातभर कान्तिपुर दैनिकको न्यूज रूपमा बस्यौं । कान्तिपुरका सम्पादक थिए, सुधीर शर्मा । शर्मा आफैं प्रधानसेनापति बर्खास्त र थमौतीको सूचना संकलनमा खटिए । हामी (म र तत्कालीन कान्तिपुरकर्मी गंगा बीसी) रातभर खटियौं । बिहान ३ बजे मात्र हामी कार्यालयबाट निस्कियौं, सम्पादक शर्मासँगै । भोलिपल्टका दैनिकमध्ये कान्तिपुरमा सबैभन्दा परिपक्व र वृहत् कभरेज भयो, प्रधानसेनापति काण्डको । के अहिलेका सम्पादक यसैगरी खट्छन् ? खटेको भए सत्ता परिवर्तनको यत्रो घटना भैसक्दा विभिन्न सञ्चार माध्यममा समाचार आउनुपर्दैनथ्यो ?

पछि म कान्तिपुर दैनिकबाट रिपब्लिका अंग्रेजी दैनिकमा पुगें । सम्पादक थिए, अमित ढकाल । ढकालको खटाइ पनि असाधारण लाग्थ्यो मलाई । आजभोलि सिम्खडा, शर्मा र ढकालजस्ता खट्ने सम्पादक पाउन मुश्किल छ । सम्पादक केवल जागिरे भए, प्रोफेसनल होइन । कान्तिपुर टिभीमा काम गर्दा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गरिएका रिपोर्टिङ उत्तिकै सम्झनलायक छन् । 

विभिन्न मुलुकमा जाँदा सम्पादक र खोज पत्रकारहरूसँग छलफल हुन्छ । संवाददातासँगै सम्पादकहरू पनि समाचारको खोजी र पुष्ट्याइँमा अहोरात्र खटेको अनुभव सुन्न पाइन्छ । हामीकहाँ हाकिम पल्टने, हाई काडेर कुर्सीमा निदाउने सम्पादकको बाहुल्यता हुँदा पत्रकारितामा खोजी रिपोर्टिङ मर्दै गएको हो । यही कारण सत्ता परिवर्तनका घटनामा जनताले समयमै सूचना पाउन नसकेका हुन् । यस्तै अवस्था कायम रहे हाम्रा पाठकले भन्नेछन्, कठै नेपाली पत्रकारिता, बिचरा सम्पादकहरू ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x