
नेपाल एसबिआई बैंक लिमिटेडले बाग्लुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।
तिर्थालुहरूको सहजताका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एक कार्यक्रमका बीच सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको छ ।
साथै, नेपाल एसबिआई बैंकले आफ्नो बागलुङ नगरपालिका- २, लालीगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नम्बर ३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ ।

त्यसैगरी, बैंकले आफ्नो पोखरा महानगरपालिका–०८ सभागृह चोकमा अवस्थित सृजना चोकमा रहेको शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरेको छ ।
साथै दुवै शाखाले नयाँ परिसरबाट सेवा शुभारम्भ गरेका बैंकले जनाएको छ ।
यसबाट ग्राहकलाई थप सुविधा सहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।
हाल बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।