![दुःखमा सुकुम्बासी बस्तीः मध्यराति उर्लिन्छ भेल, बनाउँछ बेहाल [ड्रोन भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/sukumbasi_basti_badhi_1_eJUtO4g9Oi.jpg)
मंगलवार रातिदेखि नै अविरल वर्षा भएपछि काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीका कतिपय बासिन्दाको निद हराइसकेको थियो । मध्यराति १२ बजेपछि पानी झनै बढ्यो ।
यो बेला केही सम्भावित खतरालाई मध्यनजर गर्दै जागराम बसेका थिए भने कति निदाइसकेका थिए ।

हेर्दाहेर्दा बागमतीको भेल सुकुम्बासी बस्तीका घरघरमै पसेपछि चारैतिर हल्लाखल्ला मच्चियो ।

सुतिरहेकाहरू उठे, अनि बालबच्चालाई उठाए । सकेको सामान पोको बनाएर केही अग्लो ठाउँमा त केही खाटमाथि राखे । एकैछिनपछि बाढीले घरभित्रका खाट–दराजसमेत डुबाइदियो ।
बिहान ४ बजे ब्युँझिदा पानी घरभित्रै छिरिसकेकाे पाइएकाे सुकुम्बासी बस्तीमा दुई दशकदेखि बस्दै आएकी माइली तामाङले बताइन् । ‘राति हेर्दा पानी पर्खालसम्म आइपुगेको थियो । बिहान ४ बजे ब्युँझिदा त घरभित्रै छिरिसकेछ,’ उनले भनिन् ।
बागमतीको भेललाई माइलीले छेक्ने कोशिस गरिन् । तर उर्लिएको भेललाई छेक्न नसकिएको उनले बताइन् ।

‘टाउको लुकाउने ठाउँ बनाएर बसेको सबै भिज्यो,' कम्मरमा हात लगाएर कार्पेट धुँदै गरेकी माइलीले भनिन्, ‘बिहानदेखि पानी निकाल्दा र हिलो सोहोर्दै १२ बजिसक्यो । घरभित्र हिलैहिलो भइराछ । अझै सकिएको छैन ।’

‘कस्तो कम्मर नै दुखिसक्यो,’ उनले थपिन्, ‘राम्ररी सफा गर्न त चार–पाँच दिन नै लाग्छ होला ।’

माइलीले बाढीको बितण्डाबाट बच्चाहरूको कपडा र किताब–कापीसमेत जोगाउन नसकेको गुनासो गरिन् ।
बुधवार बिहान लोकान्तर टीम सुकुम्बासी बस्ती पुग्दा कोही हिलो सोहोर्दै थिए, कोही घरभित्र पसेको पानी बाल्टीमा उठाएर बाहिर फाल्दै थिए ।

केही भने भिजेका खाट, डसना र कपडालगायत सामान घाममा सुकाउँदै थिए ।
हिलाम्मे भएका दाल–चामल धोएर घाममा सुकाएका देखिन्थे । कतिपयले बालबच्चाका किताब, कपी बिस्कुन सुकाएजसरी सुकाइरहेको थिए ।
बस्तीमा रातिदेखि नै बाढी पसेकाेमा बिहान ४ बजे मात्रै पानीको सतह घटेको सुकुम्बासी बस्ती थापाथलीका अध्यक्ष मीनबहादुर रानामगरले बताए ।

यसपाली सबै घरमा बाढी पसेको उनले जानकारी दिए । ‘डुबान पसेपनि रातभरि घरैमा बसियो, बाहिर पनि कहाँ जानु र ! जाने ठाउँ छैन । सरकारले पनि बेवास्ता गरेको छ,’ उनले विरह पोखे ।
यससम्बन्धी थप विवरण हेरौं ड्रोन भिडियोमाः