
नगरपालिकामा कामको चाप नभएको भन्दै मोरङको सुन्दरहरैँचा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको जम्बो टोली सरकारी पैसामा मुगुको राराताल घुम्न गएको छ ।
अध्ययन भ्रमणका नाममा मेयर (प्रमुख) केदार गुरागाईँ, उपमेयर (उपप्रमुख) अंकली चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, कार्यपालिका सदस्य र कर्मचारीसहित ३८ जनाको टोली लाखौं सरकारी रुपैयाँ खर्च गरेर राराताल घुम्न गएको हो ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले अहिले नगरपालिकामा काम नभएकोले रारा घुम्न र अवलोकन भ्रमणमा गएको बताए । ‘अहिले नगरपालिकामा कामको चाप छैन,’ उनले भने ‘त्यही भएर त्यो समयको उपयोग गरेका हाैँ । अब अलिक पछाडि त हिँड्न पनि त भ्याइँदैन नि !’
घुम्नमात्रै भन्दा पनि मुगुका दुईवटा पालिकाको अवलोकन भ्रमण गरेर फर्किरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।
‘हामी घुम्न मात्रै गएका होइनाैँ । अध्ययन भ्रमणमा गएका थियाैँ । राराहुँदै एक–दुई वटा पालिकामा अध्ययन गरेका छौं,’ उनले थपे ।
तीन–चार दिन अगाडि भ्रमणमा निस्केको टोली अझै एक–दुई दिनपछि मात्रै फर्किँने तयारीमा छ ।
चालू आर्थिक वर्षमा नगरसभाबाट नगरपालिकाले १० लाख रुपैयाँ बजेट अध्ययन भ्रमणमा खर्चेको थियो । त्यही बजेट सदुपयोग गर्नका लागि कार्यपालिका सदस्य र कर्मचारीका विभागीय प्रमुखहरू अध्ययन-अवलोकन भ्रमणमा निस्केको न्यौपानेले बताए ।
यसरी घुम्न जानेमा २० जना जनप्रतिनिधि र १८ जना कर्मचारीको टोली छ । सुन्दरहरैँचामा २२ जना कार्यपालिका सदस्य रहेका छन् । जसमध्ये २ जना वडाध्यक्षरू भने टोलीमा सहभागी भएनन् ।
नगर प्रवक्तासमेत रहेका १२ नम्बर वडाका वडाध्यक्ष रोशन ढकाल र ११ नम्बरका वडाध्यक्ष बिसनलाल चौधरी भने त्यो टोलीमा नगएका हुन् ।
‘मेरो घरमा काम भएका कारणले म त्यो टोलीमा सहभागी हुन सकिनँ,’ ढकालले भने, ‘११ नम्बरको वडा अध्यक्ष पनि जानुभएनछ । जम्मा २२ जना कार्यपालिका रहेकोमा हामी २ जना गएनौँ ।’
मेयर गुरागाईँले नै सो टोलीको नेतृत्व गरिरहेका छन् । सुन्दरहरैँचामा जम्मा १२ वटा वडा रहेका छन् । यतिबेला अघिल्लो वर्ष देखिएका समस्या समाधान र चालू आवको बजेट खर्च गर्न विभिन्न योजना बनाएर अगाडि समय हो । तर नगरपालिका नै खाली गरेर जनप्रतिनिधि र कर्मचारीको टोली हल बाँधिएर हिँडेको भन्दै अहिले चर्को विरोध भइरहेको छ ।
स्थानीय प्रमेन्द्र केसीले फेसबूकमा स्ट्याटस लेख्दै व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘घुम्न जाउँ रारा, नगरपालिकाले पैसा तिर्छ सारा । रमाइलो छ सुन्दरहरैँचामा ।’
स्थानीय अगुवा महेश आचार्यले नगरका बाटोघाटोमा बाह्रमासै देखिने तालहरू छलेर रारा तालमा जम्बो टोली गएको भन्दै विरोध जनाए ।
यता जानकारहरू पनि दाबी गरिने अध्ययन भ्रमणको उपलब्धि शून्य हुने गरेको बताउँछन् । एउटा पालिकाले गरेको उत्कृष्ट काम हेरेर त्यो अनुसरण गर्ने भनेर बजेट विनियोजन गर्ने गरिए पनि त्यसको प्रतिफल भने शून्य हुने पूर्वउपसचिव गणेशप्रसाद दाहालले बताए । ‘काम गरिरहेका कर्मचारीलाई रिफ्रेसमेन्ट हुन्छ,’ उनले भने ‘त्यहाँभन्दा बाहेकका अन्य उपलब्धि चाहिँ शून्य छ ।’

कर्मचारीसमेत घुम्न गएपछि नगरपालिकाको दैनिक काम काजसमेत असर परेको स्थानीयले आरोप लगाएका छन् । स्थानीयहरूले साउनको १५ गते भित्रमा चालू आवको नयाँ कार्यक्रमको कार्य योजना तयार गरिसक्नुपर्छ । यस्तै अघिल्लो वर्षको समीक्षा गरिसक्नुपर्छ । यसैगरी डीपीआर सर्भे गर्ने काम पनि साउन र भदौ महिनामा सक्नु पर्ने पूर्वउपसचिव दाहालले बताए ।
‘नगरसभाले पास गरेको बजेट कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्ष वा प्रमुखले अख्तियारी दिइसक्नुपर्छ,’ उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृतले शाखा, महाशाखा र वडाहरूलाई कार्यादेश दिनुपर्छ । दुई महिनाभित्रमै नयाँ आयोजनाको डीपीआर बनाउनेदेखि सर्भे गर्नेसम्मका काम पनि गरिसक्नुपर्छ ।’