×

NMB BANK
NIC ASIA

सन्दर्भः १८औं लोकतन्त्र दिवस

के नेपालमा तेस्रो जनआन्दोलको पृष्ठभूमि बन्दैछ ?

काठमाडाैं | बैशाख ११, २०८१

NTC
Premier Steels

गत चैत्र अन्तिममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले काठमाडौंबाट तेस्रो जनआन्दोलनको घोषणा गरे । पहिलो जनआन्दोलनले पञ्चायती व्यवस्था र दोस्रोले राजतन्त्र अन्त्य गरेको स्मरण गर्दै उनले तेस्रोले लुटकारी दलतन्त्रलाई अन्त्य गर्ने दाबी गरे । ‘नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ,’ चैत २४ गते जन आन्दोलन दिवसको अवसरमा काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले घोषणा गरे ।

Muktinath Bank

प्रभु साहभन्दा अगाडि विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत मंसिर ७ मै जनआन्दोलन शुरू भएको घोषणा गरेका थिए । विभिन्न जिल्लाबाट लघुवित्त/सहकारी पीडितलाई काठमाडौं उतारेका प्रसाईंले प्रदर्शनलाई तेस्रो जनआन्दोलनको संज्ञा दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो जनआन्दोलनको रहर गर्ने प्रभू साह र दुर्गा प्रसाईं मात्रै होइनन् । २०६६ वैशाखमा सिंहदरबार कब्जा गर्ने उद्देश्यले काठमाडौंमा माओवादीले गरेको आमहड्ताललाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो जनआन्दोलनको संज्ञा दिएका थिए । माओवादीको आमहड्ताल भने असफल भयो ।


Advertisment
Nabil box
Kumari

२०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले ‘गोलमेच सम्मेलन’ स्वीकार नगरिए तेस्रो जनआन्दोलन शुरू गर्ने चेतावनी दिए । 

Vianet communication

२०७५ फागुन १९ गते हेटौंडामा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले पनि तेस्रो जनआन्दोलनको धम्की दिएका थिए । ‘सरकारले हामीलाई कमजोर नठानोस्, जायज मागहरूको बेवास्ता गरिए तेस्रो जनआन्दोलन हुन्छ, नेपाललाई सनातन हिन्दूराज्य बनाउन हामी जस्तोसुकै कदम चाल्न पनि तयार छौं,’ राप्रपाले आयोजना गरेको मेची–महाकाली स्वाभिमान कार्यक्रममा थापाले भनेका थिए ।

उसो त उनै थापाले दोस्रो संविधानसभा निर्वाचनअघि विराटनगरमा रथयात्रा कार्यक्रममा तेस्रो जनआन्दोलन शुरू भएको बताएका थिए । दोस्रो जनआन्दोलनको समयमा शाही सरकारको गृहमन्त्री रहेका उनले जनआन्दोलन दबाउने मतियारको रूपमा काम गरेका थिए । भलै नयाँ संविधान जारी भएपछि सरकारमा उनकै हालीमुहाली चल्यो ।  

चप्पल लगाउने वर्गले ल्याइदिएको परिवर्तनमा पहुँचवालाले रजाइँ गरे । जनआन्दोलन सफल बनाउन मुख्य भूमिका खेलेकाहरू अहिले पनि कष्टकर जीवन बाँचिरहेका छन्, खाडीमा पसिना बगाइरहेका छन् । 

२०७७ माघ १२ गते बालुवाटारअगाडि गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार नारायण वाग्लेले तेस्रो जनआन्दोलन नै शुरू भएको घोषणा गरेका थिए । ‘जुन तरिकाले हामीमाथि दमन भयो, अब तेस्रो जनआन्दोलन शुरू भयो,’ कमलपोखरीमा पुरातात्विक संरचना बिगार्न खोजेको भन्दै नागरिक समाजका अगुवाले बालुवाटारअगाडिको धर्नामा प्रहरी हस्तक्षेपपछि पत्रकार वाग्लेले भनेका थिए । 

हुँदाहुँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७७ माघ २३ गते जनआन्दोलनको उच्चारण गरेका थिए । ‘आज समग्र जनता, गणतन्त्र र संविधान रक्षाका लागि फेरि आन्दोलित भएका छन्, आज वस्तुतः फेरि एउटा ऐतिहासिक जनआन्दोलनको शुरूआत भएको छ । लाखौं जनताको उपस्थितिले फेरि नेपालमा अर्को तेस्रो ऐतिहासिक जनआन्दोलन शुरू भएको छ भन्ने स्पष्ट गरेको छ,’ गृहमन्त्री थापाले नारायणहिटीअगाडि आयोजित कार्यक्रममा भनेका थिए । 

२०७७ सालको जेठ असारमा काठमाडौंलगायत शहरी क्षेत्रमा ‘इनअफ इज इनअफ’ नामक अभियानको ब्यानरमा अलि फरक खालको आन्दोलन भयो । कोरोना संक्रमण नियन्त्रणका लागि केही माग राखेर शिक्षित र शहरीया मध्यम वर्गका युवालाई आकर्षित गर्ने त्यो अभियानलाई पनि कतिपयले तेस्रो जनआन्दोलनको संज्ञा दिएका थिए । सरकारसँग सामान्य सहमतिमा ‘इनअफ इज इनअफ’को आन्दोलन टुंगियो ।

माथि उल्लेखित पात्रहरूले दाबी गरेजस्तो तेस्रो जनआन्दोलन नेपालमा शुरू भएको छैन । दाबी गरिएका प्रदर्शन या आन्दोलनलाई ‘जनआन्दोलन’ भन्ने हो भने त यसअघि भएका महान जनआन्दोलनको अपमान हुन्छ । 

दोस्रो जनआन्दोलनको प्रत्यक्ष साक्षी भएको म दशकयता यही विषयमा पटक–पटक लेख्दै पनि आएको छु– के नेपालमा तेस्रो जनआन्दोलन होला ? 
दोस्रो जनआन्दोलनका कमाण्डर स्व. गिरिजाप्रसाद कोइरालाले जनआन्दोलन शुरू हुनुअघि र आन्दोलन सफल भएपछि पनि भन्ने गरेका थिए– ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रका लागि लड्नु नपरोस् ।’ कोइरालाले कामना गरेजस्तो भएन, दोस्रो आन्दोलनका एजेण्डा अधुरा रहँदा तेस्रो जनआन्दोलनको आधार बाँकी नै छन् । 

कुनै पनि आन्दोलनले ‘जनआन्दोलन’को स्वरूप लिन निश्चित उद्देश्य र एजेण्डा आवश्यक हुन्छन्, जसले जनतालाई आन्दोलनमा सहभागी हुन आकर्षित र प्रेरित गर्छ । २०४६ सालको जनआन्दोलन नेपालबाट निरंकुश पञ्चायती व्यवस्था फालेर प्रजातन्त्र ल्याउने महान् उद्देश्य प्राप्तिका लागि थियो । तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापनाका लागि अत्यन्त प्रतिकूल समयमा २०४६ सालमा जनआन्दोलन सफल भयो ।

बीसौं शताब्दीको अन्त्यतिर नेपाली जनताले स्वतन्त्रता चाहेका थिए । अर्थात् पहिलो जनआन्दोलन सारमा बन्द समाजलाई खुला समाजमा रूपान्तरण गर्न भएको थियो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी जस्ता निःस्वार्थी नेताको पुस्ताले नेतृत्व लिएर २०४६ सालमा जनआन्दोलन सफल बनाएको थियो । आन्दोलनको नेतृत्व गरेका दलहरूप्रति जनताको विश्वास र भरोसा अटुट थियो । 

आन्दोलनपछिका शुरूआती दिनमा केही सकारात्मक शुरूआत नभएका होइनन् तर, जनआन्दोलन सफल भएको केही समयमा प्रजातन्त्रको रुखमा ऐजेरु पलाउन शुरू भयो । संसदीय प्रजातन्त्र एकातिर ‘पजेरो र प्राडो’ काण्डले बदनाम भयो भने अर्कोतर्फ संसदीय व्यवस्थाले जरा टेक्न नपाउँदै नेपालमा माओवादी सशस्त्र जनयुद्ध शुरू भयो ।

छोटो समयमा सत्ताका लागि भएका जायज/नाजायज काण्डले २०४६ सालको आन्दोलनका उपलब्धि गुमे । ९ महिनामा सरकार फेर्ने प्रतिस्पर्धाले जनताको जीवनमा सुधार र देशको विकासभन्दा पनि यो कालखण्ड संसदीय व्यवस्थाको बदनामीको चरणबाट गुज्रियो । जनआन्दोलन गरेका दलको नालायकीका कारण सत्तामा पञ्चहरूको बोलवाला शुरू भयो । 

