०३ साउन २०८३, आइतबार
नयाँ दलमा उकुसमुकुस

महामन्त्रीको प्रतिवेदनले रास्वपामा भुइँचालो !

पार्टी गठनको २ वर्षमै रवि 'ब्रान्ड'मा धक्का, असन्तुष्टि चुलिँदा गुट-उपगुटको जन्म
असार १३, २०८१
काठमाडौं
महामन्त्रीको प्रतिवेदनले रास्वपामा भुइँचालो !

स्थापनाको २ वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र अस्वाभाविक छटपटी र उकुसमुकुस विस्फोट हुन थालेको छ । २०७९ असार ७ गते स्थापना भएलगत्तै ५ महिनापछिको चुनावमा २० सिट जितेर रास्वपाले परम्परागत दलविरुद्ध धावा बोलेको थियो । 

टेलिभिजन प्रस्तोताको रूपमा जबर्जस्त छवि बनाएका रवि लामिछानेले आफ्नै ‘ब्रान्ड’मा रास्वपालाई स्थापित गराए । छोटो समयमा पार्टीलाई संसदमा २१ सिट दिलाएर चौथो शक्तिमा पनि पुर्‍याए । उनकै नाम र ब्रान्डले रास्वपाले छोटो समयमा परम्परागत शक्ति कांग्रेस, एमाले र माओवादीलाई हायलकायल नै बनाइदियो । पुराना दललाई ‘सक्किने कि सच्चिने’ भन्नेसम्मको स्थितिमा पुर्‍याउने गरी रास्वपाले चितवन– २ र तनहुँ– १ को उपनिर्वाचनमा पनि शानदार जीत दर्ता गर्‍यो ।

रातारात उदय र उचाइ रास्वपाको पहिचान थियो । उदयकै रफ्तारमा विवाद, संकट र समस्याको चाङमा रास्वपा भासिँदै आएको छ । पार्टीभित्र देखिएका बेथिति र असन्तुष्टि यसअघि नेताको तहमै सीमित हुन्थ्यो । यसअघि नेताको तहमै सीमित भएका असन्तुष्टि विस्तारै छताछुल्ल हुन थालेका छन् । 

पार्टी स्थापनाको केही समयसम्म सभापति लामिछानेका विश्वासपात्र मानिने महामन्त्री एवं पार्टी प्रवक्ता डा. मुकुल ढकालले देशभर डुलेर सभापतिलाई बुझाएको प्रतिवेदनले असन्तुष्टि विस्फोटको संकेत गरेको हो । 

‘आशाका साथ जनताले विश्वास गरेका थिए । तर, आशा नदेखिको हो कि जस्तो देखिन्छ । बादल मडारिएको छ । घण्टी केही कालो देखिएको छ । तर, घण्टी निलो नै छ भनेर देखाउनुपर्छ,’ डा. समेत रहेका ढकालले सभापतिलाई समीक्षा प्रतिवेदन बुझाएपछि ढकालले भने, ‘राजनीतिका विकृत र विकारले हामीलाई छुँदै गएको आभास तथा अनुभूति भएको छ । यसबाट झसंग भएर छुटकारा पाउनुपर्छ । हामीप्रतिको आशा मरिसकेको छैन । पार्टी बिरामी छ, अस्पतालमा राखेर उपचार गर्नुपर्छ । तर, लाजले स्वीकारेनौं भने अनि अस्पताल लगेर उपचार नगरे गाह्रो हुन्छ । सामान्य सिटामोलले हुँदैन, मेजर सर्जरी नै चाहिएको छ ।’ 

राजनीतिका विकृत विकारले रास्वपालाई छोएको भन्दै ढकालले यो बाटोबाट नसच्चिए अर्को चुनावमा १/२ सिट पनि जित्न नसक्ने कठोर टिप्पणी गरेका छन् । 

