जीवन गतिशील छ । विगतका आरोह, अवरोहहरू जीवनलाई प्रगतितर्फ डो–याउने घटनाक्रम मात्र हुन् । सामाजिक व्यवस्था निरङ्कुश एवं विकृत भएका समयमा साहित्य नै एउटा यस्तो उपाय बन्दछ, जसबाट समस्त जनतामा जागरण सन्देश फैलाउन र क्रान्तिका लागि तयार राख्न सकिन्छ ।
अर्को यसले सामाजिक विकृतिलाई हटाउन पनि सहयोग गर्दछ । प्राचीन इतिहास हेर्दा प्लेटो, होमर, इलियट, शेली, किट्स, यिट्स, ग्रिन्सवर्ग लगायतका साहित्यकारले समाज सुधारका लागि पृष्ठभूमि तयार पार्ने क्रममा आफूलाई समर्पित गर्दै आएका छन् । त्यसपछिका बिटल्स, हङ्ग्री जेनेरेसन, एंग्री मुभमन्ेट सबै सामाजिक सुधारका लागि समर्पित थिए । तर आन्दोलनलाई सही रूपमा वरण गर्न नसक्दा आन्दोलकहरू नै विकृत बनेको पश्चिमा साहित्यको प्रमाण पनि छ । हाम्रो साहित्यिक इतिहास हेर्दा पनि यो जीवनको सरल अस्तित्वका खातिर कुनै न कुनै रूपमा आन्दोलन केन्द्रित पाइन्छ ।
नेपाली साहित्यिक आन्दोलन हेर्दा भानुभक्त–मोतीराम भट्टका समयसम्म आलङ्कारिक बिम्ब र प्रतीकहरूको प्रयोगबाट समाजसुधारका लागि दिएका सन्देशहरू जानेबुझेका व्यक्तिहरूका लागि मात्र पढ्न सकिने थिए । तैपनि भानुभक्तले गरेको समाजको यथार्थ चित्रणले तत्कालीन समाजको सोलोडोलो प्रस्तुति गरेका थिए । तत्कालीन व्यवस्था, सामाजिक व्यवहार, कार्यालय व्यवहार, दण्डप्रक्रिया जस्ता कुराहरूप्रति आलङ्कारिक व्यङ्ग्य दिनु भानुभक्तीय प्रवृत्ति देखिन्छ ।
मोतीराम तथा शम्भुप्रसाद ढुंगेलका सौन्दर्य रसयुक्त कविताहरूलाई छाडेर हेर्ने हो भने त्यस परिवेशमा साहित्यले समाज सुधारको बिगुल फुकेका थिए । यस समयमा कि त तत्कालीन पारिवारिक शासनप्रति भक्तिभाव देखाउने, कि सौन्दर्य मनोरञ्जनपूर्ण श्लोक रट्ने, भक्तिधारका कविता लेख्ने प्रवृत्ति देखाप–यो भने साहसी कलमबाट पारिवारिक शासनप्रति व्यङ्ग्य देखाउने, सामाजिक जागरणको सन्देश दिने गीत, कविताको पनि छन्दोबद्ध प्रस्तुति हुन थाल्यो । त्यसबेलामा देखिएको भक्तिधारा प्रवृत्ति पनि जहानियाँ शासन प्रणालीको थिचोमिचोबाट पर रहन चालिएको कदम हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ ।
राणाको स्वीकृति र सम्मतिविना कुनै पनि रचना प्रकाशित हुन पाउँदैनथे । साहित्य संवर्द्धनका लागि स्थापित गोरखाभाषा प्रकाशिनी समिति पनि राणाहरूकै सदस्यको अधीनस्थ भएकाले साहित्यमाथि कडा निगरानी राखिन्थ्यो, जसको प्रस्ट प्रमाण भने ‘मकैको खेती’ बाट पाउन सकिन्छ ।
