०३ साउन २०८३, आइतबार

नेता र तिनका परिवारकै कारण ठगिए सहकारीका बचतकर्ता

असोज ७, २०८१
विराटनगर
नेता र तिनका परिवारकै कारण ठगिए सहकारीका बचतकर्ता

संसदीय विशेष छानबिन समितिले सहकारी ठगी र रकम अपचलनमा राजनीतिक व्यक्तिको संलग्नता देखाएको छ । समितिको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसहित अरू दलका नेताहरू पनि सहकारीको रकम अपचलनमा मुछिएका छन् । 

छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको नामसमेत उल्लेख छ । बस्नेत संस्थापक अध्यक्ष रहेको सहकारीमा ५० जना बचतकर्ताको ७ करोड ७७ लाख ९० हजार रुपैयाँ अपचलन भएको प्रतिवेदनमा उल्लेख छ ।  रास्वपाका वर्तमान उपाध्यक्ष एवं पूर्वमन्त्री डीपी अर्याल, उपाध्यक्ष कविन्द्र बुर्लाकोटीको नामसमेत सहकारीको रकम अपचलनमा मुछिएको छ । 

कांग्रेसका उपसभापतिसमेत रहेका पूर्वमन्त्री धनराज गुरुङको नाम पनि सहकारी प्रकरणमै जोडिएको छ । पूर्वपत्नीका कारण उनको नाम सहकारीको रकम अपचलनमा जोडिएको हो । 

यस्तै, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलको नाम पनि सहकारी प्रकरणमा जोडिएको छ । श्रीमतीका कारण उनको नाम पनि सहकारी प्रकरणमा जोडिएको हो । 

पोख्रेलकी श्रीमती अञ्जला कोइराला मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको सञ्चालक समितिमा थिइन् । २०६८ सालमा स्थापना भएको सहकारी अहिले संकटग्रस्त छ । सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको तथ्य बाहिर आएको छ । 

कोइराला सञ्चालक समिति सदस्य रहेको बेला लिइएको ऋण तिर्न नसकेपछि उनीसहित त्यति बेलाको कार्यसमिति नै कालोसूचीमा परेको छ ।बैंकबाट ऋण लिन साक्षी बसेकी कोइरालासहित तत्कालीन सञ्चालक समितिलाई बैंकले कालोसूचीमा राखेको छ । अध्यक्ष शम्भु रौनियारले सहकारीका सदस्यको जग्गा मात्रै होइन, सहकारीबाट ऋण लिने सर्वसाधारणको पनि घरजग्गा धितोमा राखिदिएका छन् । सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण छ ।

सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । 

उमागौरी कृषि सहकारीको अफिस राखिएको जग्गा सहकारीकै भएको सञ्चालकहरूले बताएका छन् । तर, जग्गा शम्भु रौनियारको बुबाको नाममा रहेको देखिन्छ ।

सहकारीले २०६८/६९ मा आरएसडीसी लघुवित्त वित्तीय संस्थाबाट ६ करोड रुपैयाँ ऋण लिएको थियो । जसमध्ये ३ करोड ऋण तिरेको भए पनि बाँकी पैसा तिर्न सकको छैन । ऋण नतिरेपछि नेपाल राष्ट्र बैंक मातहतको कर्जा सूचना केन्द्रले सहकारी र यसका पदाधिकारीलाई कालोसूचीमा राखेको छ ।

केन्द्रले पहिलोपटक २०७९ पुस १३ गते उमागौरी र त्यसका पदाधिकारीलाई कालोसूचीमा राखिएको सूचना प्रकाशन गरेको थियो । उमागौरीले ऋण चुक्ता नगरेपछि २०८० साउन १ गते, कात्तिक १४ गते र २०८१ जेठ ९ गते पनि खराब ऋणीका रूपमा राखिएको छ । सहकारीका अध्यक्ष रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आमोद अन्सारी मियाँ र सदस्य अञ्जला कोइराला लगायतको नाम छ ।

झापाको शिवसताक्षी नगरपालिका ३ को उन्नति बचत तथा ऋण सहकारी संस्थामा पनि सांसदकै परिवार जोडिएका छन् । कोशी प्रदेशसभा सदस्य  राधाकृष्ण खनालका छोरा सुमन खनालको नाम उक्त सहकारीमा जोडिएको छ । खनालले सहकारीको १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको नगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख रहेको कर्मचारी बताउँछन् । 

खनालले बचतकर्ताको पैसा फिर्ता गर्ने भनेर लिखित सहमतिसमेत गरेका थिए । तर, सहमति कार्यान्वयन नगरेपछि पीडितहरूले नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए । त्यसपछि नगरपालिकाले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापालाई सिफारिस गरेको थियो । 

निर्वाचनमा घर दैलोमा पुग्दा खनालले चुनाव जिताएर पठाए रकम फिर्ता गर्ने आश्वाससमेत दिएको पीडितहरू बताउँछन्  । पैसा उठ्ने आसमा चुनाव जिताएर पठाए पनि अहिलेसम्म डुबेको रकम फिर्ता नआएको पीडितहरूको गुनासो छ ।

salt training

कमेन्ट गर्नुहोस्