०३ साउन २०८३, आइतबार

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार नियुक्तिमा चलखेल

पहिलो नम्बरमा सिफारिस भएका व्यक्तिलाई रोकेर पाँचौं नम्बरकालाई नियुक्ति गर्न दबाब
बैशाख ३१, २०८१
बुटवल
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार नियुक्तिमा चलखेल

सिफारिस भएको लामो समयसम्म पनि लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार नियुक्ति हुन सकेको छैन । रजिष्ट्रार नियुक्ति गर्नुको सट्टा सिफारिस उल्ट्याउन केही धार्मिक संस्था र व्यक्ति लागेका छन् । 

रूपन्देहीमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयमा गएको चैत १ गतेदेखि विश्वविद्यालयको रजिष्ट्रार पद रिक्त छ । रजिष्ट्रार नियुक्तिमा कानूनी र प्रक्रियागत समस्या नभए पनि नियुक्तिमा ढिलाइ भइरहेको हो ।

विश्वविद्यालयको ऐनले उपकुलपतिको सिफारिसमा कुलपतिले रजिष्ट्रार नियुक्त गर्ने व्यवस्था छ । उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले खुला प्रतिस्पर्धा गराई मूल्याङ्कनबाट रजिष्ट्रार नियुक्तिका लागि डा. तिलकराम आचार्यको नाम सिफारिस गरेका थिए । आचार्य पूर्वरजिष्ट्रार हुन् । 

उपकुलपतिले वैशाख ८ गते नाम सिफारिस गरे पनि कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझैसम्म नियुक्त गरेका छैनन् । यसबीचमा प्रधानमन्त्रीले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् । विश्वविद्यालयमा शैक्षिक तथा प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी रजिष्ट्रारको रहेको हुन्छ । तर, रजिष्ट्रार समयमै नियुक्त नगर्दा विश्वविद्यालयको कार्य प्रभावित भइरहेको विश्वविद्यालयले जनाएको छ ।

पहिलो नम्बरमा सिफारिस भएका व्यक्तिलाई रोकेर पाँचौं नम्बरका व्यक्तिलाई नियुक्ति दिन केही व्यक्तिहरू शिक्षा मन्त्री तथा प्रधानमन्त्री कार्यालयमा पुगेको स्रोत बताउँछ । 

रजिष्ट्रारको नियुक्ति रोक्न ब्योम कुशुम बुद्ध धर्म संघका प्रतिनिधि मुकुन्द विष्टले सक्रियता देखाएको स्रोतको दाबी छ ।  उनको नेतृत्वमा धर्माेदय सभाका उपाध्यक्ष केशवमान शाक्य, महासचिव सागरमान बज्राचार्यसहितका व्यक्तिहरू शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय धाइरहेको बताइएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठका स्वकीय सचिव कृष्णहरि पौडेलले भने मन्त्रीले बोलाएका कारण उनीहरू मन्त्रालय आएको जिकिर गरे । विश्वविद्यालयको विकासमा कुनै योगदान नगरेका धार्मिक संस्थामा जोडिएका व्यक्तिहरूले नै पदाधिकारी नियुक्तिदेखि तल्लो तहका पदीय नियुक्तिमा अनावश्यक प्रभाव पार्दै आइरहेको विश्वविद्यालयका एक प्राध्यापकले बताए । 

यसअघि विश्वविद्यालयको उपकुलपति नियुक्तिमा अवरोध सिर्जना गरिँदा सात महिनापछि मात्रै विश्वविद्यालयले उपकुलपति पाएको थियो ।  हाल उपकुलपति नियुक्त भएका प्रा.डा. सवर्णलाल बज्राचार्य थेरबाद पृष्ठभूमिका मानिन्छन् । उनको नियुक्ति रोक्न खोजेका व्यक्तिहरू नै रजिष्ट्रार नियुक्तिमा अवरोध गर्न प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयमा पुगेको बताइएको छ । 

मूल्याङ्कनका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश चन्द्र पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला र शिक्षाविद् प्रा.डा. पुष्कर बज्राचार्य सदस्य रहेको समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ । मूल्याङ्कन समितिले गरेको अन्तवार्ता तथा विश्वविद्यालयको सोच पत्रको अन्तिम मूल्याङ्नबाट आचार्यले सबैभन्दा धेरै अंक पाएका थिए । 

विश्वविद्यालय स्रोतका अनुसार उनले एक सय पूर्णांकमा ८० अंक पाएका छन् । दोस्रो स्थानमा रहेका प्रा. डा. नरेन्द्र कटुवालको ६३ अंक छ । विश्वविद्यालयको बेरुजु फछ्र्याैटमा उत्कृष्ट भएको मुख्यसचिव नेतृत्वको बेरुजु फछ्र्याैट समितिले उनलाई तीन पटक पुरस्कृत गरेको थियो । उनी  रजिष्ट्रार अफ द इयरबाट समेत सम्मानित भएका थिए । मूल्याङ्कन समितिले उम्मेद्वारको दीर्घकालीन दृष्टिकोण तथा अन्तर्वार्ताका आधारमा मूल्याङ्कन गरिएको जनाएको छ । विश्वविद्यालय २० वर्षअघि स्थापना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्