तत्कालीन कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीका नाममा वि.सं. १९७७ मा प्रकाशित ‘मकैको खेती’ पुस्तकका विषयमा कुमारी चोकका खरिदार भोजराज काफ्लेले पोल लगाएपछि प्रकाशित हजार प्रति पुस्तकमध्ये प्राप्त ९९९ प्रति जलाउनुका साथै यसमा संलग्न व्यक्तिहरू पक्राउ परे । सुब्बा कृष्णलाल भने बाँकी एकप्रति पुस्तक बुझाएको छ वर्ष र नबुझाएको नौ वर्षका लागि जेल चलान भए ।
कृष्णलालले लेखेको ‘मकैको खेती’ साहित्यिक भन्दा पनि नेपालको भू–धरातलीय स्वरूपअनुरूप ‘मकैको खेती’लाई उन्नत रूपमा सञ्चालन गर्न लेखिएको अनुसन्धानात्मक कृति थियो र यसमा राणा परिवारलाई मकैको खेती नष्ट गर्ने कीराका रूपमा व्यङ्ग्यात्मक प्रस्तुत गरिएको थियो । यसलाई सहन नसक्ने राणा शासक र कृष्णलालको प्रगति देख्न नसक्ने भोजराज जस्ता चाकडीबाजहरूले गर्दा उक्त कृति जलाइएको थियो । साहित्यले सामाजिक परिवेशलाई चित्रण गर्ने परम्परा भने यस कृतिलाई जलाएर पनि रोक्न सकिएन । रोक्न सकिने कुरा पनि थिएन । लेखक मैनाली त्यसपछि महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतका व्यक्तिहरूको संंलग्नताबाट शुरु भएको पुस्तकालय स्थापना गर्ने कार्यलाई पनि जनतामा चेतना फैलिने डरले राणा शासकले सफल हुन दिएनन् । ऐतिहासिक रूपमा ‘लाइब्रेरी पर्व’ बाट चिनिने यस पर्वका प्रमुख व्यक्तिहरू पनि सजायका भागी भए । बिस्तारै दमनको क्रम अघि बढ्दै थियो भने शुक्रराज शास्त्री एवं पण्डित मुरलीबाट कथावाचन गर्ने, साहित्यिक व्याख्यान गर्ने र समाजलाई क्रान्तिका लागि तयार पार्ने क्रम पनि शुरु भइरहेको थियो ।
नेपालभित्रै ‘शारदा’ पत्रिकाको प्रकाशन शुरु भइसकेको थियो भने प्रवास तथा देशबाट पण्डित धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, पारसमणि प्रधान लगायतका कवि–साहित्यकारबाट प्रतीकात्मक रूपमा राणा शासनका विरुद्ध जनमत तैयार पार्ने काम शुरु भइरहेको थियो । बनारसबाट कृष्णप्रसाद भट्टराई, ईश्वर बराल, गोपालप्रसाद भट्टराई, गोपालप्रसाद रिमाल र विश्वेश्वरप्रसाद कोइराला साहित्य र पत्रिकाका माध्यमबाट भारतमा अंग्रेजको विरुद्धमा र नेपालमा राणाको विरुद्धमा जनमत तयार पारिरहेका थिए ।
