
२३ वर्षअघि पोखरामा पहिलोपटक ट्राफिक लाइट जडान गरिएको थियो । पोखरा कमर्सियल अटो पार्किङले तत्कालीन पोखरा नगरपालिकासँग समन्वय गरेर २०५८ सालमा पोखराका चोकमा ट्राफिक लाइट जडान गरेको थियो । पालिका र अटो पार्किङबीचको सम्बन्ध लामो समय राम्रो रहेन । परिणाम ट्राफिक लाइट व्यवस्थापन अलपत्र पर्यो ।
२३ वर्षको अन्तरालमा पोखरा महानगर भइसक्यो । सडकमा सवारी साधनको चाप ह्वात्तै बढेको छ । पृथ्वी, भूपी र सिद्धार्थ राजमार्ग जोडिने पोखराको चोकमा दैनिक हजारौं सवारीसाधन गुड्छन् ।
राजमार्गमा गुड्ने सवारीसाधन पोखराका मुख्यचोक पृथ्वी, सभागृह र जिरो किलोमिटर पुग्नैपर्छ । राजमार्ग र शहरी क्षेत्रमा गुड्ने सवारी साधनको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट छैन । प्रहरीको हातको इसारा र सिठीमा भर पर्नुपर्ने बाध्यता छ ।
पोखरामा ट्राफिक लाइट लगाउने महानगरको योजना बजेट र नारामा मात्र सीमित छ । महानगरले ट्राफिक लाइट जडान र व्यवस्थापनका लागि हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आएको छ । तर, काम भएको छैन ।
२०७५ सालमा सडक विभागले पोखरामा ट्राफिक लाइट जडानका लागि अध्ययन गरेको थियो । त्यसको तीन वर्षपछि २०७८ कात्तिकमा सडक विभागले पोखरा महानगरसँग समन्वय गरेर २६ स्थानमा बत्ती जडान गर्ने सम्झौता गरेको थियो । सम्झौता भएको साढे दुई वर्षभित्रमा जम्मा ६ स्थानमा ट्राफिक लाइट जडान भएको थियो । जडान भएका ट्राफिक लाइटसमेत सञ्चालनमा छैनन् ।
०००
पोखराको भिडभाड हुने मुख्य चोकहरूमा ट्राफिक लाइट राखेको डेढ वर्ष बित्यो । राजमार्गअन्तर्गत पर्ने पृथ्वीचोक, जिरो–किलोमिटर चोकमा राखिएका ट्राफिक लाइट अझै सञ्चालनमा आउन सकेका छैनन् । पोखरा महानगर र सडक विभागको समन्वयमा पृथ्वीचोक, सभागृह, सृजनाचोक, विरौटाचोक र महेन्द्रपुलमा ट्राफिक लाइट जडान गरिएको थियो । यी ट्राफिक लाइटमा पहेँलो बत्ती मात्र बलेर बसेको डेढ वर्ष बितिसक्यो । सभागृह, पृथ्वीचोक र सृजनाचोक यी तीन स्थानको दूरी चार सय मिटर हाराहारीमा छ । यी तीनै चोकमा ट्राफिक लाइट राखिएको छ ।
केही समय अगाडिसम्म ट्राफिक लाइट शुरूआत गर्न सडकको पूर्वाधार बनिनसकेको भन्दै सञ्चालनमा आएको थिएन । यी चोकमा मेटिएका जेब्राक्रसमा रंगरोगन भइसकेको छ । लाइट सञ्चालनका लागि सडकको संरचना तयार भएको कास्की ट्राफिक प्रहरीका इन्स्पेक्टर भानु शर्माले बताए ।
पोखरा महानगरले हरेक बजेटमा ट्राफिक लाइट र व्यवस्थापनका लागि भनेर बजेट विनियोजन गर्छ । तर, कार्यान्वयन आजसम्म हुनसकेको छैन । महानगरले २६ स्थानमा ट्राफिक लाइट जडान गर्नेगरी सडक विभागसँग समन्वय गरेको थियो । यीमध्ये ६ स्थानमा बत्ती जडानको काम सकिएको छ । समन्वयमा भएको काम सडक विभागले महानगरलाई हस्तान्तरण गरिसकेको छैन । जसकारण पनि कार्यान्वयनमा ढिलाइ भएको देखिन्छ ।
‘सडक विभागले हालेको लाइटहरू हो । महानगरसँग सम्झौता गरेर लाइट हालेको भन्ने छ । विभागले महानगरलाई ह्यान्डओभर गर्नुपर्ने र महानगरले हामीलाई ह्यान्डओभर गरेपछि सञ्चालनमा आउने भन्ने कुरा,’ इन्स्पेक्टर शर्माले भने ।

