
‘पोखरा घर’ बनाउने योजना अघि सारेको १८ महिनापछि भवन शिलान्यास भएको छ । पोखरा महानगर स्थापना दिवसको अवसरमा महानगर प्रमुख धनराज आचार्यले पृथ्वीचोकमा भवनको शिलान्यास गरेका हुन् ।
एकै भवनमा सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी राख्ने योजनाका साथ अघि बढेको पोखरा घर ६ करोड ९३ लाख रुपैयाँमा बन्ने भएको हो । पृथ्वीचोकमा शिलान्यास भएको भवनको योजना बनाएको ५ वर्ष बितिसकेको छ ।
२०७५ चैत १ गते पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले महेन्द्रपुलको आर्ट ग्यालरी भत्काएर व्यवस्थापन गर्ने निर्णय गरेको थियो । उचित स्थान नपाउँदा रोकिएको कामलाई अगाडि बढाउँदा प्रमुख धनराज आचार्यले नयाँ योजना ल्याएका हुन् ।
तत्कालीन प्रमुख मानबहादुर जिसीले बनाएको योजनामा महत्त्वाकांक्षा थप्दै धनराजले एकै भवनमा कलाको जमघट हुने गरी घण्टाघर निर्माण गर्ने योजना बनाएका थिए । जुन विवादित बन्न पुग्यो । विवादको कारण भने कलाकारलाई विकल्प नदिई भइरहेको आर्ट ग्यालरी र पुस्तकालयबाट उठाउनु थियो । गत वर्ष भदौमा पोखरा घरमा कलाकारलाई स्थानान्तरण गर्ने आश्वासन दिएर महेन्द्रपुलमा डोजर चलाएका प्रमुखले १८ महिना बितिसक्दा पनि कलाकारलाई व्यवस्थापन गर्न सकेका थिएनन् ।
आज १८ महिना बितेपछि, १८ महिनामा सकिने गरी पोखरा भवन बनाउन कोजु इन्जिनियरिङ, आरुषी र एबीएसी जेभीले ठेक्का पाएको छ । पहिलो तलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा आर्ट ग्यालरी राख्ने योजनाका साथ डीपीआर तयार भएको छ । महानगरका प्रमुख इन्जिनीयर सुरेन्द्र पाण्डेका अनुसार भवनको माथि घण्टाघर राखिने छ । साथै, पार्किङको समस्या झेलिरहेको पोखराले ‘पोखरा घर’को अन्डरग्राउन्डमा पार्किङ सुविधा राखिएको छ ।
भवनको भुइँतलामा राखिने सूचना केन्द्रले पोखराबारे जानकारी दिने प्रमुख आचार्यले बताए ।
‘आज हामीले एउटा घर मात्र बनाइराखेका छैनौं, सिटीभित्र आइसकेपछि पोखरा भनेको के हो ? यहाँ भित्रका गन्तव्य स्थलहरू के–के हुन् ? र, हामीले पोखरा बस्दा खेरि पाउने कुरा के हो ? भन्ने एकीकृत सूचना पाउने ठाउँ छैन । त्यसैले हामी व्यवस्थित ढंगले सूचना प्रविधिको विकासदेखि व्यवस्थापन गरी स्थापना गर्न चाहन्छौं,’ उनले भने ।
ढिलै भएपनि आज पोखरा घरको शिलान्यास भएपछि कलाकर्मीमा आशा पलाएको छ । महेन्द्रपुलमा गत वर्ष डोजर चलेपछि कलाकार भाडाको भवनमा बस्न बाध्य थिए ।
पुस्तकालय र आर्ट ग्यालरी नयाँबजार सरेपछि चौतर्फी आलोचना खेपेका प्रमुखलाई प्रश्न हुन्थ्यो, ‘पोखरा घर’ कहिले बन्छ ? भवन बनाउने ठाउँमा १८ महिनादेखि बोर्ड मात्र ठडिँदा कलाकार निराश बनेका थिए । अब भने आफूहरूले व्यवस्थित स्थान पाउने आशा रहेको सिर्जनशील कलाकार समूहका डीबी गुरुङले बताए ।
भवनकै विषयमा गत बुधबार पोखराको एक कार्यक्रममा कलाकारले पोखरा घर कहिले बन्छ भनेर प्रश्न गरेपछि प्रमुख कड्किएका थिए । पुस्तकालयको भवन भत्काएर झण्डा पार्क र सार्वजनिक शौचालय बनाएर उद्घाटन गरिसक्दा कलाकारलाई व्यवस्थापन गर्ने विषयमा महानगरले चासो दिन सकेको थिएन । आज भवन शिलान्यास गर्दै उनै प्रमुखले महानगरभित्र पुस्तकालय आवश्यक परेको जिकिर गरे ।
‘महानगरभित्र कम्तीमा पनि व्यवस्थित खालको पुस्तकालय जरुरी छ । त्यहाँको कला के हो भन्ने कुरा देखिनुपर्दछ,’ उनले भने ।