०५ साउन २०८३, मंगलबार

कोशी अस्पतालको जग्गामा क्षयरोग निवारण संस्थाको मनोमानी, फार्मेसीमा तालाबन्दी

भदौ २३, २०८१
विराटनगर
कोशी अस्पतालको जग्गामा क्षयरोग निवारण संस्थाको मनोमानी, फार्मेसीमा तालाबन्दी

कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा निर्माण भएको सटरको भाडा दाबी गर्दै नेपाल क्षयरोग निवारण संस्थाले एक फार्मेसीमा ताला लगाइदिएको छ ।

उच्च अदालतको फैसलालाई समेत चुनौती दिँदै संस्थाले ‘मोनिका फार्मेसी’ रहेको सटरमा ताला लगाएको हो । 

संस्थाले प्रयोग गर्दै आएको ६ कठ्ठा ८ धुर जग्गा कोशी अस्पतालमातहत रहने फैसला उच्च अदालत विराटनगरले २०७७ माघ २६ गते गरेको थियो । अदालतको फैसला कार्यान्वयनका क्रममा अस्पतालले उक्त जग्गामा रहेका भौतिक संरचनाको भाडा उठाउन थालेपछि क्षयरोग निवारण संस्थाले सटरमा ताला लगाएको हो ।

अदालतको फैसलापछि कोशी अस्पतालका मेसु डा. रविराज सिंहले मोनिका फार्मेसीसहित ८ वटा सटरको भाडा बुझाउन भदौ २ गते पत्राचार गरेका थिए ।

प्रितम मुखियाले सञ्चालन गरेको मोनिका फार्मेसीले भदौ ९ गते कोशी अस्पताललाई साउन महिनाको भाडा १२ हजार रुपैयाँ बुझाएको छ ।

कोशी अस्पताललाई भाडा बुझाएको १० दिनपछि भदौ १९ गते नेपाल क्षयरोग निवारण संस्था मोरङका कर्मचारी आएर फार्मेसीमा ताल्चा लगाइदिएको सञ्चालक मुखियाले लोकान्तरसँग बताए  । अहिलेसम्म त्यो ताला खुल्न सकेको छैन ।

नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले दुई संस्थाबीचको विवादलाई लिएर फार्मेसीमा तालाबन्दी गर्नु उचित नभएको बताए ।

‘छलफलको माध्यमबाट निकास निकाल्नुपर्ने थियो । बिरामीलाई अत्यावश्यक औषधि बिक्री/वितरण हुने फार्मेसीमा ताला लगाउनु गलत हो,’ उनले भने, ‘लगाएको ताला तत्काल खुल्नुपर्छ । नभए व्यवसायीहरू आन्दोलनमा उत्रिन बाध्य हुन्छन् ।’

अस्पतालका मेसु डा. रविराज सिंहले अदालतले फैसला गरिसकेको अवस्थामा आफ्नो स्वामित्वमा रहेको जग्गाभित्रको सटर भाडा उठाउनु अस्पताल प्रशासनको दायित्व भएको बताए ।

यता नेपाल क्षयरोग निवारण संस्थाले भने पटक–पटक ताकेता गर्दा पनि औषधि पसलले भाडा नतिरेपछि ताला लगाइएको दाबी गरेको छ ।

आफूहरूले बनाएको भवनको भाडा पाउनुपर्ने संस्थाका मोरङ उपाध्यक्ष घनश्याम राठीले बताए । संस्थाले प्रतिसटर १२ देखि २० हजारसम्मका दरले मासिक १ लाख ७५ हजार रुपैयाँभन्दा बढी उठाइरहेको छ । 
 
‘अहिले हामीले उपभोग गरेको जग्गा पहिले कोशीको अस्पतालको थिएन,’ उनले भने, ‘पछि अस्पतालले सबै एकलौटी बनाएको रहेछ । हामीले बनाएको भवनको भाडा मागेका हौं ।’

जिल्ला प्रशासन कार्यालय मोरङले कोशी अस्पताल र क्षयरोग निवारण संस्थालाई छलफलका लागि बोलाएको छ । 

आइतबार बिहान औषधि व्यवसायीको टोलीले पसल खुलाउन पहल गरिदन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले दुवै पक्षलाई छलफलमा बोलाएका हुन् ।

कोशी अस्पतालको जग्गा कब्जा गरेर व्यापार/व्यवसाय गरिरहेकालाई हट्न भनेर पटक–पटक पत्राचार गर्दा समेत जग्गा खाली भएको छैन ।

अस्पताल विकास समितिले पटक–पटक लिखित पत्र पठाउँदा पनि कुनै वास्ता नगरेको विकास समितिका तत्कालीन सदस्य मुकेश बुढाथोकीले बताए । 

राजनीतिक पहुँचको आडमा जग्गा कब्जा गरिराखेको बुढाथोकीको आरोप छ । 

राजनीतिक आडभरोसामा विभिन्न संघ–संस्थाले सरकारी अस्पतालको जग्गामा भवन र संरचना बनाएर व्यापार गर्दै आएका छन् । संघ–संस्थाले भाडामा लगाएका भवनको रकम व्यक्तिगतरूपमा समेत उपयोग गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको नाममा विराटनगरको मुख्य बजारमा ५ बिघा ८ कट्ठा जग्गा छ । उक्त जग्गामध्ये १५ कट्ठाभन्दा बढी जग्गा विभिन्न संघ–संस्थाले कब्जा गरेका छन् । 

अस्पतालको जग्गा क्षयरोग निवारण संस्था, गणेश मन्दिर, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय लगायतले कब्जा गरेका छन् ।

जग्गामा बनाएको संरचनाबाट उठ्ने भाडासमेत ती संस्थाहरूले नै प्रयोग गर्दै आएको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालको जग्गा ओगटेर बनाइएका तीनवटा भवन भने यसअघि नै भत्काइएको थियो ।

अस्पताल प्रशासनका अनुसार गणेश मन्दिरले दुई कट्ठा, देवकोटा पुस्तकालयले अढाई कट्ठा, नेपाल रेडक्रस सोसाइटीले दुई कट्ठाभन्दा बढी जग्गा ओगटेका छन् । 

जग्गामा संरचना बनाएर ३० जनालाई भाडामा लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्