ट्राफिक प्रहरीले गत फागुनमा ट्राफिक सिग्नल फलो गराउन परीक्षण पनि गरेको थियो । परीक्षण सफल हुन सकेन । परीक्षण ताका उल्टै ट्राफिक जाम बढेको थियो । बत्ती जडान भएका स्थानमा ज्रेबा क्रससमेत थिएनन् ।
अहिले भने रंगरोगन लगाइएको छ । सञ्चालनका लागि आवश्यक सडक संरचना पूरा भएको बताएका इन्स्पेक्टर शर्माले एक हप्ताको समयमा पोखरामा ट्राफिक लाइट सुरुवात हुने सुनाए । यसको लागि यातायात व्यवस्था विभागबाट पत्र आइसकेको उनको भनाइ छ ।
‘हामीलाई यातायात व्यवस्था विभागले एउटा मेलमार्फत ट्राफिक लाइट सञ्चालन गर्न आवश्यक सहयोग गर्ने भन्ने हिसाबले पत्र पठाएको छ । सम्भवत: अब एकहप्ता जस्तो टाइममा शुरू हुन्छ होला,’ उनले भने ।
पैदल यात्रुलाई कति समय दिने ? सवारी साधनलाई कति दिने भनेर तालमेल मिलाउने काम भएको उनले बताए । छोटो दूरीमा ट्राफिक लाइट हुँदा पनि व्यवस्थापन गर्न थप चुनौती देखिन्छ । त्यसमा पोखराको सडक साँघुरो छ । राजमार्गअन्तर्गत पर्ने बाटो भए पनि मुख्य चोकमा दुई लेनको सडक छ ।
‘पोखरामा ट्राफिक फलो अलिकति बढी छ । साँघुरो सडकको अवस्थाले कार्यान्वयन गर्न अलिकति चुनौती त हुन्छ । तर, यत्रो लाइट हालिसकेपछि हामी कार्यान्वयन गर्छौं,’ शर्माले थपे ।
पोखराको मुख्यचोकमा पिक समयमा ट्राफिक जाम अत्यधिक हुन्छ । बिहानको ९ देखि ११ बजे र साँझको ३ देखि ६ बजेसम्म ८ जना ट्राफिक प्रहरी व्यवस्थापन गर्न खटिन्छन् । यो बाहेक पाँच जना दैनिक खटिन्छन् ।
यसबाहेक ट्राफिक लाइट सञ्चालनको चुनौती हो सर्वसाधारण । ट्राफिक सिग्नलमा अभ्यस्त नभएका सर्वसाधारणलाई शुरू समयमा कार्यान्वयन गराउनु पनि अर्को चुनौती रहेको उनी सुनाउँछन् । ‘लाइसेन्स लिएकोहरू पढेर आएको कुरा हो, ज्ञान हुन्छ तर, दैनिक जीवनमा अभ्यस्त हुनुहुँदैन । च्यालेन्ज त हुन्छ,’ शर्माले भने, ‘बुझाउन र कार्यान्वयन गर्न सुरुमा हामी सम्झाउने सिकाउने गर्छौ । सिधैं जरिवाना गर्ने गर्दैनौं ।’

पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरमा ट्राफिक व्यवस्थापनका लागि प्रहरी इसारा र सिठीमा भर पर्नुपर्छ । तर, महानगरले सडक विभागसँग समन्वय गरेर शुरू गरेको योजना भने अलपत्र छ । महानगरका प्रवक्ता मोतीलाल तिमिल्सना ट्राफिक प्रहरीसँग सञ्चालनबारे समन्वय भइरहेको बताउँछन् ।
यद्यपि, सडक विभागसँग सम्झौता भए अनुरूप काम नसकिएको उनको भनाइ छ । ‘सडक विभागले हस्तान्तरण गर्न बाँकी छ । काम नै सकिएको छैन तर, लामो समय भयो यो शुरू भएको सञ्चालन हुन सकेको छैन । एकपटक बिचमा ट्रायल भएको थियो पछि बन्द भएछ,’ उनले थपे, ‘अब सञ्चालन गर्ने विषयमा कसरी सञ्चालन गर्ने भनेर प्रहरीसँग पनि कुरा हुँदै छ । महानगरले समन्वय गरिहाल्छ, मुख्य सडक विभागको कुरा भयो । यो सञ्चालनमा आइसकेपछि लाइट राख्ने कुरामा महानगरले योजना अघि बढाउँदै छ ।’
तस्वीर : युनिश गुरुङ