‘पुराना पार्टीको प्रवृत्ति हामीमा पनि आएको छ । केही साथी र मान्छे काठमाडौंको कोठामा बसेर कुरा गर्छन्, तर म देश डुलेर आएको छु । यसैले निर्मम समीक्षा गर्न पार्टीले आदेश दिएको थियो । यो आदेशबमोजिम निर्मम समीक्षा गरेको छु,’ ढकालले भने, ‘मैले भनेको होइन, आजका जनताले भनेका हुन् । तीन हजारभन्दा बढी जनतासँग अन्तरक्रिया गरेर आएको छु । मेरो प्रतिवेदनअनुसार अहिलेकै अवस्थामा चुनावमा गए राष्ट्रिय पार्टी मात्रै बन्न सक्छ, केही सिट मात्रै जित्न सक्छ । यही गति भए अझै तल पुगिन्छ ।’

संसदमा रवि लामिछाने

बढ्दो असन्तुष्टि र गुटबन्दी

सभापतिलाई बुझाएको प्रतिवेदनले पार्टीको वस्तुस्थिति चित्रण गरेको भन्दै उनले पार्टी पंक्ति र नेपालीमाझ सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिवेदन जस्ताकोतस्तै सार्वजनिक नगरिए रास्वपालाई भोट दिएका ११ लाख ३ हजार मतदाता र आफूमाथि अन्याय हुने पनि उनले बताएका छन् । पार्टी दुर्घटनाउन्मुख छ भनेर नागरिकले भनेको कुरा पनि प्रतिवेदनमा उल्लेख गरेको उनले बताएका छन् । 

‘पार्टी दुर्घटनाउन्मुख छ । नागरिकले यही भनिरहेका छन् । मैले त्यही कुरा बोलिदिएको हो,’ ढकालले भनेका छन् । यतिमात्रै होइन, जिम्मेवार पदाधिकारी रहेका ढकालले आफूले गर्दै नगरेको कामको दोष थोपरेर घृणित राजनीति गरेको पनि बताएका छन् । प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक नभए आफूमाथि अन्याय हुने भन्दै उनले रास्वपामा चरम गुटबन्दीको अभ्यास भएको उल्लेख गरेका छन् । 

हुन पनि पछिल्लो समय रास्वपामा चरम गुटबन्दीको अभ्यास हुन थालेको छ । सभापति लामिछानेसँग महामन्त्री ढकाल तथा सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, तोसिमा कार्की, सोविता गौतमलगायत असन्तुष्ट रहेको चर्चा हुँदै आएको छ ।

कार्की र गौतम त संसदमा पार्टीले भूमिका नदिएदेखि नै सभापतिसँग असन्तुष्ट रहँदै आएका छन् । यी दुवैले प्रत्यक्षरूपमा सभापतिको विरोध गरेका छैनन् । तर, सभापतिले आफू निकटकालाई च्यापेर आफूहरूलाई अवसर नदिएको उनीहरूको गुनासो छ ।

उपसभापति स्वर्णिम वाग्ले र शिक्षामन्त्री सुमना श्रेष्ठ समेत सभापति लामिछानेसँग असन्तुष्ट रहेको दाबी नेताहरू गर्छन् । 

सभापति लामिछानेसँग उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष दीपकराज बोहोरासहितका नेता निकट छन् । 

रविकै ब्रान्डमा चुनाव जितेपनि उनी एकपछि अर्को गर्दै विवादमा फस्ने र पार्टी कमजोर हुने स्थिति आएपछि रास्वपामा गुटबन्दी मौलाउन थालेको एक नेताले बताए ।

ढाकाकुमार श्रेष्ठलाई समानुपातिक सांसद बनाउँदा आर्थिक लेनदेन, सभापतिकै नागरिकता तथा पासपोर्ट, सहकारी ठगी प्रकरण मात्रै होइन, सरकारमा स्वार्थपूर्ण सहभागिताको विषयले पनि रास्वपा र सभापति रविमाथि एकपछि अर्को प्रश्न उठेको छ । 

‘सहकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठेदेखि नै संसदीय दलका उपनेता एवं अहिलेका खेलकुद मन्त्री विराजभक्तजी असन्तुष्ट हुनुहुन्थ्यो । उहाँले सामाजिक सञ्जालमा सलाइको काँटी लहरै राख्दै एउटा जल्दा सबै खरानी हुने संकेत सभापतिलाई लक्षित गरेर गर्नुभएको थियो,’ रास्वपा स्रोत भन्छ, ‘श्रेष्ठ असन्तुष्ट देखिएपछि भेटेरै कुराकानी गरेर सभापतिले जसोतसो मिलेर अगाडि बढ्न खोजेको जस्तो देखाउनुभयो । तर, अहिले उहाँले विश्वास गरेका महामन्त्रीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै गुटबन्दीको चरम निशानामा परेको प्रस्टै बताउनुले रास्वपा सहज बाटोमा छैन भन्ने देखाउँछ । यस्तो असन्तुष्टिको लहर लामो छ । अहिले बोल्न शुरू भयो, एक दिन विस्फोट हुन्छ ।’

