
‘ब्लडमनी’बापत् ४६ लाख रुपैयाँ आर्थिक सहयोग जुटाएर रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले धनुषाका रामआशिष यादवको ज्यान जोगाएका छन् । साउदी अरबको ताबुक क्रिमिनल कोर्टबाट मृत्युदण्डको सजाय सुनाइएका धनुषाको जनकपुर उपमहानगरपालिका–१७ का यादवको तर्फबाट पीडित परिवारलाई दिन ब्लडमनीबापत् ४६ लाख २५ हजार रुपैयाँ जुटाएर प्रजिअ अर्यालले उनको ज्यान जोगाएका हुन् ।
ब्लडमनीबापत् जुटाइएको रकम रूपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्माको पीडित परिवारलाई दिइएको छ । प्रजिअ अर्यालसहित रूपन्देहीका ३० जना व्यवसायीले संकलन गरेको रकम मंगलबार पीडक यादवको परिवारका तर्फबाट पीडित शर्माको परिवारलाई हस्तान्तरण गरिएको हो ।
रूपन्देहीका उधोगी व्यावसायीहरूले ३६ लाख २५ हजार र धनुषाबाट यादव परिवारले १० लाखगरी ४६ लाख २५ हजार रकम संकलन गरिएको थियो । ब्लडमनी बापतको रकम हस्तान्तरण गर्दा जिल्ला प्रशासन कार्यालयमा सबैका आँखा रसाएका थिए ।

यस्तो थियो घटना
सन् २०१८ मा रूपन्देहीको कञ्चन गाउँपालिकाका दुर्गाप्रसाद शर्मा र जनकपुरका रामआशिष यादव साउदी अरबमा एउटै कम्पनीमा काम गर्थे । सँगै काम गर्दै आएका उनीहरू एउटै कोठामा बस्थे । २०१८ को अक्टोबर ६ मा रामआशिषले शर्मालाई कोठामै धारिलो छुरा प्रहारगरी हत्या गरे ।
साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को २० डिसेम्बरमा हत्या गरेको प्रमाणित गर्दै रामआशिषलाई तत्कालको लागि ५ वर्षको कैद सजायको फैसला गर्यो । ५ वर्षपछि दुवै जनाको परिवारबीच ‘ब्लडमनी’ मा सम्झौता नभए अन्तिम विकल्प फासीमा जाने अदालतको फैसला थियो ।
साउदीमा रामआशिषले मान्छे मारेको र जेलमा रहेको कुरा जनकपुरमा रहेकी उनकी श्रीमती रेनो कुमारीले पछि मात्र थाहा पाइन् । आर्थिक अवस्था निकै दयनीय रहेका यादवका तीन छोरी छन् । आर्थिक अवस्थाकै कारण तीनै जना छोरीहरू विद्यालयसमेत जान पाएका थिएनन् । यादवका १८ वर्षीया आरति, १५ वर्षीया पूजा र १० वर्षीया सन्जुगरी तीन छोरीहरू छन् ।
यादव परिवारमा ब्लड मनी तिरे रामआशिष छुट्न सक्ने झिनो आशा देखिएको थियो । उता अदालतको निर्णय कन्सुलर विभाग हुँदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई पनि प्राप्त भएको थियो । रूपन्देहीका प्रजिअ अर्यालले रकम जुटाउन तदारुकता देखाए ।

अर्यालले जुटाए ३६ लाख
रेनो कुमारीका मामा प्रभु यादव पनि भान्जा ज्वाई रामआशिषलाई माफीको आशासहित रूपन्देही आएका थिए । अर्याल र रेनोका मामा प्रभु मृतक दुर्गाप्रसाद शर्माको श्रीमती सीता शर्मासित माफीको अपेक्षासहित पुगेका थिए । ‘शुरूमा उहाँ मान्नुभएको थिएन, त्यो स्वाभाविक पनि हो,’ प्रजिअ अर्यालले भने, ‘हामीले उहाँलाई धेरै प्रकारले आग्रह गर्यौं, मैले व्यक्तिगत रूपमै आँशु चुहाएरै आग्रह गरें ।’
पटकपटक कुरा गर्दा पनि २–३ महिनासम्म कुरा मिल्न सकेन । कन्चन गाउँपालिकाका अध्यक्ष, कन्चनकै बासिन्दा रहेका जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, प्रजिअ अर्याल लगायतको लगातारको प्रयासपछि सीता ब्लडमनी लिएर माफी दिन तयार भइन् । सीताले ब्लडमनीबापत् ५० लाख रुपैयाँ मागिन् । जुन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो । ‘५० लाखको कुरा सुनेपछि म आशा मारेर जनकपुर फर्किएको थिएँ,’ प्रभु यादवले भने ।
प्रजिअ अर्याल पैसाकै अभावमा कसैलाई मर्न दिनुहुँदैन भन्ने पक्षमा थिए । उनले यो कुरा उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई सुनाए । यसको लागि ‘बास्केट फण्ड’ बनाउने कुरा भयो ।
तत्काल प्रजिअ अर्यालले ५० हजार र दुई जना सहायक प्रजिअले २५ हजार तथा रूपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५ हजार रुपैयाँका दरले रकम जम्मा गरे । जिल्लाका ३० जना उद्योगी व्यवसायीसमेतले गरी ३६ लाख २५ हजार रुपैयाँ जम्मा भयो ।
रामआशिष यादवकी श्रीमती रेनो भन्छिन्- प्रजिअ हाम्रो भगवान हो !
रामआशिष यादवकी श्रीमती रेनो कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाइ धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएकी थिइन् । सबै मिलाई ४६ लाख २५ हजार रुपैयाँ मृतक शर्माको श्रीमती सीतालाई मंगलवार जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरिएको थियो ।
ब्लडमनी वापतको रकम बुझ्दै गर्दा सीता डाको छाडेर रोएकी थिइन् । यादवका परिवार पनि चिच्याउँदै रोएका थिए । यो अवस्था नजिकबाट नियालिरहेका प्रमुख जिल्ला अधिकारीका आँखा पनि ओभानो रहेनन् । उनी पनि रोएपछि माहोल निकै कारुणिक बन्न पुगेको थियो ।
रेनुले प्रमुख जिल्ला अधिकारीलाई भगवानको संज्ञा दिँदै उनको खुट्टा समाउन पुगेकी थिइन् ।

रूपन्देहीकै युवालाई हत्या गरेका यादवलाई जोगाउन रूपन्देहीकै व्यवसायीहरूले साथ दिए । ‘एउटाको मृत्यु भइसकेको अवस्थामा अर्कालाई पनि मृत्यु नै दिनु हुँदैन भन्ने हाम्रो मान्यता थियो । त्यसकारण हामीले यस्तो कठिन अवस्थामा पनि रकम जम्मा गरेका हौं,’ उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ।
आफूले आशा मारिसकेको अवस्थामा रूपन्देहीका सीडीओ र व्यवसायी आफ्नो लागि भगवान भएर आएको रामआशिषकी श्रीमती रेनो कुमारीले बताइन् ।
प्रजिअको प्रयासमा र सीताको उदारताका कारण ५ वर्ष सजाय काटेका रामआशिष घर फर्किने वातावरण बनेको छ । अर्यालले सम्झौता गरेको कागज मंगलबार नै कन्सुलर विभाग हुँदै साउदी पठाइने उनले बताए । सबै कुरा ठीक रहे अबको करिब एक महिनापछि रामआशिष घर फर्किनेछन् ।