पहिलो जनआन्दोलन सम्पन्न भएको १६ वर्षपछि २०६२/०६३ सालमा नेपालमा पुनः दोस्रो जनआन्दोलन गर्नुपर्ने जबरजस्त अवस्था सिर्जना भयो । २१औं शताब्दीको विश्वकै पहिलो रक्तपातहीन जनक्रान्ति, जसको पृष्ठभूमि बनाउन मात्रै ४ वर्षको समय लाग्यो । रत्नपार्क आसपासमा कांग्रेस र एमालेका अढाइ सय कार्यकर्ता भेला हुने र चना/बदामको लयमा प्रतिगमन मुर्दावादका नारा लगाएर ४ वर्ष गुज्रियो । 

२०६२ मंसिरमा दिल्लीमा माओवादी र संसद्वादी दलहरूबीच १२ बुँदे समझदारी भएपछि मात्र शहर र जंगलको आन्दोलनको फ्युजन भयो, अनि मात्र सर्वसाधारण आन्दोलनमा होमिए । जनआन्दोलन सफल भयो । प्रतिनिधि सभा पुनस्थापना भयो र लोकतन्त्र लयमा फर्कियो । 

२०६२/६३ सालको जनआन्दोलनमा जनताको उत्साहजनक सहभागिताका बहुआयामिक कारण थिए । माओवादी सशस्त्र संघर्षका नाममा राज्य र गैरराज्य पक्षबाट भएका अत्याचारले जनता प्रताडित भएका थिए, निसास्सिएका थिए । निर्दोष व्यक्तिहरू दोहोरो सत्ताको जाँतोमा पिल्सिएका थिए । त्यसबाट उन्मुक्ति पाउन सर्वसाधारणले राजनीतिक दलहरूले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए, जसलाई हामीले जनआन्दोलन भन्यौं । समय कति कहालीलाग्दो र अँध्यारो थियो, सुरक्षा जाँचका नाममा मध्यरातमा सर्वसाधारणको बेडरूममा सुरक्षाकर्मी बुट बजार्दै पुग्थे ।

काठमाडौंको सिंहदरबारमा मात्र होइन, गाउँका सिंहदरबारमा पनि रजौटे प्रवृत्तिको भूत सवार भइरहेको छ ।

यात्रा गर्दैगर्दा सर्वसाधारण जनता माओवादी आरोपमा बेपत्ता बनाइन्थे । सोधपुछका नाममा ब्यारेकमा यातना पाउँथे । सुराकीको नाममा माओवादीको शिकार बन्थे । गाउँका सोझासाझा जनताले घरमा पालेको खसी र कुखुराको भाले काटेर नयाँ र पुरानो सत्ताका सिपाहीलाई खुवाउनुपथ्र्याे । त्यो कहालीलाग्दो ‘काँडेतार’को युगबाट उन्मुक्ति पाउने आशमा जनता आन्दोलनमा होमिएका थिए ।

बेरोजगार युवाहरूले स्वदेशमै रोजगारीको आशा राखेका थिए । जमिन नहुने सुकुम्बासीले बाँसको अपेक्षा राखेका थिए । समग्रमा देशमा आर्थिक समृद्धि र उन्नतिमार्फत् आफ्नो जीवनमा सुधारको अपेक्षा सबै जनताको थियो । तर, जनआन्दोलनको राप सेलाउन नपाउँदै जनताका सपनामा तुषारापात भयो ।

जनआन्दोलन भएको दशक नबित्दै दलहरूले पुराना प्रतिवद्धता बिर्से । दलहरूमा पुरानै कार्यशैली दोहोरियो । यही कालखण्डमा इतिहासकै सबैभन्दा ठूलो मन्त्रिमण्डल गठन भए, सत्ता टिकाउने नाममा जायज/नाजायक खेल भए । नयाँ पजेरो काण्डको पुनरावृत्ति भयो । काठमाडौंको सिंहदरबारमा मात्र होइन, गाउँका सिंहदरबारमा पनि रजौटे प्रवृत्तिको भूत सवार भइरहेको छ । लाउडालाई माथ गर्ने ‘वाइडबडी’ काण्ड यही समयमा भयो ।