महामन्त्री ढकाल

ढकालले प्रतिवेदनमा गम्भीर कुरा उठाउँदा महामन्त्री पदको पनि पर्वाह नगरेको बताएका छन् । 

‘मैले यसरी बोल्दा मसँग रिसाउने, मलाई हटाउने हुन सक्ला । सहदेवको जसरी मृत्यु हुन सक्छ । व्यक्तिको मृत्यु होला, महामन्त्री पदको पनि मृत्यु हुन सक्छ । म रहुँ वा नरहुँ, देश बाँच्नुपर्छ । म नरहे पनि पार्टी बाँच्नुपर्छ,’ ढकालले भनेका छन्, ‘महामन्त्रीलाई पनि बोल्न आउँछ । प्रश्न मलाई मात्रै किन आउँछ ? प्रश्न सबैलाई गर्नुपर्छ । के प्रश्न उठाउनका लागि पार्टीमा म मात्र पात्र हुँ ?’ खरो बोल्दा आफूलाई पार्टीले कारबाही गरेर हटाउन सक्नेसम्मको परिस्थिति हेरेर ढकालले चलाखीपूर्ण रूपमा बोलेको नेताहरू बताउँछन् । 

‘२०८४ मा एकल बहुमत ल्याएर सरकार बनाउने भनेको पार्टीले इलाम उपनिर्वाचनमा जमानत नै जफत हुने स्थिति भोग्नुपर्‍यो । यस्तो हुनुमा सभापति रविको टीमका मान्छेले महामन्त्रीलाई दोषारोपण पनि गरे’, रास्वपाको एक नेता भन्छन्, ‘यसैले आफूमाथि मात्र आक्रोश व्यक्त भएपछि अहिले महामन्त्री बोल्नुभयो । यसरी आरोपित तथा अपमानित हुनेको ठूलो संख्या रास्वपामा छ ।’

पार्टी विधि, विधान र पद्धतिभन्दा सनकको भरमा चल्यो भनेर सार्वजनिकरूपमै प्रश्न उठाउँदै आएका केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री पनि आफ्नै बाटोमा आएको बताएका छन् । 

‘पार्टीको हालको अवस्थाको बारेमा उहाँको समीक्षाको धेरै कुरामा सहमत छु । पार्टीको विधि, चरित्र र बाटोको बारेमा मैले उठाइरहेको विषयमा आइपुग्नुभएकोमा स्वागत छ । सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुगियो कसरी ? पार्टीले आफ्नो चरित्र बिर्सिनुमा उहाँ स्वयं को योगदान कति रह्यो ?,’ कार्कीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संगठन अस्थिर र जथाभावी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचीमिची पार्टी कार्यालयमा नै आन्दोलन समेत गर्न उक्सायो कसले ? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न शुरू कसले गरायो ? यी र यस्ता धेरै प्रश्नको सही जवाफ खोज्न अब ढिला गर्न हुन्न ।’

पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर नसकिने भन्दै कार्कीले गल्तीलाई सुधारेर पार्टी बन्ने दिशामा रास्वपा अगाडि बढ्नुपर्ने बताउँछन् ।  

‘मलाई विश्वास छ, पार्टीले आफ्ना गल्ती सुधार्ने नै हो । पार्टी आफ्नो चरित्रमा फर्किने नै हो । पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर सकिँदैन । अनि प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि घोक्राइँदैन भन्ने सबुत प्रमाण म छु । नाजायज काम गरेकाहरू मात्र विचारसँग डराउने हुन्,’ कार्कीले लेखेका छन्, ‘यदि कोही तपाईंसामु रास्वपा सकियो भनेर खुसी भइरहेको छ भने खुसी हुनुपर्दैन भन्नुहोला । पार्टी अब बन्दैछ, आफ्ना गल्तीहरू शुरूदेखि सुधार गरेर ।’

प्रतिवेदन बुझेपछि सभापति लामिछानेले अहिलेसम्म पार्टी एक हिसाबले अगाडि बढे पनि अब यही रूपमा अघि बढाउन नसकिने बताए । 

पढ्नुहोस्, यो पनि :

२०८४ मा बहुमत ल्याउने रास्वपाको महत्त्वाकांक्षामा ठक्कर !

