१९ असार २०८३, शुक्रबार

आफैं 'घाइते' बन्न पुगेको ल्वाङ घलेल स्वास्थ्यचौकी

चैत ३०, २०८०
कास्की
आफैं 'घाइते' बन्न पुगेको ल्वाङ घलेल स्वास्थ्यचौकी

धनमाया तामाङको घरबाट दुई मिनेट उक्लिएपछि आइहाल्छ, ल्वाङ घलेल स्वास्थ्यचौकी ।

सामान्य बिरामी पर्दा उपचार गर्न सहज छ । सानोतिनो रोगका लागि औषधि नपाएर फर्किनुपर्ने अवस्था छैन । तर, स्वास्थ्यचौकीको दयनीय अवस्था देखेर उपचारमा जान भने सोच्नुपर्ने परिस्थिति छ । 

१० दिन अगाडि मात्र हो उनी उपचारका लागि स्वास्थ्यचौकी पुगेको । एलर्जी भएपछि स्वास्थ्य चौकी उक्लिएकी थिइन् उनी । उपचार गर्न जाँदा उनलाई उल्टै ‘मरिन्छ कि’ भन्ने पीर हुन्छ । ‘एलर्जीको औषधि लिन गएको । तर, घर नै त्यस्तो छ, त्यही गएर मरिन्छ कि भन्ने जस्तो छ,’ उनले भनिन् । 

यो डरले धनमाया मात्र होइन, उपचार सेवा लिन जाने प्रत्येक बिरामी आतिन्छन् । कारण हो, स्वास्थ्यचौकीको जीर्ण भवन । ३५ वर्षअगाडि निर्माण भएको तीन कोठे स्वास्थ्यचौकी भवन जीर्ण छ । 

चुहिने छत । चर्किएका भित्ता । ढुंगाले छाएको छानो । छानो अड्याउन काठको आड अनि त्यही टेको समेत भाँचिनै लागेको अवस्था । जीर्ण छानोमुनि छ बिरामी राख्ने शय्या । उपचार हुने यो थलो देखेर बिरामी त आत्तिन्छन् नै, स्वास्थ्यकर्मी समेत भवितव्य घटना सोचेर डराउँछन् । 

null

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९, सैतीघट्टमा रहेको तीने कोठे स्वास्थ्यचौकीमा बुधबार पुग्दा एक कोठाबाट पानी चुहिरहेको थियो । चुहिएको पानी रोक्न एक कोठाको छानो टालेको देखियो ।

स्वास्थ्यचौकीको अवस्था सात वर्षदेखि यस्तै छ । संरचना बन्नुको साटो थप जीर्ण बन्दै छ । २०७२ सालको भूकम्पपछि अहेब भएर आएका हुन्, हरिबहादुर मल्ल ।

उनी आउँदा स्वास्थ्यचौकीका भित्ताहरू चर्किएका थिए । तर भवन अहिले जस्तो जीर्ण भने भइसकेको थिएन । 

‘भूकम्पको बेलामा भवनका भित्ताहरू चर्किए । २०७३/०७४ मै हो टेको लगाएको पनि । त्यसपछि विस्तारै–विस्तारै क्रयाक हुँदै अहिले जीर्ण अवस्थामा छ,’ मल्लले भने । 

विगत सात वर्षदेखि स्वास्थ्य चौकीको अवस्था झन् जीर्ण बन्दै गयो । स्तरोन्नतिमा भने स्थानीय सरकारको चासो देखिएन । एकै कोठाबाट उपचारका काम भइरहेको छ ।

उपचारका क्रममा गोपनीयता कायम गर्न बिरामीलाई आवश्यक पर्ने स्थान पनि असहज रहेको बताउँछन्, स्वास्थ्यचौकी प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेका हेल्थ असिस्टेन्ट सक्रिज लामिछाने । उनले जिम्मेवारी सम्हालेको दुई महिना भयो । समस्या भएपनि सेवा भने दिइरहेको उनले सुनाए । तीन कोठामध्ये एक कोठा प्रयोग नै गर्न नमिल्ने गरी असुरक्षित छ, जसलाई मिति नाघेका औषधि राख्ने गोदाम बनाएको उनले जानकारी दिए । जीर्ण भवन देखेर बिरामी पनि आत्तिने गरेको उनी बताउँछन् । 

‘अत्यन्त गाह्रो छ । कहिलेकाहीँ बिरामी ल्याएर त्यही राख्नु पर्दा बिरामी छत देखेर आत्तिने जस्तो पनि छ । सेवा लिन आउनुहुन्छ, हेल्थपोस्ट देखेर झन् बढी आत्तिनुहुन्छ । हेल्थपोस्ट नै बिरामी छ । हामी बिरामीलाई कसरी उपचार गर्ने ?,’ उनले थपे, ‘हामी कर्मचारीलाई पनि आएर काम गर्ने बेला, कुर्ने बेला कतिबेला भत्किन्छ, वा पुर्छ भन्ने मनमा डर एकदम धेरै छ ।’

null

उनका अनुसार जीर्ण भवनमा वर्षातको समयमा पानी चुहिन्छ । बुधबार साँझ पुग्दा वर्षा शुरू भएको थियो । केहीबेरको पानीले नै स्वास्थ्यचौकीको एक कोठाको छानोबाट पानी चुहिएको थियो । 