सायद यस्तै बेथितिले होला, दोस्रो जनआन्दोलनमा कहिँ कतै नदेखिएका पात्र यतिबेला सत्ताको ‘किङ मेकर’ भएका छन् । शून्यमा झरेको पूर्वपञ्चको पार्टी सत्ता समीकरणमा प्रभाव पार्ने हैसियतसहित संसद्मा उपस्थित भएको छ । यतिठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेका नेतालाई ‘चोर’ र आन्दोलनमा सहभागी नभएका प्रचारवाजहरू नायकको रूपमा देखा परेका छन् । जनतामा वैशाख ११ गतेको लोकतन्त्र दिवसप्रति कुनै मोह देखिँदैन । 

इतिहासको सही समीक्षा गर्ने हो भने २०६३ सालको परिवर्तन ‘चप्पल लगाउने वर्ग’ले ल्याइदिएका थिए, जनआन्दोलनको अग्रपंक्तिमा उनीहरू नै थिए । गोली खाने, घाइते बन्नेहरू त्यही वर्ग थियो । बरू अहिले सत्ताको हालीमुहाली गरिरहेका कतिपय नेताहरू जनआन्दोलनको विपक्षमा थिए । जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा आन्दोलनकारीको मनोबल गिराउने अभिव्यक्ति दिनमै व्यस्त थिए ।

चप्पल लगाउने वर्गले ल्याइदिएको परिवर्तनमा पहुँचवालाले रजाइँ गरे । राज्यकोषको चरम दोहन गरे, साधनस्रोत आफ्नै परिवारमा केन्द्रित गरेर पुस्तौंलाई पुग्ने सम्पत्ति जोडे । जसले जनआन्दोलन सफल बनाउन मुख्य भूमिका खेले, उनीहरू अहिले पनि कष्टकर जीवन बाँचिरहेका छन्, खाडीका मुलुकमा सस्तो ज्यालामा पसिना बगाइरहेका छन् । जो जनआन्दोलनको विपक्षमा थिए, उनीहरूले अवसर लुटिरहेका छन् । 

विश्व समुदायलाई चकित बनाएको त्यो अभूतपूर्व जनक्रान्तिलाई सत्ता केन्द्रित स्वार्थी राजनीतिले ओझेल पारिदियो । नेपाली कांग्रेस छाडेर मधेशी फोरमबाट चुनाव जितेर सत्ता समीकरणमा विजय गच्छदारको हालीमुहाली चल्न थालेपछि २०६५ सालपछि सुनसरीमा एउटा कहावत चलेको थियो, ‘उपेन्द्रले पालेको माछा गच्छेदारले तारेर खाइदियो ।’ त्यस्तै भयो राष्ट्रिय राजनीतिको सवालमा पनि । एउटा वर्गले आन्दोलन गर्‍यो, त्यसको फाइदा अर्कै वर्गले लुट्यो । 

नेपालमा हालसम्म २ वटा ठूला आन्दोलन भए, पहिलो आन्दोलनले पञ्चायत फालेर प्रजातन्त्र र दोस्रोले निरंकुश राजतन्त्र अन्य गरेर मुलुकमा लोकतन्त्रको स्थापना भयो । जनआन्दोलनको बलमा देशमा लोकतन्त्र र गणतन्त्र स्थापना भयो । त्यही गणतन्त्रसँग जोडिएर आएको संघीयता बदनाम कहलिएको छ ।

दुःखको कुरा, मुलुकमा ‘कागजी गणतन्त्र’ स्थापना भएको १६ वर्ष पुगिसके पनि जनताले त्यसको अनुभूति गर्न पाएनन् । प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन, लोकतन्त्र वा गणतन्त्र जुनसुकै व्यवस्था आए पनि जनताले परिवर्तनको वास्तविक अनुभूति गर्न पाएका छैनन् । सरकारी अड्डामा पञ्चायतको भूत अझै सवार छ । साना–साना काम गर्न पनि जनताले घुस खुवाउनुपर्ने बाध्यता छ । भ्रष्टाचार झन् डरलाग्दो ढंगले बढेको अख्तियारले दायर गरेको मुद्दाको आँकडाले देखाउँछ ।