शहीद काण्ड र सातसालको प्रजातन्त्र प्राप्तिपछि पनि साहित्यकारहरूको कलमको प्रगतिशील यात्रा रोकिएन । सामाजिक सुधारका विविध पक्षमा जनचेतना फैलाउन साहित्यिक अभिव्यक्ति केन्द्रित रहँदै गयो । खुला वातावरण प्राप्तिपछि साहित्यकारहरूको दृष्टिकोण राजनीतिकभन्दा सामाजिक तथा आर्थिक जागरणका खातिर केन्द्रित रहेको देखिन्छ । यस समयमा साहित्यिक क्रियाकलापहरू र सर्जकहरूको संख्यात्मक वृद्धि हुन पुग्यो । पत्रपत्रिका प्रकाशन, साहित्यिक संगोष्ठी प्रतियोगिता, प्रतिष्ठान तथा मञ्चहरू स्थापना भए । पुरस्कारहरूको स्थापना भयो । साहित्यिक यात्रामा दार्शनिक–एवं कलात्मक पक्षको आग्रह यस समयमा राख्न थालिएको थियो ।
तर पञ्चायतको नाममा स्थापना भएको एकतन्त्रीय शासन प्रणालीले गर्दा ठूला–ठूला साहित्यकारहरू व्यवस्थाको गुणगान र राजभक्तिमा केन्द्रित रहे । महाकवि लक्ष्मीप्र्रसाद देवकोटा, गोपाल प्रसाद रिमाल, विश्वेश्वरभन्दा म.वि.वि.शाह, चाँदनी शाह, जी शाहको साहित्यिक योगदानले चर्चा पाउन थाल्यो । साहित्य र कलामा कलाकारिताको स्वाभाविक धर्मबाट विषयान्तर भई अवसरवादको विकासले पनि चरम रूप धारण ग–यो तर वास्तवमै प्रतिभाका धनी व्यक्तिहरू भने स्थापित नै रहे भने जागरुक नवप्रतिभाहरू पनि जीवनको गतिशीलताको खोजीमा लागिपरे ।
‘पञ्चायतको चाहना शान्ति र सिर्जना’ मार्फत थालिएको स्तुतिगानले निरन्तरता पायो । अर्को, यसै समयमा साहित्यमा प्रगतिवादी धाराको विकास हुन थाल्यो । केहीअघि नै हृदयचन्द्रसिंह प्रधान, डिपी अधिकारी जस्ता अग्रणीहरूले तय गरेको प्रगतिवादी धारलाई गोकुल जोशी, युद्धप्रसाद मिश्र, श्यामप्रसाद, पारिजात जस्ता सिद्धहस्त हस्ताक्षरबाट उत्कर्ष प्रदान गरियो । विद्रोह, जागरण, क्रान्ति, प्रगति, उन्मुक्तिका स्वरहरू यस प्रवृत्तिको प्रमुख विशेषता थियो । त्यस्तै राल्फावादी दर्शनअनुरूप मञ्जुल, जेबी टुहुरे, रामेश, रायनले साहित्यलाई सांगीतिक गेयसुलभ मोड दिन पुगे ।
सामाजिक विकृति हटाई समतामूलक संरचना स्थापना गर्ने ध्येय यो अभियानले राखेको देखिन्छ । साहित्य संगीतलाई जनस्तरमा पु–याउने जमर्को पनि सर्वप्रथम यही अभियानले गरेको पाइन्छ । सन्देशमूलक विचारहरू गितारका तार र मधुर लयमा घरदैलोसम्म पु–याउँदा वास्तवमा साहित्य–संगीतले प्रायोगिक मूल्य पाएको मान्नुपर्छ ।
साहित्यिक आन्दोलनको कुरा गर्दा आयामेली आन्दोलनको नाम नलिँदा नेपाली साहित्यको इतिहास नै अपुरो हुन जान्छ । यसले साहित्यमार्फत जीवनलाई हेर्ने दृष्टिकोणलाई विस्तृत वा आयामिक धरातल दिने चेष्टा गरेको थियो । आयामेली आन्दोलनले साहित्यमार्फत जीवनलाई गरिने व्याख्या र अभिव्यक्तिप्रति नै नयाँ मान्यता स्थापित गर्न पुग्यो । साहित्य सिर्जनाले समग्र मानिसको सोलोडोलो स्वरूपलाई इङ्गित गर्न सक्नुपर्छ ।
