
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर– ६ भैरहवाका दाजुभाइ लालजीत मल्लाह र सन्त मल्लाहलाई १० फागुन २०७८ मा जिल्ला अदालत रुपन्देहीबाट एउटा पत्र आयो ।
अंश मुद्दा परेको भन्दै पत्र आएपछि अदालत पुग्दा निसन्तान काका सुखु मल्लाह र काकी कबुतरीको ‘नक्कली छोरी’ बनेर अंशका लागि रिखीदेवी अग्रवाल र मालती मल्लाहले मुद्दा हालेको थाहा पाए ।
निसन्तान सुखु र कबुतरीलाई दाजुभाइले बुढेसकालसम्म पालेर स्याहारसुसार गरी मृत्युपछि धार्मिक संस्कारअनुसार काजकिरिया पनि गरेका थिए । यसरी मुद्दा परेको थाहा पाएपछि उनीहरू झसंग भए ।
काका/काकीको निधनपछि उनीहरूको नाममा रहेको सम्पत्ति आफूहरूको नाममा ल्याउन भनेर मल्लाह दाजुभाइले त्यसअघि नै अदालतमा मुद्दा दर्ता गरेका थिए ।
१५ कात्तिक २०७५ मा अदालतले बुवा फौदार मल्लाह र काका सुखुको नाममा रहेको जग्गा लालजीत र सन्तको नाममा जाने फैसला गरिसकेको थियो ।


उक्त फैसलापछि ओमसतियाको पड्सरीमा रहेको १० कट्ठा, सिद्धार्थनगरमा रहेको ३१ धुर र सियारीको चिलियामा रहेको ६ कट्ठा जग्गा उनीहरूले भोगचलन गर्दै आएका थिए ।
तर, पछि सुखुका दुई श्रीमतीका छोरी भनेर हालेको सम्पत्ति मुद्दामा २६ भदौ २०८० मा अदालतले सिद्धाथनगर– ८ की रिखीदेवी र मायादेवी गाउँपालिका– ३ की मालतीको पक्षमा फैसला सुनायो ।
उक्त जग्गाको अहिलेको बजार मूल्य करोडौं पर्ने स्थानीय बताउँछन् । रिखीदेवीले आफूलाई सुखुकी पहिलो श्रीमती कबुतरी र मालतीले दोस्रो श्रीमती फूलझरी मल्लाहको छोरी भनेर दाबी गरेका छन् ।
यसबाट आफूहरू अन्यायमा परेको भन्दै लालजीत र सन्तले बिहीबार पत्रकार सम्मेलन गरी न्यायको लागि सबैसँग आग्रह गरेका छन् ।

प्रशासन, जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा जिल्ला अदालत रूपन्देहीले सुखुको नाममा रहेको सम्पत्ति नक्कली छोरी रिखीदेवी र मालतीको नाममा जाने फैसला गरेको आरोप लालजीतले लगाए ।
रिखीदेवी र मालतीले नागरिकतामा बाबाको नाम सुखु मल्लाह राखेका छन् । उनीहरूले सुखु र कबुतरीको निधनअघि अंश दाबी गरेका थिएनन् । सुखुको १० माघ २०७७ र कबुतरीको १० वर्षअघि नै निधन भएको थियो ।
लालजीत र सन्तले जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेका छन् ।

सन्तान नभएका काकाको छोरी हुँ भनेर सम्पत्ति हडप्न खोज्ने मालती र रिखीदेवीको डीएनए परीक्षण गरी कानूनी कारबाही गर्न लालजीतले माग गरे ।
‘अदालतले सही साँचो प्रमाणित गरी वास्तविक फैसला गर्नेछ भन्ने विश्वास छ । वास्तविकता सरजमिन गरी हामीलाई न्याय चाहियो,’ उनले भने ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले मल्लाह दाजुभाइ अन्यायमा परेको देखिएको बताए ।
‘उहाँहरू वास्तविक पीडित हुनुहुन्छ,’ प्रजिअ अर्यालले लोकान्तरसँग भने, ‘मैले तामेली जगाएको छु । डीएनए परीक्षण पनि गराउँथे, तर सुखु मल्लाहको निधन भइसकेको छ । हामी अनुसन्धानमै छौं ।’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले सुखु मल्लाहको सन्तान नभएको बताए ।
‘म दुई कार्यकाल वडाध्यक्ष भएँ,’ उनी भन्छन्, ‘९० वर्ष उमेरमाथिमा मान्छेहरूले सरजमिन गरेका छन् । मल्लाह परिवारले नागरिकताको आधारमा इन्साफ पाउनुपर्छ । छोरी भनेर उनीहरूले कसरी नागरिकता बनाए, त्यो थाहा भएन ।’
४६ वर्षीय लालजीत र ४२ वर्षीय सन्तले ‘नक्कली छोरी’ बनेर अंश दाबी गर्नेहरूले नक्कली कागजात बनाएको दाबी गरे ।