सरकारी कर्मचारीलाई घुस नदिई नागरिकको कुनै काम बन्दैन, यो कटु सत्य र वास्तविकता हो । मालपोत, यातायातजस्ता जनताको प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा गएर ५ जना सेवाग्राहीलाई सोध्दा थाहा हुन्छ सरकारी कार्यालयमा घुस घटेको छ कि बढेको छ भनेर । एक जना सर्वसाधारण, कसैको भनसुनविना आफ्नो प्रशासनिक मुख्यालय सिंहदरबार प्रवेश गर्न पाउँदैन । 

राष्ट्रपतिको सवारीमा सर्वसाधारणले राजाको प्रत्यक्ष शासनकै झल्को दिने गरी घण्टौं सडक खाली गर्ने प्रचलन अझै रोकिएको छैन । आजै मात्र कतारका राजाको भ्रमणमा बिदा दिइएको छ । राज्यका निकायमा नियुक्ति पाएका मन्त्री र पदाधिकारीले राज्यकोषको रकममा मोजमस्ती गरिरहेका छन् । जाजरकोटका भूकम्पपीडित सर्वसाधारण नागरिक सिटामोल र जीवनजल जस्ता आधारभूत औषधि पाउनबाट वञ्चित छन् । उनै जनताको नाम भजाएर ‘गरीबी निवारण’का कार्यक्रम नवीकरण भइरहेका छन् ।

के गणतन्त्र भनेको सरकारी कार्यालयका होडिङ बोर्ड फेरिनु मात्र हो ? होइन भने सर्वसाधारणले सार्वभौम नागरिकको पहिचान कहिले पाउने ? पहुँचवाला सीमित नेताबाहेक सर्वसाधारणले गणतन्त्र आएपछि के फरक पाए ? उनीहरूको जीवनमा के सुधार आयो ? यो विषयमा कसले सोच्ने र कहिले समीक्षा गर्ने ?

सर्वसाधारण जनताको भोगाइमा सरकारको सेवाप्रवाह २०५२ सालमा माओवादी सशस्त्र संघर्ष शुरू हुनुपूर्वको अवस्था र अहिलेको अवस्थामा तात्विक भिन्नता छैन । यो बेग्लै कुरा हो, पटक–पटक सरकारको नेतृत्वमा पुगेको र अहिले पनि सरकारको नेतृत्वमा रहेको माओवादी मौन छ । 

जे कारणले नेपालमा माओवादी ‘जनयुद्ध’ शुरू भएको थियो, ती आधारभूत कुराहरू ज्युँका त्युँ छन् । रुकुम/रोल्पामा विद्रोहको राप बाँकी नै छ, मात्र माओवादी नेताहरू मौन छन् । प्रचण्ड, वैद्यदेखि विप्लवसम्मका नेताहरू अझै पनि रुकुम रोल्पाका जनताको असन्तुष्टिलाई देखाएर शक्तिआर्जनमा लागिरहेका छन् । आफ्नो वर्ग रूपान्तरण गरिसकेका उनीहरूले बेलाबखत रोल्पा रुकुमको भावनामा खेल्ने प्रयास गर्छन– हामी उथलपुथल ल्याउछु भन्छन् । तर कसले पत्याउने ? 

अध्ययनहरूले के देखाएको छ भने सशस्त्र द्वन्द्व भएका मुलुकमा द्वन्द्वपछिको कालखण्डमा एउटा अभिजात र नबधनाढ्य वर्गको जन्म हुन्छ । राज्य कमजोर भएको मौकामा व्यापारीहरूले तस्करी र कालोबजारीमार्फत् करोडौं कमाउने गरेका छन् । दोस्रो जनआन्दोलन पछिका डेढ दशकमा नेपालमा पनि त्यही भयो । स्वयं क्रान्तिको नेतृत्व गरेको पार्टीका प्रभावशाली नेताहरू सुन तस्करीको आरोपमा पक्राउ पर्ने अवस्था सृजना भयो । कमाण्डरहरू तस्करीमा पर्ने, नेताका छोरा सहकारी ठगीमा जेल जाने अवस्था सृजना भयो । 

राजनीतिक दलका नेताको आडमा ठेकेदारले एउटा सडक बनाउन दशकौं लगाउँछ, ढलाइ गर्न नपाउँदै भत्किने पुल बनाउँछ, धान रोप्ने समयमा ल्याउनुपर्ने मल धान काटेपछि ल्याउँछ । राजनीतिक संरक्षणमा भइरहेको यो दण्डहीनताले देशलाई जर्जर बनाउँदैछ । 