रेखाहरूबाट बनेका अक्षरबाट जीवनको सम्पूर्णता व्यक्त पाउनु वास्तवमै कठिन कार्य हो । अक्षरको ठोस वस्तुको झै तीन आयाम हुँदैन, न सिंगो भौतिक मानिस वा वस्तुको तीनै आयाम मानव आँखाले एकसाथ देख्नसक्छ । साहित्यमार्फत समग्रमा जीवनका सबै आयाम मानव मनमस्तिष्कले अनुभूत गर्न सक्नुपर्छ ।
त्यसैले अघिबाट साहित्य लेखकले चेप्टो र गतिहीन जीवन अभिव्यक्त गरेकोमा गतिशील साहित्यको आग्रह राख्दछन् आयामेली प्रतिष्ठाता ईश्वरवल्लभ, वैरागी काइँला र इन्द्रबहादुर राई । गतिशील साहित्यमा केही नयाँ, केही विद्रोह, केही विज्ञान र केही दर्शन हुनुपर्छ । निरीश्वर साहित्यमा यो पाइँदैन न छायावादी प्रवृत्तिले जीवनका समग्रता समेट्न सक्छ । आयामेली मान्यता छ घनत्व, वस्तुता र समग्रता साहित्यमा भेटिनुपर्छ । एउटा मानिसले दुःख पाएको कथाको धर्काचित्र मात्र जीवनको अर्थवत्ता सिद्ध गर्न सक्तैन ।
घटना अभिव्यक्तिको चित्रसाम्य भाषा पनि जीवनकथा ओकल्न आवश्यक छ । अन्यथा इन्द्रबहादुर राईले भनेझंै हामी खीर वनाउने बहानामा दूधभातमा चिनी हालिरहेका हुनेछांै । ‘हामी भ्रम लेख्दा रहेछांै, यो कला कलाका लागि पनि भएन । समयसापेक्ष अनुभूति पनि भएन । यसैको विद्रोह हो ईश्वरवल्लभको ‘आगोका फूलहरू....’ को कविता, वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’ इन्द्र ब. राईको कथा–उपन्यासको वैचारिक अभिव्यक्ति । आफूप्रति र आफ्नै आस्थाप्रति इमान्दार हुन शिक्षा दिएका छन् आयामेली आन्दोलकहरूले तर प्रगतिवादी धारामा झैं यहाँ जीवनको प्रस्तुति प्रस्ट नभई चित्रसाम्य, घनत्वमूलक र विस्तृत छ । चित्रसाम्य यसकारण कि सरलता जीवनको आग्रह र अभीष्ट हो तर जटिलता जीवनको वस्तुता हो अनि समकालीन वातावरणले साहित्य सिर्जनालाई प्रभाव पारेको हुन्छ ।
तीसको दशकमा भारतले सिक्किमप्रति लिएको कदमविरुद्धको भावना, भुट्टोलाई फाँसी दिइसकेपछि जिया उल हकको निरङ्कुशतामा गुज्रिरहेको पाकिस्तान, जनरल नेभिनकालीन बर्माको उत्पीडनका साथसाथै नेपालको तत्कालीन संविधानको निरङ्कुशतातर्फको यात्रालाई नेपालभित्र र बाहिरका नेपालीभाषीहरूले आफूभित्र विद्रोहको राँको उमार्न लागेका थिए ।
छेकवार, बाधा र अवसरको भूलभुलैयामा समयप्रति अन्याय गरेनन् कवि–साहित्यकारहरूले । विद्यालय, महाविद्यालय, पत्रिका जमघट, सभा, मञ्च, डबली सबै स्थानमा विद्रोहको नवसञ्चार फैलिन थालेको थियो । तर यसलाई कुल्चने दुस्साहसहरू २०३६ को प्रायोजित घटनाक्रमले देखाएको थियो ।