पार्टीलाई ठीक ढंगले कसरी लागे भन्ने पार्टीभित्रको चिन्ता हो । रास्वपाले गम्भीर समीक्षा गर्छ,’ ढकालको प्रतिवेदन बुझेपछि लामिछानेले भनेका छन्, ‘आफ्नो नागरिकले भनेको नमान्ने, आन्तरिक लोकतन्त्रलाई प्रमोट नगर्ने, देखिएका कमीकमजोरी लुकाउने, आफ्नो नेताले जे गरे पनि जिन्दावाद भन्ने पार्टी होइन रास्वपा, यो भएन, ठीक भएन भनेर पार्टीभित्र निर्मम समीक्षा हुन्छ । आफूले आफैंलाई समीक्षा गरेनौं, पर्दा राखेर बस्यौं भनेर कहिल्यै पार्टी माथि जाँदैन ।’

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले विवादमा मुछिएका सभापतिको बचाउमा पार्टीलाई संस्थागत रूपमा जोडिएको मन नपराउनेहरू असन्तुष्ट हुँदै आएको बताउँछन् । 

‘लामिछानेको सहकारी ठगी प्रकरणमा रास्वपाले त संस्थागतरूपमा नै बचाउ, ढाकछोप र प्रतिरोध गरेको छ । सहकारी ठगी रास्वपामाथिको होइन, रवि लामिछानेमाथिको अभियोग हो । त्यो पनि पार्टी स्थापना हुनुअघिको हो । रविको ढाल बनेर उनका कुकृत्यको ढाकछोप गरेपछि रास्वपाको उद्देश्य र औचित्यमाथि प्रश्नचिह्न खडा भएको छ,’ वाग्लेले रास्वपा गठनको दुई वर्षे समीक्षा गर्दै लोकान्तरसँग केही दिनअगाडि भनेका थिए, ‘कुशासन, भ्रष्टाचार, विकृति–विसंगतिकाविरुद्ध आवाज उठाउँदै उदाएको पार्टी आफ्नै सभापतिको अनियमितता,  अनैतिकता र आर्थिक अपचलनको ढाकछोप गर्न संस्थागतरूपमा परिचालन भएको छ । यस्तो प्रवृत्तिविरुद्ध भित्रभित्रै चरम असन्तुष्टि थियो, अब विस्तारै विस्फोट हुँदै जान्छ ।’

रास्वपाकी केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल विभिन्न विचारसमूहबाट आएका नेताले जन्माएको पार्टी भएको हुनाले एक डेढ वर्षमै यसरी प्रश्न उठाउन उचित नहुने बताउँछिन् । 

‘हामीलाई शुरूदेखि नै बौद्धिक वर्गले फ्रस्टेसनको भोट पाए भन्थे । दीर्घकालीन हुँदैन पनि भने । हो हामी पुराना पार्टीजत्तिको बन्न समय लाग्छ । उनीहरूको जति इमोसनल अट्याचमेन्ट हामीसँग पक्कै भइहाल्दैन, किनकि विभिन्न विचार समूहबाट आएकाहरू जोडिएर पार्टी बनेको हो,’ उनले भने, ‘वैचारिक मतभेद हुँदैमा पार्टी खत्तम भयो भन्ने होइन । माया र अट्याचमेन्ट भएकै ठाउँमा आक्रोश व्यक्त गर्न र गाली गर्न आँट आउने हो । विविध विचारबाट आएको हुनाले कतिपय कुरा बुझ्न, काम गर्न एकदुई वर्षको समय काफी हुँदैन । विस्तारै सिक्दै जाने हो । हामी विस्तारै सिक्दै, बुझ्दै अनि परिपक्व हुँदै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्