देशमा यो बेथिति आउनुको कारण राजनीतिमा मौलाएको डनवाद र धनवाद मुख्य कारण हो । स्वयं जनयुद्ध गरेका क्रान्तिकारीहरू समेत कमाउ धन्दामा लागे । जनयुद्धलाई आदर्श मान्नेहरू ‘धनयुद्ध’मा रमाउन थाले । हिजोका सर्वहारा नेताहरू केही वर्षमै नाटकीय ढंगले काठमाडौंका सुविधा सम्पन्न ‘भिल्ला’ कब्जा गर्न थाले । चिल्ला गाडीमा सयर गर्ने भए । परन्तु जे कारणले जनयुद्ध भएको थियो वा जनआन्दोलन उठेको थियो, ती मुद्दाहरू सडकमै छरपष्ट छन्, केवल नारायणहिटीबाट ज्ञानेन्द्र हट्नुबाहेक ।

सर्वसाधारणको दिनचर्या दिनप्रतिदिन झन् कष्टकर बन्दै गइरहेको छ । काठमाडौंमा ठडिएको धरहरा, राजधानीबासीको धारामा झरेको मेलम्चीको पानी वा नागढुंगाको २ किलोमिटर सुरुङले आमजनताको जीवनस्तरमा तात्विक भिन्नता ल्याउने छैन । देशमा धनी र गरीबबीचको खाडल झन् फराकिलो बन्दैछ । छोराछोरी पाल्न नसकेर आमाहरूले नाबालकसहित खोलामा हामफाल्ने गरेका समाचार आइरहेका हुन्छन् । शिक्षा र स्वास्थ क्षेत्रमा भएको व्यापारीकरणका कारण सर्वसाधारणहरू संविधानले परिभाषित गरेको मौलिक अधिकार र न्यूनतम सुविधाबाट समेत वञ्चित बन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

संविधानले शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुने भनेको छ तर, पैसा नहुनेहरू उपचार गर्न नसकेर मर्नुपर्ने अवस्था छ । सरकारी अस्पतालमा सामान्य शल्यक्रियाका लागि मानिसहरूलाई महिनौ कुर्नुपर्ने बाध्यता छ । गणतन्त्रका नाममा सरकारी कार्यालयको होडिङ बोर्ड परिवर्तन भएर के भयो ? जब सरकारी कर्मचारीको व्यवहार सुध्रिएको छैन भने ।

निरंकुश राजतन्त्रको अन्त्य र संविधान सभामार्फत् संविधान जारी भइसकेको अवस्थामा जनआन्दोलनका लागि ठूला राजनीतिक एजेण्डा त बाँकी छैनन् तर, जनआन्दोलन उठ्न सक्ने कारकतत्व भने काफी बाँकी छन् । जनतामाथि करको बोझ थुपार्ने तर, आधारभूत आवश्यकताबाट राज्य विमुख हुने अहिलेको अवस्थाले जनआक्रोशको पारो बढ्दैछ । 

स्रोतसाधनमा पहुँचवालाको मनोमानी, कुशासन, भ्रष्टाचार, महंगी, कालोबजारी, शिक्षा र स्वास्थ्यमा भइरहेको चरम व्यपारीकरण नातावाद/कृपावाद र बेथिति यस्तै ढंगले मौलाउँदै जाने हो भने नेपालमा कुनै बेला तेस्रो जनआन्दोलन नउठ्ला भन्न सकिन्न ।

देशमा सधैंभरि यस्तै राजनीतिक अस्थिरता, भ्रष्टाचार, जनतामा गरीबी, अभाव र अत्याचार बाँकी रह्यो भने नेपालमा तेस्रो जनआन्दोलन अवश्यम्भावी हुनेछ । परिदृश्यमा नदेखिएको कुनै ‘नायक’ले त्यसको नेतृत्व लिनेछ, जसरी एउटा हावादारी प्रसाईंले जनता भड्काएर धेरैको ध्यानाकर्षण गर्न सफल भए । हुनसक्छ, त्यो जनआन्दोलन वा क्रान्ति उठ्न केही दशक किन नलागोस् !

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x