यसलाई देख्न र हेर्न सकेनन् कविहरूले अनि ‘सडक कविता क्रान्ति’ का स्वरहरू चोक, चौर, गल्ली, जमघटमा गुञ्जन थाल्यो । हरिभक्त कटुवाल, मोहन कोइराला, भवानी घिमिरे जस्ता प्रौढ र सिद्धहस्त कविका साथ दिनहुँजसो एक हुल कविहरू सडकलाई कविता सुनाउँदै चेतनाका तरङ्गहरू जनमानसमा पु–याउन थाले । कविहरू स्वतन्त्रताका पक्षपाती हुन्छन् ।
कवि कलाकार मानवताप्रति संवेदनशील प्राणी हुन्; निरङ्कुशता र शोषण स्वीकार्य हुँदैन उनीहरूलाई । त्यसैले सडक कविता क्रान्ति जनतालाई रैतीबाट स्वाधीन र सार्वभौम बनाउन थालिएको आन्दोलन थियो । कवि भावनाको उत्सर्गले मात्रै पनि थर्कमान गराएथ्यो त्यस परिवेशलाई । यो आन्दोलन मुक्तिको अभिव्यक्ति थियो, स्वतःस्फूर्त थियो न यसका श्रोताहरू जीव–निर्जीव, मानव–गैरमानव सबै स्वाधीनताप्रेमीहरू थिए ।
त्यसैले यसलाई बुटले कुल्चन अनि संगीनले दबाउन पनि सकेन । कविहरू पेट थिचेर सर्वसाधारणका दुःख गाउँथे, पीडित सर्वसाधारणहरू थपडीले साथ दिन्थे, चाटुकारहरू टुलुटुलु हेरीमात्र रहन्थे । त्यसैले दयाको आग्रह हैन, विद्रोहको विगुल बजायो सडक कविता क्रान्ति २०३६ ले । प्रजातन्त्रको प्राप्तिका लागि यसले जनतालाई उभ्याउन सक्यो । तर यो हड्ताल वा क्रान्ति झैं एकैदिन मात्र देखिएन । क्रान्तिका लागि पृष्ठभूमि तयार पार्न निरन्तर लागिरह्यो – कुनै न कुनै अभिव्यक्तिबाट ।
२०३६ को जनमत संग्रहको प्रायोजित नतिजापछि संख्यात्मक रूपमा साहित्यकारहरू क्रान्तिको र जागरणगीतमा पछि परेको महसूस हुन्छ । तर गुणात्मक अर्थमा भने कम आँक्न सकिन्न । प्रगतिवादी धारलाई समेट्ने संकल्प, झिसमिसे, वेदना जस्ता पत्रिका मार्फत मञ्जुल, मोहन दुवाल, कुन्ता शर्मा, श्रीहरि फुँयाल, गोकुल जोशी, पारिजातहरू आन्दोलित नै रहे ।
बिस्तारै सडक नाटकहरू सामाजिक चेतनामा लहर फैलाउन अघि सरे । साहित्यिक पत्रकार संघको औपचारिक निर्माण भयो । प्रगतिशील साहित्यकारहरूको पनि संघ बन्यो । व्यक्तिगत रूपमा पनि सचेत कवि–कथाकार, गायकहरू अभियानको निरन्तरतामा रहे । तर २०३६ सालमा देखिएको जागरुकता पछिल्लो दशकमा देख्न सकिएन ।
२०४६ सालको आन्दोलनमा बुद्धिजीवीहरूको संलग्नता जति रह्यो, अपेक्षाकृत कलमजीवीहरूको सहभागितामा कमी देखियो । यसो हुनुमा विद्युतीय सञ्चारका माध्यमको विकासले जनतामा साहित्यप्रतिको रुचिमा प्रतिस्थापन भएको हुन सक्तछ भने साहित्यले नयाँ दृष्टि प्रवेश गर्नु परिरहेको थियो भन्ने पनि हो । प्रजातन्त्र प्राप्तिपश्चात् सामाजिक आन्दोलनको अपरिहार्यता यस अर्थमा पनि बढेको थियो कि नागरिक सहभागिताको चेतना फैलाउन र बहसको विषय बन्दै गएको आर्थिक प्रणालीलाई समतामूलक र न्यायपूर्ण रूपमा पनि साहित्यले अरू प्रायोगिक अभिव्यक्ति दिनु आवश्यक थियो ।