गाउँपालिकाले भवन बनाउनका लागि २०८०–८१ मा ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, विनियोजित बजेटमा मापदण्डबमोजिम स्वास्थ्यचौकी नबन्ने भएपछि काम रोकिएको छ । वडा ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) स्वास्थ्यचौकीलाई भौतिकरूपमा बलियो बनाउन नसकेको स्वीर्काछन् । 

स्वास्थ्यचौकीका लागि २०७९/०८० मा १० लाख बजेट विनियोजन गरेको थियो पालिकाले । शुरूमा वडा कार्यालयको छेउमा भवन बनाउने योजना बन्यो । तर, भवन निर्माणका विषयमा स्थानीयबीच एउटै धारणा बन्न सकेन ।

सर्वसाधारण र राजनीतिक दल सबैको उपस्थितिमा वडाले छलफल गर्‍यो । छलफलबाट वडा कार्यालयनजिक स्वास्थ्यचौकी नबनाउने निर्णय भयो । कोरोनाजस्तो अन्य महामारी रोगका समयमा स्वास्थ्यचौकी बस्तीबाट फरक हुनुपर्छ भन्ने धेरैको राय थियो । सोही अनुरूप स्वास्थ्यचौकी भइरहेको स्थानमा रहने कुरा भयो । 

विनियोजित बजेटले स्वास्थ्यचौकीको भवनवरपरको भिरालो छेउ सम्याउने कुरा भयो । १० लाख बजेटले भिरालो स्थानमा रहेको भवनको जग्गा सम्याउने कामबाहेक अरू केही हुन सकेन । वडाध्यक्षका अनुसार यस आर्थिक वर्ष स्वास्थ्य चौकीको भवन निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । तर, स्वास्थ्य मन्त्रालय मापदण्डअनुसार भवन बनाउन सो रकमले नपुग्ने भएपछि काम अगाडि बढाउन नसकेको उनको भनाइ छ ।
आव २०८१/०८२ मा भवन निर्माणका लागि गाउँपालिकाले संघीय सरकारसँग बजेट माग गरेको वडाध्यक्षले जानकारी दिए । 

null

‘अबचाहिँ २०८१/०८२ का लागि संघीय सरकारबाट गाउँपालिकाले पाउने वित्तीय अनुदानबाट एउटा विशेष योजना अगाडि बढाउनुपर्ने हुन्छ । त्यो विशेषमा १ नंं. मा ल्वाङ घलेल स्वास्थ्यचौकी भनेर मोटामोटी १ करोड २२ लाखको डीपीआर बनाएर बजेट माग गरेका छौँ । अहिलेचाहिँ नेपाल सरकारको अनुदानमा भवन बन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने ।

संघ सरकारबाट अपेक्षाअनुसार बजेट प्राप्त नभए प्रदेश र स्थानीय सरकारले भवन निर्माण थालनी गर्ने उनले बताए । यस स्वास्थ्यचौकीमा प्राविधिक कर्मचारीको अभाव छ । स्वास्थ्यचौकीमा कार्यालय सहयोगीसहित ६ जनाको दरबन्दी छ, जसमध्ये ५ जना प्राविधिक स्वास्थ्यकर्मी हुन्छन् । हाल स्वास्थ्यचौकीमा भने जम्मा ३ जना स्वास्थ्यकर्मी उपलब्ध छन् ।

‘भौगोलिक विकटता र मोटरबाटोको जीर्ण अवस्थाले राम्रो कर्मचारी जान नमान्ने अवस्था रहेको,’ पालिकाका एक जनप्रतिनिधिको गुनासो छ । 

सो स्वास्थ्यचौकीले मुख्य गरेर हेर्ने सैतीघट्ट र सिदिङ क्षेत्रका बिरामी हेर्दै आएको छ । तर, पछिल्लो समय बिरामीको चाप घटेको छ ।

बिरामी घट्नुमा भवनको अवस्था तथा सिदिङ क्षेत्रमा उपलब्ध निःशुल्क स्वास्थ्य सेवा कारण रहेको छ । पर्यटन व्यवसायी सुदीप गौतम (दिवंगत)को पहलमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको थियो । सिदिङ क्षेत्रका स्थानीयले सो इकाइबाट स्वास्थ्य सेवा प्राप्त गर्छन् । नेपाल सरकारबाट पाइने निःशुल्क औषधिबाहेक १०–१५ थप प्रकारका औषधि उतैको इकाइबाट प्राप्त गर्छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्