
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढालाई लामो समयदेखि दाँतको समस्या थियो ।
जिल्लामा राम्रो उपचार गर्ने ठाउँ नभएपछि उनी बेला-बेला अध्यक्ष पुनीराज घर्तीलाई काठमाडौं पुगेर उपचार गरेर आउँछु भन्दै जाने गरेकी थिइन् ।
दाँतको समस्या बढी भएपछि भदौ १७ गते पालिकाबाट बिदा लिएर उनी काठमाडौं गइन् । ६१ वर्षीया आमा गोपीमाया बुढा अस्वस्थ भएकोले आफूसँगै लगेर उपचार गराउने सोचसँगै उनी काठमाडौं गइन् ।
झण्डै १० दिनमा आफ्नो र आमाको उपचार सकेर बिहीबार साँझ ६ बजेतिर जिल्ला फर्किने यात्रा तय गरिन् । गाडीमा उनीसँगै वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपाली पनि सवार थिए ।
श्रीपाली पनि वन विभागको काम रहेकाले भदौ १९ गते काठमाडौं गएका थिए । फर्किँदा दुवैको काम सकिएपछि एउटै गाडीमा फर्किने निधो गरे ।
आफू फर्किँदै गरेको जानकारी उनले अध्यक्ष पुनीराजलाई पनि गराएकी थिइन् ।
तर दुर्भाग्य आमा, वडा अध्यक्ष र आफू फर्किँदै गरेको रा २ झ २०० नम्बरको बोलेर जीप शुक्रबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर–२ मा दुर्घटनामा पर्यो ।
दुर्घटनामा ३३ वर्षिया भूपेन्द्रासँगै उनकी आमा गोपीमाया र वडा नम्बर–२ का अध्यक्ष जसबहादुरले ज्यान गुमाए ।
शुक्रबार बिहान ९ बजेतिर दुर्घटना भएको जीप घाँस काट्न हिँडेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गाउँपालिका अध्यक्ष पुनीराजले दाँतको समस्या निको पार्न उपाध्यक्षलाई दिएको बिदा सधैंलाई दिएजस्तै भएको बताए ।
‘उपाध्यक्षज्यू १७ गते काठमाडौं जानुभएको हो, आमालाई पनि लैजानुभएको रहेछ,’ घर्तीले लोकान्तरसँग भने, ‘फर्किँदै गर्दा गाडी दुर्घटनामा परेर उहाँसहित वडाअध्यक्ष र आमाले ज्यान गुमाउनुभएछ । हामी घटनास्थलतर्फ जाँदै छौं । पालिका शोकमा डुबेको ।’
उपाध्यक्ष बुढा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समीर गिरीले बिहीबार राति ९ः३० बजे आफ्नो उपाध्यक्ष बुढासँग भएको कुराकानी नै अन्तिम हुन पुगेको बताए ।
‘राति मलाई फोन गर्नुभएको थियो । पहाडमा नेटवर्क राम्रो नहुँदा पूरा कुराकानी हुन सकेन । अन्ततः फेरि कुराकानी हुने सबै बाटो बन्द हुन पुग्यो,’ गिरीले भने ।
बिहीबार साँझ काठमाडौंबाट हिँडेका उनीहरू चालक निदाउँदा गाडी दुर्घटनामा परेको आशंका गरिएको छ । यद्यपि दुर्घटनाको कारण अझै खुलेको छैन ।
उपाध्यक्ष बुढाका श्रीमान् र एक छोरा छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार उनीहरू सवार जीप सडकबाट तीन सय मिटर तल खसेको थियो ।