राजाको प्रत्यक्ष शासनका समयमा एकातिर लोकतन्त्र अपहृत थियो भने अर्कोतर्फ माओवादी सशस्त्र द्वन्द्वले मुलुकमा डर, भोक, आन्तरिक विस्थापन एवं हत्या हिंसाको पीडा व्याप्त थियो । कतिपय साहित्यकार र कला सर्जक यस अवस्थालाई सांस्कृतिक रूपान्तरणको आधारका रूपमा लिएर आन्दोलित थिए भने केही स्थापित साहित्यकार र कलाकार राजा र उनले चालेको कदमको स्तुतिगानमा व्यस्त थिए, उनीहरू जनताको करबाटै सुविधा लिएर देशदौडाहामा थिए, तर उनीहरूमा जनताको संवेदनाले छोएको थिएन । तर लोकतन्त्र, नागरिक अधिकार र वैयक्तिक स्वतन्त्रका पक्षपातीहरू भने जनताको स्वर, संवेदना र भावनालाई कथा, कविता, नाटक, व्यङ्ग्य, पत्रिकाको स्तम्भमार्फत ओकलिरहेका थिए ।
भाद्र २०, २०६२ मा कलम र कलामार्फत समाज सुधारका सन्देश प्रवाह गर्न साहित्यकार÷पत्रकारहरूबाट आह्वान भएको थियो । रामेश, रायन, जेबी टुहुरे जनताका स्वर गुञ्जाउन व्यस्त थिए भने विमल निभा, आनन्द पौडेल, खगेन्द्र संग्रौला, गोविन्द वर्तमान, अर्जुन पराजुली, हरिगोविन्द लुइँटेल, युवराज मैनाली, पूर्ण विराम, श्याम तमोट, नारायण ढकाल लगायतका सर्जकहरू आआफ्नै विधा अभिव्यक्तिमा आन्दोलित थिए । पञ्चायतकालीन निरङ्कुशताविरुद्ध वैरागी काइँला प्रस्तुत भएसरी सर्जकहरू सडक, समाज र समस्त शासकलाई सन्देश दिइरहेका थिए ः
‘हाम्रा पहाडहरू सडकमा हिँडून्, चिसा हिउँका सेता टोपीहरू फुकालेर हामीसँगै हाम्रा हिमालहरू हिँडून्, घाम र अत्याचार दुवैले उत्तिकै तातेका तावाजस्तै तराईहरू हिँडून् मरिरहेको राष्ट्रको जीवनको निम्ति यदि हिँडिदिए भने त्यसरी पुगिएला उसको ठाउँसम्म अन्यथा ऊ आउँदैन ।’ (गोविन्द वर्तमान)
साहित्य समाजनिरपेक्ष विधा होइन । अहिले पनि मुलुक आर्थिक, सामाजिक र राजनीतिक विकृतिबाट आक्रान्त छ । सामाजिक सहभाव बिथोलिएला कि भन्ने चिन्तामा दिनेश अधिकारी तराई पहाड हिमालका गीत लेखिरहेका छन् । युवराज मैनाली व्यङ्ग्य र लघुकथामार्फत समाजलाई घोचिरहेका छन् । युवाकवि सुदेश सत्यालका समकालीन स्वरहरू हिजोआजका विकृति उछाल्न र मानव मूल्य स्थापित गर्न केन्द्रित छन् । छापा तथा विद्युतीय वैकल्पिक माध्यम उपलब्ध भएकाले सर्जकहरू आफ्ना सिर्जनालाई सर्वसाधारणले मन पराउने विधा रोजेर उनीहरूको मनभित्र पस्न थालेका छन् । यो बाटो सहज र सरल पनि बनेको छ ।